शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''अर्जुनदृष्टि धार्मिक पर्यटनमा''
सुरज शाक्य, अध्यक्ष, ललितमण्डप ट्राभल्स एण्ड टूर्स

बौद्धधर्माबलम्बीहरूको 'मक्का' बुद्धजन्मस्थल नेपालमा धेरैभन्दा धेरै बौद्धमार्गी भित्र्याउने उनको योजना छ । १ अर्बको हाराहारीमा रहेका विश्वका बौद्धमार्गीमध्ये एक प्रतिशतलाई मात्र लुम्बिनी ल्याउन सके धार्मिक पर्यटन विस्तारमा नयाँ आयाम थपिने उनलाई लाग्छ । राष्ट्रिय ध्वजावाहकको गाईजात्रा जारी रहेसम्म पर्यटन प्रवर्द्धनको कल्पनासम्म पनि गर्न नसकिने अभिमत व्यक्त गर्ने उनी निजी प्रयासमा धार्मिक पर्यटकलाई नेपाल भित्र्याउन लागिपरेका छन् । 'प्लेन ल्याए पर्यटन फस्टाउँछ, सबै नेपालीले गरी खान पाउँछन्' नेपाल भ्रमण वर्षप्रारम्भ हुन २५ दिन बाँकी रहँदासमेत विमानको अत्तोपत्तो नभएकोमा खेद व्यक्त गर्छन्, ललितमण्डप ट्राभल्स एण्ड टूर्सका अध्यक्ष सुरज शाक्य । 'नेपाल सम्भावना नै सम्भावनाको मुलुक हो, कामको खोजीमा कोही भौतारिनु र विदेश जानु नपर्ने सम्भावना यहाँ छन्', उनी भन्छन् । तर, त्यसका लागि अपरिहार्य भएको शान्ति र राजनीतिक स्थायित्व सुदूर क्षितिजमा समेत नदेखिँदा उनी खिन्न छन् । 'नेपाल विश्वमा र्सवाधिक सुन्दर मुलुक हो, बन्द र द्वन्द्व यसलाई सुहाउँदैन' नेपाल हाम्रो हो र यो रहे हामी पनि रहन्छौं भन्ने भावनाबाट काम गर्नुपर्ने सुझाव दिँदै उनी भन्छन् । जिम्मेवारी र दायित्वबोधका साथ हरेक नागरिकले आफ्नो कर्तव्य पालना गरेमा देश बन्न बेर नलाग्ने उनको बुझाइ छ ।

'उत्कृष्ट यात्रा, उत्कृष्ट गन्तव्य'लाई मूलमन्त्र मानेर मुलुकको मुहार फेर्ने पर्यटन क्रान्तिको अभियानमा लागेका शाक्य असम्भव केही नभएको उल्लेख गर्छन् । सकारात्मक सोच र कार्यशैली भएमा गर्न नसकिने केही नभएको उनको ठम्याइ छ । मानवनिर्मित सौन्दर्य नियाल्न वर्षेनि १ करोड २५ लाख पर्यटक मलेसिया जाने गरेको बताउने उनी मनोरम प्राकृतिक छटाले भरिपूर्ण नेपाल हेर्न चाहने लाखौं पर्यटकलाई सजिलै आकर्षित गराउन सकिनेमा विश्वस्त छन्- आधारभूत पूर्वाधार एवम् स्तरीय होटल भने नभई नहुने उनलाई लाग्छ । साथै पर्याप्त प्रचार-प्रसारको अभावको अनुभव पनि उनले गरेका छन् ।

सन् १९९५ मा तीन जनाको साझेदारीमा रू.१२ लाख लगानी गरेर थालिएको ललितमण्डप अहिले शाक्यको एकलौटी भएको छ  । उनको मेहनतका कारण त्यसको पूँजी झण्डै १ करोड पुगेको छ । विदेश भ्रमण गर्न चाहने धनाढर्यवर्गलाई 'प्याकेज' मा विश्वभर घुमाउने उनको कम्पनीले अहिले उताबाट पनि पर्यटक ल्याउन थालेको छ । धार्मिक पर्यटनलाई नै उच्च महत्त्व र प्राथमिकता दिएका छन् उनले । विश्व बौद्ध युवा सङ्घको उपाध्यक्ष भएकाले पनि उनलाई बौद्धमार्गीलाई यता ल्याउन सहज भएको छ । भारत हुँदै सुनौलीबाट लुम्बिनी आउने पर्यटकलाई जसरी पनि नेपालमा एकदुइ दिन टिकाउन सरकारीस्तरमा आवश्यक प्रयास हुनु जरुरी भएको उनी बताउँछन् । विभागीय जिम्मेवारी दिएर कर्मचारीलाई काम लगाउने उनको सामूहिक एवम् समूहगत रूपमा काम गर्दा प्रभावकारी हुने विश्वास छ । बढी कुरा गर्ने र काम नगर्ने मान्छे उनलाई फिटिक्कै मन पर्दैन । जीवनमा धेरै गर्न बाँकी भएको बताउने उनलाई अहिलेसम्म उल्लेखनीय कार्य गरेजस्तो लाग्दैन । भ्रमण र यात्राका शोखिन भएर नै उनले 'ट्राभल' व्यवसाय थालेका हुन् । संसारका अतिविकसित मुलुकका १० वटा शहर हात समातेर घुमाइदिन सक्ने ठोकुवा गर्ने उनी यात्राबाट व्यवसायसँग सम्बन्धित धेरै ज्ञान हासिल हुने गरेको उल्लेख गर्छन्

'सम्यक् आजिविक' अर्थात् अरूलाई दुःख नदिई आनन्दपूर्वक बाँच भन्ने बुद्धको उपदेश मान्ने उनलाई पूजा गरेर भोग वा बलि दिएर केही प्राप्त हुन्छ भन्ने लाग्दैन । धर्ममा भन्दा कर्ममा ज्यादा विश्वास गर्ने उनी हरेक साता बौद्धगुम्बा जान्छन् र कहिलेकाहीँ श्रीमतीका साथ देवादिदेव महादेवको दर्शन गर्न पशुपति पनि पुग्छन् । एक छोराका पिता उनले व्यावसायिक व्यस्तताका कारण बीए पूरा गर्न सकेनन् । पढेरभन्दा परेर जानिन्छ भन्ने उनी अत्यन्त सरल र मृदुभाषी छन् । गरीब विद्यार्थीलाई विद्यालयमार्फत छात्रवृत्ति दिएर उनले धेरैलाई प्रवेशिका परीक्षा पार गराएका छन् भन् अहिले पनि उनको प्रायोजनमा ५-७ जनाले पढाइको अवसर पाइरहेका छन् । सामाजिक काममा औधी रुचि भएका उनले ललितमण्डप वेलफेयर सोसाइटी स्थापना गरेर दीनहीनको सेवा गरिरहेका छन् ।