शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

पशुस्वास्थ्यमा संवेदनशील
दीपकप्रसाद दाहाल
प्रबन्ध निर्देशक
मेडिभेट फर्मास्युटिकल्स ल्याब प्रालि
उनलाई देख्नेबित्तिकै स्यागी, लुसी र कान्छीले घेरिहाले । पुच्छर नभए पनि स्यागीको हाउभाउ हेर्नलायक थियो । 'उठ्ने, बस्ने र आफ्नो आसनमा जाने' आदेश भुँइमा खस्न नपाउँदै ऊ अनुशासित सैनिकले झैं आज्ञापालन गथ्र्यो । सानी कान्छीको ङयारङयार र लुसीले लामो लेग्रो तानेर खानाको माग गरिरहेका थिए । पशुभाषा बुझेको भावभङ्गीमा उनले बडेमाको बोराबाट बाटुला बिस्कुट झिक्न नपाउँदै उनको कार्यालय कोठाको कोलाहल साम्य भयो । पशुपक्षीको औषधि उत्पादनलाई व्यवसाय बनाएका मेडिभेट फर्मास्युटिकल्स ल्याब प्रालिका प्रबन्ध निर्देशक दीपकप्रसाद दाहालले भक्तपुर झौखेलस्थित कारखानामा दर्जनौं कुकुरलगायत चौपाया पालेर ओखतीको परीक्षण एवम् उत्पादन गर्दै आएका छन् ।

किसानका छोरा दीपक बाल्यावस्थादेखि नै पशुको हेरचाह र औषधिमूलो गर्थे । १ सयभन्दा बढी गाई अनि २०-२५ ओटा भैंसीका मालिक उनका पिताले गाईभैंसीलाई 'इञ्जेक्सन' दिएबापत पशुचिकित्सकलाई रकम दिएको देखेका थिए । र, कैयौंपटक उनले ती पशुस्वास्थ्यकर्मीले सिकाएबमोजिम आफ्ना पशुधनलाई सुइ पनि लगाए । स्कूलेजीवनमा पशुचिकित्सक बन्ने नभए पशुऔषधि उत्पादक भई राष्ट्रको आर्थिक उन्नयनमा योगदान गर्ने उनको लक्ष्य थियो । दरभङ्गाबाट रसायनशास्त्रमा स्नातकोत्तर गरेका उनी पशुचिकित्सक नभए पनि पशुस्वास्थ्यसम्बन्धी औषधि उत्पादक भएर बाल्यावस्थाको सपना साकार पार्न सफल भएका छन् । पढाइ पूरा गरेपछि  भारतको प्रसिद्ध कम्पनी टाटाअन्तर्गतको मेरिन लिमिटेडको बजार व्यवस्थापक भएर एक दशक बिताएपछि रू. ५ लाखको लगानीमा आफ्नै उद्योग थालेका हुन् दाहालले ।

मुलुकमा पशुपक्षीको औषधि उत्पादन गर्ने सातओटा कम्पनी छन् । नेपालमा वार्षिक रू. १ अर्ब ५० करोडको कारोबार हुने गरेको छ । नेपाली उत्पादनले २५ प्रतिशत भागमात्र ओगटेको उल्लेख गर्छन् दीपक । आफ्ना कम्पनीका उत्पादनलाई विश्वका जुनसुकै प्रयोगशालामा परीक्षण गरे पनि गुणस्तरमा कुनै किसिमको कमी नपाइने दाबी गर्छन् उनी । 'परीक्षणबापतको बेहोर्ने मात्र होइन, रू. १ लाख पुरस्कारसमेत दिन तयार छु'  आफ्नो कम्पनीका विभिन्न ५० उत्पादन गुणस्तरयुक्त भएको तथा त्यसलाई सदासर्वदा कायम राख्न कुनै किसिमको सम्झौता नगर्ने उल्लेख गर्दै उनी भन्छन् । ८ वर्षभयो उनको कम्पनीले करारमा उत्पादन थालेको । ६० जनाभन्दा बढी काम गर्छन् मेडिभेटमा । उनी आफू मेहनती भएकाले मातहतका कर्मचारीलाई पनि त्यसै गर्न आग्रह गर्छन् । इमानदारी उनको व्यवस्थापन मन्त्र हो । पारदर्शी छन् उनी । कम्पनीको कमाइ कर्मचारीमाझ प्रस्तुत गर्दै आएका छन् उनले । पोहोरदेखि बोनस बाँड्न पाएकोमा दङ्ग छन् उनी र उनका कर्मचारी ।

पशुपक्षीका औषधिका बोतलमा टाँसिएका 'लेबल'मा उल्लिखित भिटामिनलगायत आधारभूत तत्त्व आयातित औषधिमा नहुने तथा नियामक निकाय पशुस्वास्थ्य विभाग संवेदनशील नभएकोमा दीपकको दुखेसो छ । विदेशबाट ल्याइने हरेक त्यस्ता औषधि गुणस्तरहीन हुने गरेका तथा उल्लिखित तत्त्व नपाइने प्रयोगशाला परीक्षणबाट पुष्टि भइसक्दा पनि सरकारी निकाय मौन बस्नुलाई विडम्बनाबाहेक केही मान्न नसकिने उनको भनाइ छ । उपभोक्तालाई जागरुक बनाउन उनले अभियान नै थालेका छन् । त्यसमा सबैले सघाउनुपर्ने उनको अनुरोध छ । 'नेपालीले नेपालीलाई ठगेको कतिञ्जेल हेरेर बस्नु ?' मुलुकमा व्याप्त अराजकता र रातारात धनी हुने कुप्रवृत्ति उजागर गर्छन् उनी ।

आफ्नो ज्ञान र शीप मानव र पशुपक्षीको सुरक्षाका निम्ति उपयोग गर्नुपर्छ भन्ने दीपक नास्तिक होइनन् । मनको शान्तिका लागि मन्दिर जाने उनले आफ्नो आयको ३ प्रतिशत समाजको विकासका लागि छुट्टयाएका छन् । डम्बरराज दाहाल स्मृति प्रतिष्ठानमार्फत उनले शिक्षाको क्षेत्रमा पनि दान गर्दै आएका छन् । मुलुकमा संस्थागत संस्कृति र संस्कारको विकास नभएको विश्लेषण गर्ने उनी नक्कली बिल बनाएर राष्ट्र लुट्नेलाई कानूनको कठघरामा उभ्याउन सम्बन्धित निकायले खुट्टा कमाउन नहुनेमा जोड दिन्छन् ।

Admin 2011-06-03