हरेक काम सल्लाहमा
चन्द्रराज पन्त
निवर्तमान अध्यक्ष
दाङ उद्योग वाणिज्य सङ्घ
सामान्य परिवारमा जन्मिएका चन्द्रराज पन्तलाई वाल्यकालदेखि नै व्यापारी बन्ने रहर थियो । कुनै पनि काम गर्दा 'धैर्यवान् बन्नुपर्छ' भनेर पिताले वाल्यकालमा भनेको उनको स्मरणमा अझै ताजै छ । दाङ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष पन्तलाई जीवन 'सफल हुनका लागि मात्र' हो भन्ने लाग्छ । ग्राहकलाई सन्तुष्ट पार्नु नै एउटा व्यापारीको मुख्य दायित्व ठान्छन् उनी । २० वर्षको उमेरदेखि नै व्यापारमा लागेका पन्त यस क्षेत्रबाट चाँडै होइन, क्रमिक रूपमा फाइदा लिनुपर्छ भन्ने मान्यता राख्छन् । धर्ममा त्यति रुचि नराख्ने उनी 'अरूलाई हानि-नोक्सान नगरी काममा लगनशील हुने हो भने त्यसैमा धर्म प्राप्त हुन्छ' भन्छन् । उनी कहिल्यै पनि अरूसँग झोक्किएर वा ठूलो स्वरमा बोल्दैनन् । शुरूमा जिल्लाको उत्तर-पूर्वी गाविस रामपुरमा किराना पसल खोलेका उनले २०३७ सालदेखि घोराहीमा कपडाको व्यापार गर्न थालेका हुन् । घोराही बजारका औंलामा गनिने पुराना व्यापारीमध्ये पर्छन् उनी । आगामी दिनमा पनि कपडाको व्यापारलाई नै निरन्तरता दिने पन्तको सोच छ ।
उनी अहिले पनि सबै काम मातापिताको सल्लाहमै गर्छन् । व्यापारी भए पनि मुलुकमा हुने गरेको राजनीतिक क्रियाकलापमा पन्तको ध्यान सधैं आकृष्ट हुन्छ । बिहान ४ बजे उठ्ने उनी साढे १ घण्टा योग गर्छन् । त्यसपछि पत्रपत्रिका पढ्छन् । 'स्वास्थ्यलाई सधैं ख्याल गर्नुपर्छ', उनी भन्छन् । आफ्नो पसलमा आएको ग्राहक उनको व्यवहारका कारण प्रभावित भइहाल्छ । उनको विचारमा सफल व्यापारी हुन इमानदार, लगनशील, निरन्तर लागिरहनुका साथै उपभोक्ताको मन जित्न सक्ने हुनुपर्छ । 'म ग्राहकलाई सधैं सम्मान गर्छु', उनी भन्छन् । पन्तको विचारमा आफू सम्मानित हुन अरूलाई पनि सम्मान गर्न जान्नुपर्छ । उनी आफ्ना कर्मचारीलाई पूर्ण विश्वास गर्छन् ।
पारिवारिक वातावरण र तत्कालीन आर्थिक अवस्थाका कारण एसएलसीभन्दा माथिको शिक्षा प्राप्त गर्ने अवसर नपाएका पन्तले शिक्षाको महत्त्व राम्रोसँग बुझेका छन् । आफूले उच्च तहसम्म पढ्ने अवसर नपाए पनि छोराछोरीलाई शिक्षामा कुनै कमी नहोस् भन्ने चाहन्छन् उनी । धूमपान र मध्यपानको पन्तलाई स्वादसमेत थाहा छैन । श्रीमती मञ्जु पन्तको सहयोगमा व्यापारमा लागेका उनी पतिपत्नीलाई एक रथका दुई पाङ्ग्रा मान्छन् । 'कुनै पनि काममा सफलता हासिल गर्न पारिवारिक वातावरणको महत्त्वपूर्ण भूमिका हुन्छ' उनी भन्छन् ।
व्यापारीहरूले आफ्नो व्यावसायिक स्वार्थमात्र नहेरेर सामाजिक हितमा पनि काम गर्नुपर्ने पन्तको धारणा छ । उनी अहिले नागरिक समाज दाङका सचिव, पद्मोदय पब्लिक उच्च मावि रझेनाको व्यवस्थापन समिति सदस्य पनि छन् । व्यवसाय र समाज सेवालाई एकसाथ अगाडि बढाउनुपर्छ भन्ने सोच राखेर अघि बढेको पन्त बताउँछन् । 'अबको व्यापार पुरानो शैलीमा चल्दैन,' उनी भन्छन्, 'आवश्यकताअनुसार समाजका हरेक काममा व्यवसायीहरू सहभागी हुनुपर्छ ।' अहिले समाजले व्यवसायमा नयाँपनको खोजी गरिरहेको उनको बुझाइ छ ।
उद्योगपति राजेन्द्र खेतानलाई उनी आदर्श व्यापारी मान्छन् । खेतानको सहजरूपमा प्रस्तुत हुने र आवश्यक कुरा मात्र गर्ने बानी पन्तलाई मन पर्छ । खेतान ग्रूपले छोटो अवधिमा मुलुकमा औद्योगिक विकासका लागि ठूलो योगदान गरेको उनी बताउँछन् । खेतान ग्रूपको योगदानले मुलुकमा दैनिक उपभोग्य सामग्री आपूर्तिमा सहज भएको उनको दाबी छ ।
इमानदारी र लगनशीलतालाई आफ्नो व्यावसायिक मन्त्र ठान्ने पन्त फुसदमा पत्रिका पढ्न रुचाउँछन् । दाङलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने योजना छ उनको । 'पश्चिम नेपालको समग्र आर्थिक विकासका लागि दाङ सम्भावना बोकेको स्थान हो,' उनी भन्छन् । राज्यले अहिलेसम्म व्यावसायिक उन्नतिका लागि खासै ध्यान दिन नसकेको उनको गुनासो छ । 'अब राज्यले आर्थिक सबलीकरणका लागि पहल थाल्नुपर्छ,' पन्त भन्छन् । उनी जिल्लाका अन्य सामाजिक तथा व्यावसायिक समुदायको जमघट गराएर दाङलाई औद्योगिक क्षेत्रमा परिणत गर्न पहल गर्ने सोचमा छन् । ५७ वर्षअघि पूर्वी दाङको रामपुरमा जन्मिएका उनी दाङ उज्ज्वल सम्भावनाले भरिपूर्ण भएको जिल्ला ठान्छन् । भन्छन् 'म यो जिल्लालाई विशेष औद्योगिक क्षेत्रका रूपमा विकास भएको हेर्न चाहन्छु, तर त्यसका लागि राज्यले पनि उत्तिकै ध्यान दिनुपर्छ ।'
Admin 2011-07-04