शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''विश्वास परिश्रममा'' - किशोर थापा
सचिव, पर्यटन तथा नागरिक उड्डयन

छत्तीस वर्षअघि उनले शैक्षिक फाँटमा ठूलो तरङ्ग सृजना गरेका थिए । अहिले पनि त्यस्तै तहल्का मच्चाएका छन् । ऊ बेला उनले विद्यालयीय शिक्षाको फलामे ढोका अर्थात् एसएलसीमा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरेर चर्चाको चुली चुमेका थिए भने अहिले पर्याप्त पर्यटक भित्र्याएर देशलाई आर्थिक रूपले उन्नत पार्ने, उजिल्याउने र उचाल्ने महायज्ञको नेतृत्व गरेर जनताको स्याबासी पाइरहेका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव किशोर थापा झुक्किएर निजामती सेवामा प्रवेश गरेका हुन् । वास्तुशास्त्रमा स्नातकोत्तर गरेका उनी निजीक्षेत्रको रोजगारीमा जाने तरखरमा रहेका बेला कौतुहलवश सरकारी जागीरे भएका हुन् । कोलकाता, नयाँदिल्ली र न्युजर्सीबाट शहरी विकास र योजनामा उच्च शिक्षा हासिल गरेका उनी मातृभूमिप्रतिको दायित्व र कर्तव्यबाट विमुख नहुन हरेक नागरिकलाई आग्रह गर्छन् । उनले सरकारको सिन्दुर लगाएको पनि २८ वर्ष भएछ । जहाँ गए पनि काम, काम र मात्र कामलाई प्राथमिकता दिने उनको बानी कामचोरहरूका लागि प्रेरणा बन्न सक्छ ।

थापाले पर्यटन मन्त्रालको जिम्मेवारी सम्हालेको ८ महीना भयो । यही अवधिमा देशमा १० लाख पर्यटक भित्र्याएर पर्यटन प्रवर्द्धनको अभियान नेपाल भ्रमण वर्ष प्रारम्भ भएको छ । पर्यटन क्षेत्रका विकासका लागि आयोजित राष्ट्रिय कार्य नेतृत्व गर्न पाएकोमा गौरव र गर्व गर्छन् उनी । १ वर्षको अवधिमा १० लाख पर्यटक ल्याउने लक्ष्यलाई महत्त्वाकाङ्क्षी नमान्न उनको विनम्र अनरोध छ । बितेका २ महीनामा पर्यटक आगमन बढेको छ- गतवर्षको तुलनामा । नेपाल भ्रमण वर्षको उद्घाटन कार्यक्रमले देशविदेशमा तरङ्ग पैदा गरेको बताउँछन् उनी । उक्त कार्यक्रमबाट नेपालबारे सकारात्मक सन्देश प्रवाह भएको र पर्यटक पनि आकर्षित भएका उनको अनुभव छ । फेब्रुवरीमा पोखराका होटल खचाखच भरिनु र अन्नपूर्ण क्षेत्रमा पर्यटकको ताँती देख्दा नेपाल आउने विदेशी पाहुनाको सङ्ख्या बढ्नुले सबै उत्साहित भएको उल्लेख गर्छन् उनी ।

पूर्वाधार विकासको क्षेत्रलाई पनि सरकारले उत्तिकै प्राथमिकता दिएको छ । विमानस्थलको सुधार, निर्माण र विस्तारलाई द्रुत गतिमा अघि बढाइएको बताउँछन् थापा । हुम्लाको सिमीकोट, मुगुको ताल्चा, सङ्खुवासभाको तुम्लिङटार र मनाङ विमानस्थलको धावनमार्गलाई पक्की बनाउने, टर्मिनल भवन निर्माणलगायत कार्य थालिसकिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको व्यवस्थापन चुस्त बनाउनुका साथै त्यहाँको बेथिति हटाएका छन् थापाले । त्यस्तै हेलिकोप्टर अडयाउन छुट्टै 'वे'को व्यवस्था गरिसकेका छन् उनले । र, सँगै ४ सय यात्री अटाउने विशाल हल पनि सञ्चालनमा आएको छ पर्यटकको सुबिस्ताका लागि । परिश्रममा विश्वास गर्ने उनी पदलाई गौण मान्छन् । इञ्जिनीयरिङ पृष्ठभूमिका उनले १७ वर्ष भौतिक योजना मन्त्रालयमा बिताए । उनी विषयगत विशिष्टताका आधारमा 'पोष्टिङ' हुनुलाई तर्कपूर्ण मान्छन् ।

मुख्यसचिवका उम्मेदवार थापालाई शासन व्यवस्था बलियो भए सरकारका अङ्ग पनि सुदृढ हुने लाग्छ । सुशासनको अभाव त्यसैको उपज भएको उनको बुझाइ छ । अति राजनीतीकरण र सामाजिक संस्कारलाई पनि उनी उत्तिकै  जिम्मेवार मान्छन् कुशासन मौलाउनुको कारणमा । परिश्रम नगरी कमाउने परम्परा हाबी भएकाले सुशासन आकाशको फल भएको हो कि भन्ने उनको विश्लेषण छ । चरित्र सुधार सदाचारजस्ता नैतिकताको अभ्यास महत्त्वपूर्ण मान्छन् उनी कुशासनको दुश्चक्र तोड्न । 'राष्ट्रसेवाको बाटोमा लागेपछि व्यापारीको जस्तो अपेक्षा गर्नुहुँदैन' भ्रष्टाचारमुक्त आदर्श प्रशासनको परिकल्पना गर्दै उनी भन्छन् । आफूलाई राज्यको नोकर भन्न रुचाउँछन् उनी । न्यूनतम जीवनयापनका लागि सचिवको तलब घटीमा पनि ४५ हजार हुनुपर्ने उनको अभिमत छ । राज्य व्यवस्था स्थिर भए विकासको गति बढाएर १० वर्षमा देशको कायापलट गर्न सकिन्छ भन्छन् उनी । विकासको पूर्वशर्त भने ऊर्जाको उत्पादन नै हो उनको विचारमा ।

जीवन र जगत्लाई बुझ्ने प्रयासमा छन् सचिव थापा । आध्यात्मिक चिन्तनले उनलाई परिवर्तन गरेको छ । सैनिक पृष्ठभूमिका पिताले पढाइमा उत्प्रेरित गरेका हुन् उनलाई । यद्यपि इञ्जिनीयर केशवप्रसाद घिमिरेलाई उनी 'रोलमोडल'का रूपमा प्रस्तुत गर्छन्  ।ईश्वरमा अगाध आस्था भएका उनलाई दानको प्रचार गर्न मन लाग्दैन । पूजाआराधनाबाट जानेर वा अञ्जानमा भएका भूलको प्रायश्चित हुने उनको ठम्याइ छ । ईशआराधनाबाट उनलाई नयाँ काम गर्ने ऊर्जा प्राप्ति हुन्छ । अवकाशपछिका दिनमा पनि देशको विकास निर्माण र आफूले वैशिटय हासिल गरेको निर्माणको काममा लाग्ने उनको लक्ष्य छ ।

Admin 2011-03-04