शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

मर्जरमा विश्वास
राजेन्द्र पौडेल
प्रमुख कार्यकारी अधिकृत
बागेश्वरी डेभलपमेण्ट बैङ्क

'बैङ्कको प्रमुख पूँजी पब्लिक डिपोजिटर हुन्’ बागेश्वरी डेभलपमेण्ट बैङ्क नेपालगञ्जको ७ वर्ष लामो नेतृत्वकालमा उनले आर्जेको यो ज्ञान आज उनलाई आफ्नो गन्तव्यसम्म पुग्ने आधार भएको छ । उनी बागेश्वरीलाई राजधानीबाहिरको सफल क्षेत्रीय स्तरको विकास बैङ्कको श्रेणीमा पुर्‍याउन सफल भएका छन् । 'नौ शाखा भएको बैङ्कको सबै शाखा मुनाफामा छन्,’ उनी भन्छन् ।

विसं २०२६ सालमा स्याङ्जामा जन्मेर हाल काठमाडौंमा बसोबास गर्ने उनीले नेपालगञ्जलाई कार्य क्षेत्र बनाएका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका उनले अर्थशास्त्रमै स्नातकोत्तर गरिरहेका छन् ।  विसं २०५१ मा सिटी फाइनान्स (हालको गोर्खा फाइनान्स) मा सिनियर असिष्टेण्टबाट व्यावसायिक जीवन शुरू गरेका पौडेलले त्यहाँ रहँदा नै नेपालको बैङ्किङ क्षेत्रबारे बुझ्ने मौका पाए । यसै क्रममा उनले नेपालका बैङ्कहरू राजधानीकेन्द्रित रहेको र मुलुकभर छरिएको पूँजी सङ्कलनमा धेरैको ध्यान नपुगेको महसूस गरे । यही कुरालाई मनन गरेर उनले मध्यपश्चिम क्षेत्रलाई कार्यक्षेत्र बनाए र नेपालगञ्जका उद्योगी, व्यवसायी र प्रतिष्ठित व्यक्तिहरूको सहकार्यमा बागेश्वरी डेभलपमेण्ट बैङ्क स्थापना गरे । अहिले बैङ्कले १ अर्ब रुपैयाँभन्दा बढीको निक्षेप सङ्कलन गरी ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

सफलताका लागि हरेक संस्थाले आफ्नो व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको धारणा छ । यसैले उनी आफू मातहतका  १ सय १५ कर्मचारीको उचित व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्छन् । 'कर्मचारी सन्तुष्ट भएमात्र संस्थाले सफलता प्राप्त गर्दछ,’ उनी भन्छन् । हरेक कर्मचारीको जीवनस्तर उकास्न र बढाउन निरन्तर प्रयास गरिरहेको उनी बताउँछन् ।

अहिले नेपाल राष्ट्र बैङ्कले बैङ्कहरू मर्ज गर्न प्रोत्साहन गरेकोमा उनले यसलाई सकारात्मक कार्यका रूपमा लिएका छन् । आफूले विगत ८ वर्ष यतादेखि नै बैङ्क मर्ज हुनुपर्ने मुद्दा उठाएको उनी बताउँछन् । अहिले बागेश्वरी बैङ्क र पोखराको साङ्ग्रिला विकास बैङ्क मर्ज गरी राष्ट्रिय स्तरको विकास बैङ्क बनाउने प्रयासमा छन् उनी । तर, यसका लागि उनी पहिले दुवै बैङ्कको आधार बलियो बनाउनुपर्छ भनेर लागिपरेको बताउँछन् । 'आधार बलियो भएन भने भविष्यमा बैङ्क सफल बन्न गाह्रो हुन्छ,' उनी भन्छन् । त्यस्तै उनले पूर्वाञ्चलमा पनि एउटा विकास बैङ्क स्थापनाको योजना अघि बढाएका छन् । यो योजना सफल भएपछि मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र पूर्वाञ्चलका ३ बैङ्कलाई मर्ज गरी वाणिज्य बैङ्क बनाउने उनको लक्ष्य छ । अहिले नेपालको बैङ्किङ क्षेत्रमा देखापरेका समस्यालाई सूक्ष्म रूपले अध्ययन गरिरहेको उनी बताउँछन् । 'नेपालका बैङ्किङ क्षेत्रमा समस्या आउनुमा प्रमुख कारण अनुत्पादक क्षेत्रमा भएको लगानी र पूँजी सङ्कलनमा ग्रामीण क्षेत्रसम्म पुग्न नसक्नु हो,’ उनको ठम्याइ छ ।

डेभलपमेण्ट बैङ्क एशोसिएशनका कार्यकारिणी सदस्यसमेत रहेका पौडेल बैङ्कहरूले ग्रामीण क्षेत्रसम्म पुगेर पूँजी प्रवाह गर्नुपर्नेमा जोड दिन्छन् । यसले ग्रामीण क्षेत्रमा रहेको पूँजीलाई संस्थागत गर्न र त्यस्ता क्षेत्रको विकासमा समेत टेवा पुर्‍याउने उनको धारणा छ । आफूलाई  धार्मिक व्यक्ति भएको बताउने पौडेल ईश्वरमा भक्ति राख्छन् । जिल्लामै प्रतिष्ठित परिवारमा जन्मिएका उनको जन्म संयोगले पनि आफूलाई बढी ईश्वरीय शक्तिमा विश्वस्त बनाएको उनको मत छ । परिवारमा एकमात्र सन्तानका रूपमा उनी जन्मिँदा आमाको उमेर ४२ वर्ष पुगिसकेको थियो ।  

हरेक दिन बिहान ६ बजे उठेर डेढ घण्टा ब्याडमिण्टन खेल्ने उनी यसले आफूलाई चुस्तदुरुस्त राख्न मद्दत गरेको बताउँछन् । खेलले मानिसलाई शारीरिकसँगै मानसिक रूपमा स्वस्थ्य र स्फूर्त राख्न मद्दत गर्ने उनको विचार छ । उनी हरेक दिन ९ बजेर ३० मिनेटमा कार्‍यालय पुगिसक्छन् र योजना बनाउन तल्लीन हुन्छन् । आफ्नो संस्थाले निरन्तर प्रगति र उन्नति गरिरहे पनि देशको तरल अवस्थाप्रति भने उनी चिन्तित छन् । 'राजनीतिक स्थिरताविना देशको कुनै क्षेत्रले पनि दिगो विकास गर्न सक्दैन,’ उनी भन्छन् । नागरिकले आफ्नो सामाजिक दायित्व पूरा गर्ने हो र राजनीतिक नेतृत्वले देशलाई सही दिशामा अघि बढाउने हो भने देशविकास हुन समय नलाग्ने उनको धारणा छ । उनले बैङ्कमार्फत नेपालगञ्ज क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्य गरिरहेका छन् । त्यस्तै जन्मथलोसम्म उनले सामाजिक सेवाका क्षेत्रमा विभिन्न माध्यमबाट कार्य गरिरहेका छन् ।

जीवनलाई ईश्वरको देन भन्न रुचाउने पौडेलका दुई पुत्र छन् । बिदा र समय मिलेसम्म पारिवारिक जमघटमा रमाउने उनको बानी छ ।

Admin 2011-05-03