सामाजिक उद्यमशीलता
शरण उत्सुक सापकोटा
अध्यक्ष, नुवाकोट उद्योग वाणिज्य सङ्घ
प्राय: मानिसको चाहना गाउँ छोडेर शहर बस्ने हुन्छ । तर, उनी यस्ता मानिस हुन्, जसले राजधानीमा भएको सम्पत्ति र व्यवसाय बेचेर गाउँमै फर्किन चाहे । आफ्नै थातथलोमा फर्किएर गाउँलेलाई उद्यमशील बनाउन नयाँ-नयाँ सम्भावनाको खोजी गरे । पर्याप्त स्रोतसाधन हुँदा पनि त्यसलाई उपभोग गर्न नजानेका नुवाकोटका जनतालाई आत्मनिर्भर बनाउन सिकाउने व्यक्तित्व हुन्- शरण उत्सुक सापकोटा । मुलुकमा थोरै मात्रै भए पनि एउटा यस्तो समूह छ, जसले आफूसँगै समाजलाई पनि उद्यमशील बन्न सिकाइरहेको छ । यस्तै समूहभित्र पर्छन् उनी । कृषिलाई हेय दृष्टिले हेर्ने नेपाली युवावर्गमा यस क्षेत्रप्रति सकारात्मक सोच राखी काम गर्न प्रेरणा प्रदान गरेका छन् उनले । उनकै प्रेरणाले अहिले नुवाकोट जिल्लाले रेन्बो ट्राउट माछाका लागि प्रसिद्धि कमाइसकेको छ ।
उनलाई नुवाकोटको तीव्र व्यावसायिक विकासको अभियन्ताभन्दा अत्युक्ति हुँदैन । युवावस्थादेखि नै व्यापारमा लागेका उनले अहिले धेरै क्षेत्रमा हात हालेका छन्, सञ्चार, कृषि, व्यापार, बैङ्किङ, राजनीति तथा शैक्षिक क्षेत्र ।बाल्यावस्थामा उनी एकान्तप्रिय र भावुक थिए । घना जङ्गलमा जनावर हेर्दै रमाउने उनले प्रकृतिसँग सम्बन्धित विषय पढ्ने सोच बनाए । तर, उनका बुबाको चाहना वकिल बनाउने थियो । 'यसैलाई लिएर बुबा र मबीच विवाद पनि भयो,' उनी विगत स्मरण गर्दै भन्छन्, 'वनविज्ञान क्याम्पसमा नाम निकालेर पनि पढ्न गइनँ ।' रोजेको विषय पढ्न नपाएपछि राजधानीको पिपुल्स क्याम्पसमा नेपाली लिएर पढे । र, बुबाको मन राख्दिनलाई कानून पनि पढे ।
त्यही सिलसिलामा पढ्न पठाएको पैसा जोगाएर ३० हजार लगानीमा गल्कोपाखामा पुस्तक तथा स्टेशनरी पसल खोले । यसबाट नाफा पनि कमाए । त्यही नाफाको रकमबाट बालाजुमा घर बनाए । पसल भाइलाई जिम्मा लगाएर पत्रकारितामा होमिए । शीघ्र निर्णयक्षमताका उनले एक्कासि आफ्नै गाउँठाउँमा गएर केही गर्न सोच बनाए । 'राजधानीमा गर्ने व्यवसाय जिल्लामै गर्दा पहिचान त बन्ला भन्ने लाग्यो,' सापकोटा भन्छन्, 'त्यसपछि म राजधानीको घरपसल बेचेर विदुर पुगेँ ।' ६ लाख लगानीबाट उत्सुक जनरल सप्लायसको आरम्भ गरे । व्यवसायको सम्भावना पहिचान गरी उनले फोटोकपी, फ्याक्स, टेलिफोनलगायतका व्यवसाय सञ्चालन गरे । केही उत्साही युवालाई साथ लिई त्रिशूली प्रवाह नामक पत्रिका चलाए । 'नुवाकोटमा पत्रपत्रिका अध्ययन गर्ने जमात बढाएको मैले हो,' उनी गर्व गर्दै भन्छन् । अहिले त्यस पत्रिकामा ६ जनालाई र सप्लायर्समा ७ जनालाई रोजगारी दिइरहेका छन् । आफ्नो कम्पनीबाट मात्रै वार्षिक रू.३५ लाखसम्मको कारोबार हुने गरेको उनी बताउँछन् ।
२०६२ सालमा उद्योग वाणिज्य सङ्घ नुवाकोटको अध्यक्ष चुनिएपछि सापकोटाले जिल्लाका सामान्य व्यवसायी तथा कृषकलाई व्यावसायिक क्षेत्रमा नयाँ जीवन सञ्चरण गराइदिए । किसानहरूलाई उत्पादन वृद्धिका लागि बैङ्क ऋणको सरल व्यवस्था गर्न समन्वयात्मक भूमिका निर्वाह गरे । व्यक्ति-व्यक्तिमा सीमित नेपाली कृषिलाई नुवाकोटमा सरकारी-निजीक्षेत्रबीच साझेदारीको शुरुआत गराए । राजधानीछेउमा भएर पनि प्रचारमा आउन नसकेका थुप्रै सम्भावनालाई महोत्सवमार्फत बाहिर ल्याए । 'नुवाकोट चिनाउने प्रयास गर्यौं,' उनी भन्छन्, 'यसले संस्कृति र पहिचान मात्रै होइन, बजार सम्पर्क पनि प्रवर्द्धन गर्न सहयोग पुग्यो ।'
नुवाकोट कृषि उत्पादन, पशुपालन, पोल्टी फर्म र रेन्बो ट्राउट माछाका लागि निकै सम्भाव्यना बोकेको जिल्ला हो भन्छन् उनी । चितवनपछि पोल्टी फार्म धेरै भएको जिल्ला हो नुवाकोट । यहाँ विद्युत् उत्पादन, पाइप, क्रसरलगायतका उद्योग स्थापना हुँदै गएका छन् । उनी सधैं ठूला लगानीकर्तालाई 'यहाँ लगानी गर्न आउनुहोस्, स्थानीय तहमा के सहयोग गर्नुपर्छ गरौँला' भन्छन् । १ हजार व्यवसायी सदस्य भएको सङ्घमा जनताका लागि विभिन्न कार्यक्रम सञ्चालनमा छन् । सापकोटाकै संयोजकत्वमा इलम प्रशिक्षण केन्द्र छ । यसले स्थानीयलाई विभिन्न प्राविधिक तालीम दिने गर्छ । 'एक गाउँ एक उत्पादन' नाराका साथ सरकारी-निजी साझेदारी अवधारणा कार्यक्रमअन्तर्गत रेन्बो ट्राउट माछापालन कार्यक्रम सञ्चालित छ यहाँ । 'अहिले नुवाकोटमा खोलामा होइन, डाँडाकाँडामा माछा उत्पादन हुन्छन्,' उनी भन्छन् । यस क्षेत्रमा मात्रै करीब ४० जना व्यवसायी संलग्न रहेको उनको बुझाइ छ ।
उनको नेतृत्वको व्यावसायिक समूहले हाम्रो विकास बैङ्क, नुवाकोट एफएम र एकीकृत कृषि विकास कम्पनी स्थापना गरेको छ । इमानदारी र लगनशीलतालाई व्यावसायिक मन्त्र ठान्ने उनी नुवाकोटलाई उद्योगीहरूको जिल्ला बनाउन कृतसङ्कल्प छन् । 'मेहनतले नै ३० हजारबाट शुरू भएको व्यवसाय ३ करोडको बनाउन सघाएको छ,' उनी भन्छन् । ईश्वरमा विश्वास गर्ने उनी मूर्तिपूजा गर्दिनँ भन्छन् । व्यक्तिगत सफलताको श्रेय साथीभाइलाई दिन्छन् । जीवनसाथीको महत्त्वपूर्ण साथ रहेकाले पनि व्यवसायमा सहयोग पुगेको बताउँछन् उनी । फुसदमा प्रेरक व्यक्तिको जीवनी पढ्ने उनी कृषिमा लगानी बढाउनुपर्छ भन्छन् ।
Admin 2011-08-05