''अपील अर्थतन्त्र सुधारको'' - विश्वमोहन अधिकारी
प्रमुख कार्यकारी अधिकृत
सिटी डेभलपमेण्ट बैङ्क लिमिटेड
पर्यटकीय नगरी पोखराको आर्थिक विकासमा उनको नेतृत्वको बैङ्कले उल्लेखनीय योगदान गरिरहेको छ, निक्षेप सङ्कलन र विकास निर्माणका काममा पनि झण्डै बराबरीको लगानी गरेर । शिक्षक बन्ने लक्ष्य लिएका सिटी डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी कार्यकुशलता प्रदर्शन गरेर त्यो स्थानमा पुगेका हुन् । 'मेरो जीवनको लक्ष्य भनेको शिक्षक बन्नु थियो । किनकि सबै व्यक्तिले शिक्षकप्रति गरेको आदर मेरो प्रेरणाको स्रोत थियो,' अढाइ दशकअघिको लक्ष्य र शिक्षक बन्ने चाहनाको उनी रहस्य खोल्छन् । पृथ्वीनारायण क्याम्पसबाट व्यापार व्यवस्थापनमा स्नातकोत्तर गरेपछि उनको शिक्षक बन्ने लक्ष्यमा एकाएक परिवर्तन आयो । शिक्षण पेशालाई जीवनवृत्तिको माध्यम बनाउन उनले बीएड पनि गरेका थिए । एमबीए उपाधि हात पर्नुअगावै अन्नपूर्ण फाइनान्स कम्पनीबाट प्रारम्भ भएको वित्तीय संस्थाको जागीरले उनलाई आजको पदमा पुर्याएको हो । अन्नपूर्ण फाइनान्समा काम गर्दा नजानिँदो पाराले उनभित्र एक दिन कुनै बैङ्कको प्रमुख कार्यकारी अधिकृत बन्ने चाहनाको बीजारोपण हुन पुगेको थियो- लगानी होइन, क्षमता प्रदर्शन गरेर । 'आज पनि मेरो शेयर सिटी बैङ्कमा भन्दा अन्य बैङ्क तथा वित्तीय संस्थामा बढी छ,' उनी स्पष्टीकरण दिन्छन् ।
उद्योग, व्यापार, बैङ्क, वित्तीय संस्था, शिक्षा, स्वास्थ्य , इञ्जिनीयरिङ, बृटिश गोर्खा, विकास परियोजना व्यवस्थापन एवम् समाज सेवामा संलग्न व्यक्तिहरूद्वारा प्रवर्द्धित 'ख' वर्गको विकास बैङ्कलाई अधिकारीले स्थापनाकालदेखि नै नेतृत्व गरिरहेका छन् । चार वर्षअघि कारोबार थालेको सिटीले छोटो समयमा नै अधिकतम ग्राहकको विश्वास जित्न सफल भएको उनको दाबी छ । सातओटा शाखामार्फत बैङ्किङ सेवा प्रदान गरिरहेको सिटी डेभलपमेण्टलाई राष्ट्रियस्तरको विकास बैङ्क बनाउने लक्ष्य पूरा गर्न ठोस योजनासहित उनी काम गरिरहेका छन् । उनको बैङ्कले रू. १ अर्ब ४५ करोड निक्षेप सङ्कलन गरेको छ भने रू. १ अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ । र, निष्क्रिय भने कर्जा शून्य छ ।
सहभागितामूलक व्यवस्थापन नीति अधिकारीको 'व्यवस्थापन मन्त्र’ हो । हरेक किसिमका निर्णयमा कर्मचारीलाई सहभागी गराउने उनको बानी छ । मातहतका ७५ कर्मचारीलाई आर्थिक एवम् भौतिक सुविधा दिएर कामप्रति अभिप्रेरित गरिरहेको अधिकारीको भनाइ छ । समूहगत काममा विश्वास गर्ने उनी कर्मचारीबाट प्राप्त सहयोगले नै बैङ्कलाई सफलतातिर उन्मुख गरेको उल्लेख गर्छन् । कारोबार वा काम सबै किसिमका मानिसहरूसँग गर्नुपर्ने उनको मान्यता छ । मानिसअनुसार काम वा व्यवहार गर्नुपर्ने उनको मत छ ।
उनी आफूलाई सफल व्यक्तिको पङ्क्तिमा उभ्याउन चाहन्छन् । 'नेपालका उच्च १० प्रमुख कार्यकारी अधिकृतको समूहमा रहने मेरो व्यक्तिगत लक्ष्य छ,' उनी खुला आँखाले देखेका सपना सुनाउँछन् ।
आफूले शैक्षिक कर्जा दिएका पिताविहीन एक विद्यार्थीले प्राप्त कर्जाको सही उपयोग गरी चार्टर्ड एकाउण्टेण्ट भएको र त्यसपछि उनले आफूसँग गरेको व्यवहार अधिकारीको जीवनको बिर्सन नसकिने क्षण हो । ती विद्यार्थीले दस्तखतसमेत गर्न नजान्ने आमाको रोहवरमा कर्जा लिएका थिए । संयोग नै मान्नुपर्छ ती विद्यार्थीले कर्जा लिन आउँदा अधिकारीका पिताको चोला इहलोकबाट उठिसकेको थियो । र, उनकी माता पनि हस्ताक्षर गर्न अक्षम छिन् । साक्षर बुबाको सामाजिक कामप्रतिको मोहबाट उनी र्सवाधिक प्रभावित छन् ।
अध्ययनशील, योजनाअनुसार कार्य गर्न तथा अधिकार र दायित्वको ख्याल गर्न अधिकारी युवापुस्तालाई अनुरोध गर्छन् । भन्छन्, 'संसारको फूलबारीका रूपमा नेपाललाई विकास गर्नका लागि नयाँ पुस्तालाई आ≈वान गर्दछु ।' लघुवित्त कार्यक्रममार्फ मुलुकको गरीबी हटाउन व्यक्तिगत एवम् संस्थागत रूपमा अहोरात्र लागिरहने उनको योजना छ । धर्मलाई अनुशासन र दानलाई दायित्व ठान्ने उनी प्रायः मन्दिर जान्छन् । त्यसो गर्दा सकारात्मक सोच र आत्मविश्वास बढ्ने उनको विश्वास छ । राजनीतिक क्षेत्रको दबदबाले संस्थागत संस्कृति वा संस्थागत सुशासनमा नकारात्मक प्रभाव पारेको उनको विश्लेषण छ । भर्खर मात्र केही संस्थाले सामाजिक उत्तरदायित्वको बोध गरेको उनले महसूस गरेका छन् । गरीब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेर उनको बैङ्कले त्यो उत्तरदायित्व वहन गरिरहेको छ । आर्थिक मुद्दाहरूमा राजनीतिक सहमति हुनुपर्नेमा जोड दिने उनी मुलुकको अर्थव्यवस्था बलियो बनाउन प्रत्येक नेतालाई 'एउटा राम्रो' काम गर्न अपिल गर्छन् ।