शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

वातावरण संरक्षणका अभियन्ता
डा. राजेन्द्र के. पचौरी
महानिर्देशक
द एनर्जी एण्ड रिसोर्सेज इन्सिटच्युट (टेरी)
अध्यक्ष
इण्टरगभर्मेण्टल प्यानल अन क्लाइमेट चेञ्ज (आईपीसीसी)

अधिकांश वैज्ञानिक र्सवसाधारणले बुझ्ने भाषामा कुरा गर्न जान्दैनन् । उनीहरू विभिन्न सूत्र, प्राविधिक शब्द र तथ्याङ्कको सहाराले कुरा गर्छन्, जसलाई बुझ्न स्रोताहरूको वौद्धिकस्तर पनि माथिल्लै हुनुपर्छ । तर, आइतवार अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड)को मुख्यालय, काठमाडौंमा एउटा त्यस्ता वैज्ञानिक उपस्थित भए, जसले वातावरण परिवर्तनबारे र्सवसाधारणले बुझ्ने भाषामा कुरा गरे । खचाखच भरिएको इसिमोडको सभाकक्षमा उनले वातावरणीय परिवर्तनले हिमालयक्षेत्रमा पारेको प्रभावका कुरा गरिरहँदा उपस्थित स्रोताहरू श्वास रोकेर सुनिरहे ।  उनी हुन् वातावरणका लागि नोबेल पुरस्कार विजेता डा. राजेन्द्र पचौरी । सन् २००७ मा इण्टरगभर्मेण्टल प्यानल अन क्लाइमेट चेञ्ज (आईपीसीसी) का लागि पूर्व अमेरिकी राष्ट्रपति पदका उम्मेदवार अल गोरसँग संयुक्तरूपमा नोबेल पुरस्कार विजेता उनी हिन्द-कुश हिमालय क्षेत्रमा वातावरणीय परिवर्तनले पारेको प्रभावका बारेमा कुरा गर्न नेपाल आएका हुन् । हिन्द-कुश हिमालयक्षेत्र दक्षिण एशियाको पानीको धरोहर हो । यस क्षेत्रमा १ अर्ब ३० करोड मानिस बस्छन्, जुन विश्व जनसङ्ख्याको पाँच भागको एक भाग हो । विश्वको गरीब जनसङ्ख्याको ४० प्रतिशत यही क्षेत्रमा बस्छन् । उनीहरू वातावरण परिवर्तनका कारण विभिन्न समस्यासँग जुधिरहेका छन् ।

लामो सलक्क कोरिएको कपाल र चिउँडोमा फुलेको दाह्री उनको झण्डै ६ फीट अग्लो व्यक्तित्वमा राम्रै जँचेको थियो । हरियो र्टाई र कोटको गोजीमा राखेको हरियै रुमालले उनले व्याख्या गरिरहेको 'हरित अर्थतन्त्र'मा अतिरिक्त जोड दिएजस्तो लाग्थ्यो । आफ्नो विशिष्ट वक्तृत्व शैलीले स्रोताहरूलाई मन्त्रमुग्ध बनाएका डा. पचौरी नेपाल आउनु रणनीतिक रूपमा पनि महत्त्वपूर्ण भएको इसिमोडका महानिर्देशक एण्ड्रियास शिल्ड बताउँछन् । 'हरित अर्थतन्त्रको वकालत गर्ने उनले हिन्द- कुश हिमालयको संरक्षणका लागि गरिएका प्रयासमा साथ दिइरहेका छन्,' शिल्डले भने ।

उनले 'ग्लोबल वार्मिङ', वातावरण परिवर्तन र त्यसले मानव जीवनमा पारेका असरजस्ता विषयमा एक घण्टा बोले । 'पछिल्लो समयमा कार्बन उत्सर्जन ज्यादै बढेकाले त्यसले विश्व तापमानमा वृद्धि गरेको छ, जसले उच्च हिमालयको हिउँ पग्लिँदै गइरहेको छ,' उनले भने, 'पछिल्ला दुइ शताब्दीमा २ दशमलव ५ प्रतिशतले तापमान बढेको छ ।' दक्षिण एशियाली मुलुकहरूमा ग्लोबल वार्मिङका नकारात्मक असरहरू देखिइरहेका छन् । तर, गरीब तथा सीमान्तीकृत समुदायहरूमा बदलिँदो परिस्थितिसँग जुध्ने ज्ञान र प्रविधि छैन । त्यसैले डा. पचौरी अहिले त्यस्ता जनताका लागि सहयोग पुर्‍याउन सक्ने प्रविधिको विकासमा लागेका छन् । भारतका दुर्गम गाउँमा सौर्यबत्ती पुर्‍याएर त्यहाँका गरीब जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन लागिपरेको छन् टेरी । कार्बन उत्सर्जन गर्नमा हरेक व्यक्तिको उत्तिकै भूमिका रहेको बताउँदै उनी भन्छन्, 'हामीमा एयर कण्डिशनर चलाएर सिरक ओढेर सुत्ने संस्कृतिको विकास भएको छ । त्यस्ता अस्वस्थ बानीमा सुधार आवश्यक छ ।' सबैले वातावरणमैत्री बानीहरू अबलम्बन गर्ने तथा उत्पादनहरू प्रयोग गर्ने हो भने बजारले पनि त्यही बाटो पछयाउने उनी बताउँछन् । त्यसको शुरुआत उनले घरबाटै गरेका छन् । टेरीको मुख्यालयमा कुनै वातानुकूलित यन्त्रहरूको प्रयोग गरिएको छैन । जमीनमा चार फीट तल बनाइएको सुरुङबाट हावा प्रशोधन गरी घरलाई जाडोमा न्यानो र गर्मीमा शीतल बनाइन्छ ।

वातावरणीय परिवर्तनसँग जुध्न राज्यहरू सचेत बन्न ढिला भइसकेको छ । सबै मुलुकले चाहने हो भने यो गर्नै नसकिने काम होइन । कार्बन उत्सर्जनलाई कम गर्न तथा त्यसबाट सृजित समस्याहरूसँग जुध्नका लागि विश्वको कुल गार्हस्थ उत्पादनको ३ प्रतिशतभन्दा कम लगानी भए पुग्छ ।' यसबाट प्रदूषण कम हुने मात्र होइन, जनताको स्वास्थ्य राम्रो हुने र बढी रोजगारीको सृजना हुनेजस्ता परिवर्तनहरू पनि हुनेछन् । तर, त्यसका लागि आवश्यक नीति निर्माणका लागि विश्वका अधिकांश मुलुकले ध्यान दिएका छैनन् । डा. पचौरी भन्छन्, 'हाम्रा सरकारहरूसँग त्यसका लागि न त कुनै तयारी छ न कुनै योजना ।' वातावरणीय परिवर्तनले पहाडी मुलुकहरूमा कृषि प्रणालीमै असर गरिसकेको छ । त्यसलाई सम्बोधन गर्नका लागि कृषि अनुसन्धान तथा खाद्य सुरक्षाका लागि नयाँ योजनाहरू बनाउनु आवश्यक भएको उनको भनाइ छ । यसका साथै समुदायमा भएको परम्परागत शीप र ज्ञानको प्रयोगले पनि वातावरणीय परिवर्तनसँग जुध्न सकिने उनी बताउँछन् ।

कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आईपीसीसीले विकसित सरकारहरूलाई वातावरणमैत्री नीति वा कार्यका लागि बाध्य पार्न नसक्ने बताएका थिए । विकसित मुलुकहरू कार्बन उर्त्र्सजनका मुख्य दोषी रहेको र त्यसबाट सृजित नकारात्मक असरहरूको भागीदार गरीब मुलुकहरू बनिरहेका छन् । पछिल्लो समयमा विकासशील मुलुकहरूले विश्व फोरमहरूमा त्यसको क्षतिपूर्तिको माग जोडतोडले उठाउँदै आएको उनी बताउँछन् । अल गोर र उनले बनाएको चर्चित डक्युमेण्ट्री फिल्म 'एन इन्कन्भिनियण्ट ट्रूथ'को प्रसङ्ग उठाउन पनि उनले बिर्सेनन् । टेरीको कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ । त्यसका महानिर्देशक रहेका डा. पचौरी सन् १९४० अगष्ट २० मा भारतको नैनितालमा जन्मिएका हुन् । सन् १९८१ मा टेरीका निर्देशक बनेका उनी २००१ देखि त्यसका महानिर्देशक छन् । उनी अमेरिकाको कोलम्बिया विश्वविद्यालयस्थित इण्टरनेशनल रिसर्च इन्षिटच्युट फर क्लाइमेट एण्ड सोसाइटीका अध्यक्ष र यल क्लाइमेट एण्ड एनर्जी इन्षिटच्युटका निर्देशक पनि हुन् । उनले भारतीय प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद्मा रहेर पनि काम गरिसकेका छन् । २१ पुस्तक लेखेका र दर्जनौं अनुसन्धान गरेका डा. पचौरीले दर्जनौं अन्तरराष्ट्रिय र भारतीय संस्थामा सल्लाहकार तथा प्रमुखको भूमिका वहन गरिसकेका छन् ।

Admin 2011-09-06