शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''देश हाँक्ने इच्छा'' - इच्छाराज तामाङ
कार्यकारी अध्यक्ष, सिभिल होम्स प्राइभेट लिमिटेड

बयालीस वर्षअघि ओखलढुङ्गाको मानेभञ्ज्याङमा जन्मेका उनी बेलायती सेनाका जागीरे बाबुसँग ३ वर्षको उमेरमा सिङ्गापुर पुगे । ९ वर्षसम्म त्यहाँको स्वप्निल संसारमा सुखभोग गरेका उनले उदयपुरको कटारीस्थित त्रिवेणी माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका हुन् । उनले उतिबेला नै मार्मिक र मीठा कथा, कविता लेखेर साहित्यकारको परिचय पनि बनाएका थिए । विलक्षण प्रतिभाका प्रतिमूर्ति इच्छाराज तामाङले पुल्चोकको इञ्जिनीयरिङ अध्ययन संस्थानमा आफूलाई अब्बल छात्रका रूपमा प्रमाणित गरेपछि उच्च शिक्षाको अवसर पाएका हुन् । तत्कालीन सोभियत सङ्घको सेण्ट पिटर्सवर्ग विश्वविद्यालयबाट जलस्रोत व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् इच्छाराजले । इञ्जिनीयर इच्छाराजलाई समयले साथ दिएको छ र उनले समयको सदुपयोग पनि जानेका छन् । सोभियत सङ्घमा पढ्दादेखि नै उनले व्यापारकला सिकेका हुन्- औपचारिक अध्ययन इञ्जिनीयरिङ भए पनि । सहकारी, आर्थिक सुधार र निजीकरणको महत्ता उनले त्यहीँ जानेका हुन् अनि आर्जन गरेका हुन्- व्यापार-व्यवसायको ज्ञान । अन्तरराष्ट्रिय भाषा अङ्ग्रेजी नजान्ने रूसीहरूसँग दोभाषेको भूमिका निर्वाहसँगै नेपाल र रसिया आउजाउका क्रममा यताका उत्पादन उता र त्यहाँका सामान यहाँ बेचेर व्यापारको व्यावहारिक अभ्यास पनि उनको उतै भएको हो ।  

इञ्जिनीयरको अन्तरराष्ट्रिय उपाधिसँगै २०५२ सालमा नेपाल आएका इच्छाले केही वर्ष आफू पढेको इञ्जिनीयरिङ अध्ययन संस्थानमा पढाए । अहिले उनी लामो बिदामा बसेका छन् । कक्षाकोठा र चकडष्टरमा मात्र सीमित नरहने उद्यमशील उनले झण्डै ८ करोडको लगानीमा २०५५ सालतिर स्थापना गरेको सिभिल क्रेडिट एण्ड कोअपरेटिभ लिमिटेड विशाल वृक्षका रूपमा विस्तारित भएको छ- सिभिल नामले । सिभिल बैङ्क, सिभिल होम्स, सिभिल मर्चेण्ट वित्तीय संस्था, सिभिल ट्रेडिङ कम्पनी, सिभिल इण्टरनेशनल कन्सल्टयान्सीलगायत १४ ओटा कम्पनीलाई नेतृत्व दिइरहेका छन् उनले । समान सोचाइ भएका केही साथीहरूलाई साथ लिएर थालिएका ती कम्पनीको पूँजी १६ अर्बको हाराहारीमा छ । झण्डै १ हजार ६ सय कर्मचारीले ती संस्थामा रोजगारी पाएका छन् ।

इच्छाराजका कम्पनीमा काम गर्नेले घरपरिवारको जस्तो वातावरण पाएका छन् । उनले सबैलाई एकताको सूत्रमा आबद्ध गरेका छन्- मैत्रीपूर्ण व्यवहारले । कर्मचारीको स्तर निर्धारण गर्ने, कुशाग्र बुद्धि एवम् क्षमता भएकाहरूलाई विशेष जिम्मेवारी दिने तथा व्यक्तिको खुबीअनुसार काम लगाउने उनको बानी छ । उनलाई नकारात्मक सोच भएका, निराशावादी, कामलाई बोझ सम्झने अल्छीहरूसँग व्यवहार गर्न पटक्कै मन लाग्दैन । कर्मलाई ईश्वरको वरदान मान्ने उनी कर्मचारीलाई मात्र होइन, सबै नेपालीलाई इमानदारीपूर्वक काम गर्न सल्लाह दिन्छन् ।

ग्लोबल बैङ्कका अध्यक्ष चन्द्रराज ढकाल इच्छाराजलाई प्राविधिक मात्र नभई व्यवस्थापकीय क्षेत्रमा पनि उत्तिकै ज्ञान भएको कुशल व्यवस्थापक मान्छन् । उनको निर्णय क्षमता र साङ्गठनिक कलाको ढकाल प्रशंसा गर्छन् । सबैसँग समान व्यवहार गर्ने र आफ्नो विचार स्पष्ट शब्दमा प्रस्तुत गर्ने इच्छाराजको कार्यशैलीबाट आफू प्रभावित भएको बताउँछन् उनी ।

 जीवनमा कैयौं उतारचढाव पार गरेका इच्छाराजलाई अहिलेको अवस्थामा पुग्छु भन्ने लागेको थिएन । यद्यपि काम गर्दै जाँदा शिखरतिर पुग्नु उनका निम्ति अस्वाभाविक होइन । जीवनमा केही गर्नुपर्छ भन्ने मान्यता लिएर व्यवसायमा हात हालेका उनी आफ्ना लागि होइन, त्यो राष्ट्रका निमित्त हुनुपर्नेमा जोड दिन्छन् । मुलुकलाई समृद्धशाली बनाउन राजनेताको टड्कारो खाँचो देख्ने उनी एकीकृत नेकपा माओवादीका नेता डा.बाबुराम भट्टराईमा केही गुण देख्छन् । तर, उनी माओवादी समर्थक होइनन् । हाम्रो देशका नेताहरूलाई राजनेता बन्ने चाहना नहुनु उनीहरूको अँध्यारो पक्ष भएको उनको मान्यता छ । अक्षमता र जनतालाई बेवास्ता गर्दा 'फोहोरी खेल'का खलनायकको पगरी उनीहरूले पाएका उनको बुझाइ छ ।

देशका लागि सोच्न नेताहरूलाई सत्बुद्धि प्राप्त होस् भनेर प्रार्थना गर्नुबाहेक नेपालीले केही गर्न नसक्ने व्यङ्ग्यात्मक अभिव्यक्ति दिन्छन् इच्छाराज । राजनीतिक रूपमा नेकपा एमालेसँग केही नजिक रहेका उनले मुलुकको नेतृत्व लिने महत्त्वाकाङ्क्षी लक्ष्य लिएका छन् । 'देश रहे हामी रहन्छौं' केही भावुक हुँदै राष्ट्रवादी इच्छाराज भन्छन्- एक नम्बर मातृभूमि, दुइ नम्बर व्यापार । उनका निम्ति मुलुक नै सर्वोपरि हो । १० वर्षसम्म श्रम, बुद्धि र सम्पत्ति मुलुकका निम्ति खर्चेमा यसको कायापलट हुनेमा उनी ढुक्क छन् । हरेक नेपालीले आफूलाई राज्यको कमारो मानेर काम गर्नुपर्नेमा उनको जोड छ ।