शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''पैरवी सुशासनको'' - ध्रुवप्रसाद शर्मा
सचिव, शान्ति तथा
पुननिर्माण मन्त्रालय

    
उनी सञ्चारमाध्यममा अत्यन्त कम आउने थोरै नेपाली प्रशासकमध्येमा पर्छन् । प्रचारभन्दा काम बढी महत्त्वपूर्ण ठान्छन् उनी । द्वन्द्वोत्तर मुलुकको पुनः निर्माण तथा भौतिक विकासमा केन्द्रित उनले दिगो शान्ति स्थापना तथा एकीकृत नेकपा (माओवादी) सम्बद्ध लडाकू व्यवस्थपानमा समन्वयकर्ताको गहन जिम्मेवारी पाएका छन् । सङ्क्रमणकालीन अवस्थामा निश्चित प्रयोजनका निम्ति स्थापना भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव ध्रुवप्रसाद शर्मा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन सेतुको भूमिका निर्वाह गर्ने मन्त्रालयको उपल्लो प्रशासनिक पदमा नियुक्त भएकोमा गौरव र गर्वको अनुभूति गरेका छन् । भन्छन्- ऐतिहासिक शान्तिप्रक्रियालाई टुङ्ग्याउने र १९ हजार ६ सय २ जना लडाकूको पुनःस्थापनासम्बन्धी कार्यमा सरकारलाई सहयोग गर्न पाउनु चानचुने कुरा होइन ।

मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे टीकाटिप्पणी वा गुनासो गर्नु औचित्यहीन लाग्छ शर्मालाई । हरेक नागरिकले सकारात्मक सोचका साथ काम गर्नुपर्ने विचार व्यक्त गर्छन् उनी । कुनै पनि पक्ष झिनामसिना कुरामा अल्झेर राष्ट्र विकासको  बाधक बन्न नहुने उनको बुझाइ छ । लक्ष्य निर्धारण गरेर आत्मविश्वासका साथ अगाडि बढेमा सफलता प्राप्त गर्न कठिनाइ नहुने उनलाई लाग्छ । 'राइट पर्सन एट राइट प्लेस' उनको व्यवस्थापन मन्त्र हो । सक्षम मान्छेलाई अवसर दिनुपर्छ भन्ने उनी क्षमता अभिवृद्धिको अवसर दिँदा कर्मचारी अभिप्रेरित हुने बताउँछन् । वृत्तिविकासका निम्ति तालीमलगायत अवसर प्रदान गर्न उनले मातहतका कर्मचारीलाई 'वैयक्तिक विवरण' बनाउन निर्देशन दिएका छन् । कुन कर्मचारीलाई कस्तो जिम्मेवारी दिँदा लक्षित उपलब्धि हासिल हुन्छ भन्ने ठम्याउन पनि उनले त्यसो गरेका हुन् । सहभागितामूलक व्यवस्थापन प्रणाली अँगाल्दा अपरदर्शिताको अन्त्य हुने भएकाले सम्भव भएसम्म यो पद्धति अनुशरण गर्नु श्रेयस्कर हुने उनको सुझाव छ ।  

विसं २०१४ चैतमा स्याङ्जाको पुतलीबजारमा जन्मिएका शर्मा २०३५ मा पोखरामा आईए पढ्दै गर्दा खरिददार पदबाट निजामती सेवामा प्रवेश गरेका हुन् ।  परीक्षा पास गरेर सुब्बा, शाखा अधिकृत र सहसचिव भएका हुन् उनी । साथीभाइको लहलहैमा लागेर लोकसेवाको परीक्षामा सामेल भएका उनी कहिल्यै कुनै परीक्षामा असफल भएनन् । उनीसँगै खरिदारमा नियुक्ति पाएका कैयौं उनका दौंतरी त्यही पदबाट सेवा निवृत्त भए भने केहीले सुब्बा, शाखा अधिकृत र उपसचिवसम्म हुने अवसर पाएका छन् । सरकारी जागीरमा रहेका काका र आफन्तको चाहना पनि उनलाई सार्वजनिक प्रशासनमा लगाउने थियो । शिक्षित परिवारका उनले लेखपढमा खासै संघर्ष  गर्नुपरेन, न त जागीर पाउनमा नै ।

शाखा अधिकृत भएपछि शर्माको पहिलो पोष्टिङ सामान्य प्रशासन मन्त्रालय अन्तर्गत विशेष प्रहरी विभागमा भएको थियो । विशेष प्रहरीमा लामो समयसम्म काम गर्न उनलाई मन लागेन- उक्त संस्थाप्रति सर्वसाधारणको नकारात्मक सोचका कारण । पाल्पा र दाङमा भूमिसुधार अधिकृतको जिम्मेवारी बहन गर्दा प्राप्त अनुभव र जनतामा भिज्न पाएको अवसर पनि उनका निम्ति शिक्षाप्रद रह्यो ।  कामप्रति उनको समर्पण देखेर प्रभावित भएका तत्कालीन विभागीय प्रमुख जितबहादुर मानन्धरले उनलाई विकास तथा व्यवस्थापनमा स्नातकोत्तर गर्न बेलायत पठाइदिए । त्यसलाई उनले आफ्नो जीवनको उपलब्धि मानेका छन् । सुर्खेत, सिरहा, रौतहट, ललितपुर, रुपन्देही र काठमाडौंको प्रमुख जिल्ला अधिकारी भएर ७ वर्षकाम गरेको अनुभव छ उनीसँग ।

विगतको तुलनमा अनियमितता बढेको अनुभव गरेका छन् शर्माले । कुशासनलाई समूल नष्ट गर्न नसके पनि त्यसलाई नियन्त्रण गर्न सकिने उनको बुझाइ छ । राजनीतिक स्थायित्व, स्थिर सरकार, निरन्तर निरीक्षण तथा अनुगमनबाट भ्रष्टाचार कम गर्न सकिने उनको सुझाव छ । प्रशासनिक एवम् कानूनी दक्षताका साथै तहकिकात र अनुसन्धानको ज्ञान भएकाहरूलाई अख्तियारजस्ता संवैधानिक निकायमा स्थान दिनुपर्ने उनको सुझाव छ । व्यावसायिक शीप भएकाहरूको छुट्टै संयन्त्र बनाएर पनि काम गर्न सकिने उनलाई लाग्छ । उनी सधैं  सुशासनको पैरवी गरिरहन्छन् । राष्ट्रसेवकको पहिचान पनि त्यसैले गराउने उनको बुझाइ छ ।

एक तहमाथिको पदमा पदोन्नति पाउने सोच भए पनि सचिव नै हुने कल्पना गरेका थिएनन् शर्माले ।  जितबहादुर मानन्धर, कुलशेखर शर्मा र प्राध्यापक यदुनाथ खनालको जीवनबाट प्रभावित छन् उनी । र, उनीहरूलाई नै आदर्श व्यक्ति मान्छन् । परोपकारबाट पुण्य प्राप्ति हुनेमा विश्वस्त उनी हरेक नागरिकले आफ्नो समाजको उन्नयनका लागि सकेको सहयोग गर्नुपर्ने बताउँछन् । संस्थागत संस्कारले क्रमशः गति लिन थालेको उनको अनुभव छ । अदृश्य शक्ति मान्छन् उनी ईश्वरलाई । र, पूजाअर्चना गर्दा असिम आनन्दको अनुभूति हुन्छ उनलाई ।

Admin 2011-04-03