शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

विश्वास कर्ममा
डा. तिलचन्द्र भट्टराई
अध्यक्ष नेपाल दाना उद्योग सङ्घ
वरिष्ठ उपाध्यक्ष, उद्योग वाणिज्य सङ्घ चितवन

विसं २०५० मा पशुसेवा कार्यालय चितवनको प्रमुख रहँदाकै समयमा उनलाई पोल्ट्री क्षेत्रमा अढाइ लाख लगानी गर्न हम्मेहम्मे परेको थियो । दाङमा सहायक पशु चिकित्सक र त्यसपछि नेपालगञ्ज र गुल्मीमा पशुसेवा कार्यालयका प्रमुखका रूपमा काम गरेका डा. तिलचन्द्र भट्टराईले सरकारी जागीरमा पदोन्नति नभएपछि निजीक्षेत्रमा हात हाले । पञ्चरत्न ग्रूपको स्थापनाका लागि श्रीमतीका गहनासमेत बैङ्कमा धितो राखे उनले । नेपाल दाना उद्योग सङ्घका अध्यक्ष तथा उद्योग वाणिज्य सङ्घ, चितवनका वरिष्ठ उपाध्यक्ष रहेका भट्टराई हाल देशकै ठूलो पोल्ट्री संस्थाका रूपमा परिचित पञ्चरत्न ग्रूपका प्रबन्ध निर्देशक छन् । चितवनमा दाना उत्पादनका लागि पञ्चरत्न फीडबाट शुरू भएको व्यावसायिक यात्रालाई देशव्यापी बनाउन उनको ठूलो योगदान छ । दाना उद्योगपछि, ब्रोइलर ह्याचरी, लेयर्स ह्याचरी, पूर्वाञ्चलका सप्तरी र मोरङ, पश्चिमको कोहलपुर र चितवनको बरमपुरमा पोल्ट्री, पोखरमा रुचि पोल्ट्री, काठमाडौंमा औषधि विक्रीवितरण गर्ने सिद्धिदेवी इण्टरनेशनल ट्रेडिङ गरी झण्डै एक दर्जन कम्पनी विस्तार गरिसकेको पञ्चरत्न ग्रूपले पोल्ट्रीको हरेक क्षेत्रमा हात हालेको छ । देशमा पोल्ट्री व्यवसायको विकासका लागि ठूलो भूमिका खेलेको पञ्चरत्न ग्रूपले झण्डै दुई दशकको यात्रामा 'जहाँ कुखुरा त्यहाँ पञ्चरत्न’ भन्ने नारा नै बनाएको छ ।

पोल्ट्री क्षेत्रका कर्मठ व्यवसायी डा. भट्टराई कर्ममा बढी विश्वास गर्छन् । आफ्नो पूरै समय पोल्ट्री क्षेत्रमै समर्पित गरिरहेका उनी शीप र क्षमताले भ्याएसम्म यो क्षेत्रबाट टाढा नहुने बताउँछन् । तर, काम गर्न चाहनेहरूले पनि उचित वातावरण नपाएकोप्रति उनी चिन्तित छन् । पोल्ट्री क्षेत्रको विकासका लागि सरकारले आवश्यक नीति निर्माण गर्न नसकेका कारण नयाँ लगानीकर्ता भित्र्याउन नसकिएको उनको अनुभव छ । औद्योगिक सुरक्षाको वातावरण निर्माण गर्न र लोडशेडिङको समस्या हल गर्न सके मात्र लगानीकर्ता भित्र्याउन सकिने उनी बताउँछन् । सरकारले निजीक्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्न सके देशको आर्थिक विकासका दु्रतगतिमा अघि बढ्ने उनको विश्वास छ । तर, सहकारी र निजीक्षेत्रलाई समान रूपमा हेरेर सरकारले निजीक्षेत्रको भूमिका साँघुरो बनाउन खोजेको अनुभूति उनले गरेका छन् । सहकारी संस्थालाई ग्रामीण क्षेत्रको उत्पादन वृद्धिमा केन्द्रित गर्दा राम्रो हुने उनी बताउँछन् ।    

अझै पनि राजनीतिक मुद्दामै अल्झिएर आर्थिक विकासतर्फ अग्रसर नहुने हो भने नेपालका राजनीतिक दलहरूको स्थायित्व नरहने उनी बताउँछन् । सरकारले स्पष्ट भिजन तयार पारेर पोल्ट्री क्षेत्रको विकासका लागि निश्चित अवधि तोक्न सके व्यवसायीहरू दृढ भएर लाग्ने उनी बताउँछन् । सरकार उत्पादन बढाउनेभन्दा पनि सेवा बढाउनेतर्फ बढी अग्रसर भएका कारण खाद्यान्न आयात बढेको उनको ठम्याइ छ । उत्पादन र सेवालाई सँगै लैजान सके मात्र नागरिकले सुविधा पाउने उनी बताउँछन् । अब पनि आर्थिक मुद्दालाई केन्द्रमा राख्न नसके निकट भविष्यमै ठूलो आर्थिक सङ्कट आउने उनी बताउँछन् । यस वर्षका लागि ल्याइएको बजेटमा कृषिक्षेत्रका लागि तुलनात्मक रूपमा बढी रकम विनियोजन गरिए पनि उत्पादनमुखी कार्यक्रम नरहेको उनको बुझाइ छ । कृषिक्षेत्रमा कम्तीमा पनि लगानीबराबर उत्पादन दिने कार्यक्रम आवश्यक भएको उनी बताउँछन् । उद्योगहरूलाई आवश्यक कच्चा पदार्थ विदेशबाट आयात गर्नु नपर्ने अवस्था सृजना गर्न गम्भीर नभएको उनलाई लागेको छ । लागत बढी हुने तर उत्पादन घट्ने अवस्थाका कारण निराश बनेका उद्योगीहरूलाई प्रोत्साहन गर्नु आवश्यक रहेको उनी बताउँछन् ।

जापानको गीफु युनिभसिटीबाट स्नातकोत्तर र विद्यावारिधि गरेका डा. तिलचन्द्र भट्टराई जापानको व्यवस्थापकीय पक्षलाई पछयाउने सफल व्यवस्थापक पनि हुन् । मजदूर तथा कर्मचारीलाई तल्लोस्तरको व्यवहार गर्नुहुँदैन भन्ने मान्यताका उनले तिनै मजदूर र कर्मचारीको आर्थिक अवस्था सुधार्दै आफ्ना विभिन्न कम्पनीका शेयर धनी बनाएका छन् । कम्पनीका सवारी चालकसमेत शेयरधनी बनेका छन् । मजदूर तथा कर्मचारीलाई खुशी पार्न सकियो भने व्यवसाय कहिल्यै धराशयी नबन्नेमा उनी विश्वस्त छन् । पोल्ट्री क्षेत्रको विकासका लागि स्थापित संस्थामा कार्यरत शेयरधनी कर्मचारीहरूले हालसम्म नाफा बाँडफाँट नगरेको बताउने भट्टराई औद्योगिक क्षेत्रको विकासका लागि समर्पणको खाँचो रहेको बताउँछन् ।

 २०१७ सालमा तेह्रथुममा जन्मिएर झापामा माध्यमिक शिक्षा तथा धरानमा आईएससी उत्तीर्ण गरेपश्चात् कोलम्बो प्लान छात्रवृत्तिमा भारतमा ५ वर्षभेटेरिनरी अध्ययन गरेका भट्टराई अध्ययनशील बन्न सबैलाई प्रेरित गर्छन् । भ्रमणमा उनको रुचि छ । वर्षमा एकपटक घुम्न विदेश जाने गर्छन् । विदेश जाँदा उनी आफ्नो व्यवसायको प्रवर्द्धन पनि गरेर र्फकन्छन् । देशका सुन्दर क्षेत्रहरू घुम्न पनि उनी पछि परेका छैनन् । कृषि विशेषज्ञ श्रीमती डा. शारदा थपलिया जीवनसाथी पाएकाले पनि लक्ष्यमा पुग्न सहज भएको बताउँछन् उनी । तर, व्यवसायमै धेरै व्यस्त हुने भएकाले उनले रुचि भएर पनि घुम्नका लागि धेरै समय खर्चिन पाएका छैनन् । उनी हिन्दूधर्मका अनुयायी हुन् । मन्दिरमा दैनिक पूजा गर्न भने जाँदैनन् । भाग्यमा विश्वास गर्नुभन्दा काममा लगनशील हुनुपर्छ, भन्ने उनको मान्यता छ ।

Admin 2011-08-04