''प्रतिबद्धता वित्तीय क्षेत्र सुधारको'' - महाप्रसाद अधिकारी
डेपुटी गभर्नर
नेपाल राष्ट्र बैङ्क
कानून पढ्न राजविराजतिर हिँडेको अल्लारे ठिटोको गतव्य एकाएक बाटोमा नै बदलियो । र, ऊ ख्यालख्यालमा नेपाल खाल्डो आइपुग्यो । राजविराजतिर नै अल्मलिएको भए बढीमा उसले जिल्ला न्यायाधीश वा सरकारी वकिल वा कानूनव्यवसायीका रूपमा आफ्नो परिचय बनाउँथ्यो होला तर उसको काठमाडौं आगमनले अन्ततः केन्द्रीय बैङ्कको डेपुटी गभर्नर बनाएरै छाडयो । कुरा २०३९ साल तिरको हो । प्रवेशिका परीक्षा सकेर घरमा नै बसेका महाप्रसाद अधिकारीलाई खोज्दै उनी पढेको विद्यालयका शिक्षक पुगे- खोटाङको सिम्पानी गाउँ उनलाई अध्यापनका निम्ति अनुबन्ध गर्न । औसत विद्यार्थीभन्दा निक्कै माथि रहेका प्रतिभाशाली उनलाई पनि फुर्सदको समयमा गाउँमा माष्टरी गर्नु श्रेयस्कर लाग्यो । र, लागे त्यतैतिर । प्रवेशिका परीक्षा उत्तीर्ण हुनेबित्तिकै विद्यालयलाई कुनै जनाकारी नदिई कुलेलम ठोकेका उनले राजधानीमा कैयौं उतारचढावको सामना गर्नुपर्यो । चुनौती र संघर्षमा रमाउने अनि मेहनत गरेर नथाक्ने बानीले महाप्रसादलाई साच्चै महान् बनायो- त्यसै भन्छन् राष्ट्र बैङ्कका पुराना कर्मचारी ।
विसं २०४० मा काठमाडौं आएका अधिकारीले पाटनको नमूना मच्छिन्द्र कलेजबाट आईकम र शङ्करदेव क्याम्पसबाट बीकम गरेका हुन् । २०४२ साल वैशाखमा प्रतिस्पर्धाबाट सहायकस्तरको कर्मचारीका रूपमा राष्ट्र बैङ्क प्रवेश गरेका उनले त्यसबेला डेपुटी गभर्नर बन्ने कुरा सपनामा पनि सोचेका थिएनन् । उनको पहिलो पोष्टिङ वित्त व्यवस्थापन विभागमा भएको थियो । विविध कारणले स्नातकोत्तर गर्न नसकेका उनले त्यो भन्दा ठूलो व्यावसायिक उपाधि हासिल गरे- भारतबाट सीए कोर्स गरेर । काममा विश्वास गर्ने उनी त्यसैलाई प्रगतिको आधारशीला मान्छन् । पारदर्शिता, जवाफदेहिता र जिम्मेवारी उनका व्यवस्थापन मन्त्र हुन् । इमानदारीपूर्वक काम गर्न कर्मचारीलाई अभिप्रेरित गर्ने उनी आफूले नै दृष्टान्त प्रस्तुत गर्नुपर्ने बताउँछन् । भन्छन्- 'कसैलाई यो वा त्यो गर भन्नुभन्दा आफैले 'रोल मोडेल' बनेर देखाउनुपर्छ । ' बेइमानहरूसँग काम गर्न उनलाई फिटिक्कै मन लाग्दैन । राष्ट्र बैङ्कमा रहँदा उनले कहिल्यै बाहिर काम गरेनन्- धन कमाउने लोभमा परेर । कुस्त कमाउने प्रशस्त सम्भावना र अवसरलाई उनले वास्तै गरेनन्- राष्ट्र बैङ्ककै कामप्रति समर्पित भएर ।
छुट्टी मनाउने सिलसिलामा हाल इजिप्टमा रहेका सिटिजन्स् बैङ्क इण्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी डेपुटी गभर्नर अधिकारीलाई विषयगत ज्ञान भएको असल स्वभावको मान्छेका रूपमा चित्रण गर्छन् । उनको कार्यसम्पादन तथा व्यवस्थापनशैलीबाट प्रभावित भण्डारी वित्तिय क्षेत्रको सुधार एवम् सुदृढीकरणमा योगदान हुनेमा विश्वस्त छन् । उनका लागि विनयशीलतला र कामप्रतिको समर्पण अधिकारीका सकारात्मक पक्ष हुन् । अधिकारीका अँध्यारा पाटाहरू आफूलाई सम्झना नभएको उनी उल्लेख गर्छन् ।
आफूलाई शून्यबाट उठेको व्यक्ति भन्न रुचाउने अधिकारीले विगत ११ वर्षदेखि गभर्नर र डेपुटी गभर्नरसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरेका हुन् । त्यस अवधिमा उनलाई कहिल्यै असहज परिस्थितिको सामाना गर्नु परेन । 'व्यावसायिकता र विषयगत दक्षता'का कारण त्यस्तो अवस्था सृजना नभएको उनको ठम्याइ छ । आफूमाथि कसैले औला नठड्याएकोमा उनलाई गौरव छ । त्यसो त टाटपल्टन लागेको नेपाल-बङ्गलादेश बैङ्कलाई उकासेर प्रशंसनीय कार्य गरिसकेका छन्- जसलाई उनी जीवनको एउटा उपलब्धिका रूपमा स्वीकार गर्छन् । डेपुटी गभर्नर हुनु त उनको अहोभाग्य हो । उनले चाहेको कुरा प्राप्त गरेका छन् । 'अति महत्त्वाकाङ्क्षा नभएर पनि होला चाहेको कुरा पाएको छु,' चाहना के हो त्यो नखुलाए पनि आफू सधैँ सफल भएको उनी सुनाउँछन् ।
प्रत्येक नागरिकले आफ्नो कर्तव्य र जिम्मेवारी इमानपूर्वक निर्वाह गरेमा देशको आर्थिक विकासले फड्को मार्न बेर नलाग्ने अधिकारीको ठम्याइ छ । मुलुकको वित्तीय प्रणालीलाई स्वस्थ राख्न आफू प्रतिबद्ध रहेको उनी बताउँछन् । २०२० सालमा जन्मेका उनका दुइ सन्तान छन्- छोरा र छोरी । घर नै अस्तव्यस्त पारेर महिलाहरू काममा निस्कन नहुने उनलाई लाग्छ । उनकी जीवनसँगिनी एक कुशल गृहिणी हुन् । मुलुकमा संस्थागत सुशासन र संस्कारको विकासले क्रमशः जरा गाडेको बताउने उनी ईश्वरमा गरिने विश्वासलाई आफ्नो संस्कार मान्छन् ।