शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

दर्शनशास्त्रप्रति झुकाव
रमेशकुमार सिलवाल
प्रमुख कार्यकारी अधिकृत
गोल्डेनगेट इण्टरनेशनल कलेज


योजनाबद्ध काम र सबैको विश्वासले नै आफूलाई शैक्षिक क्षेत्रमा हरपल स्थापित हुन सहयोग पुर्याएको बताउँछन् रमेशकुमार सिलवाल । स्थापनाको ५ वर्षै उनको अगुवाइमा स्थापित गोल्डेनगेट इण्टरनेशनल कलेज उत्कृष्ट शिक्षण संस्थाहरूको सूचीमा छ । निजीक्षेत्रमा उच्चमावि (प्लस टु) देखि स्नातकोत्तर तहसम्म अध्यापन गराइने उनको संस्थाले सङ्ख्यात्मक मात्र नभई गुणात्मक रूपमा पनि फड्को मारिरहेको ठहर गर्दै सिलवाल भन्छन्, 'यो सबै इमानदारी, लगनशीलता र निरन्तर विश्वासको परिणाम हो ।' त्रिभुवन विश्वविद्यालयपछि सङ्ख्याका हिसाबले धेरै विद्यार्थी र विषयहरूको अध्यापन आफ्नो संस्थाले गरिरहेको सिलवालको दाबी छ । उनको संस्थाले स्नातक तहमा १३ र स्नातकोत्तरमा ७ विषयमा अध्यापन गराउँदै आएको छ । अहिले त्यही संस्थाको प्रमुख कार्यकारी अधिकृत भएर नेतृत्व गरिरहेका छन् सिलवाल ।

नेपालमा एउटा 'एकेडेमिक क्लब' को रूपमा उनले गोल्डेनगेटलाई विकास गर्न चाहिरहेका छन् । अबको ५ वर्षमा उनले विश्वविद्यालयका रूपमा संस्थालाई खडा गर्ने प्रण गरेका छन् । 'त्यही गतिका साथ मैले संस्थालाई नेतृत्व गरिरहेको छु,' उनी भन्छन् । विश्वविद्यालय स्थापनाको धोको पूरा भएपछि उनी शैक्षिक क्षेत्रमा देखिने छैनन् । उनी एउटा दर्शनशास्त्रमा कलम चलाउने लेखकको पहिचानमा देखिने छन् । ४२ वर्षअघि धादिङको बेनीघाटमा जन्मेका सिलवालको योजना यस्तै छ । 'आजीवन एउटै संस्थामा बस्नुहन्न भन्ने मेरो मान्यता छ,' उनी भन्छन्, 'त्यसैले ५ वर्षपछि म लेखकको पहिचानमा हुनेछु ।'

विद्यार्थी हुँदा कक्षामा उनी कहिल्यै दोस्रो भएनन् । बाल्यकालदेखि नै पढाइमा उत्कृष्ट सिलवालको शोख आफैले विश्वविद्यालय स्थापना गर्ने र प्राध्यापन गर्ने थियो । उनले पाटन हाईस्कूलबाट एसएलसी गरेपछि त्रि-चन्द्र क्याम्पसबाट विज्ञानमा स्नातक र त्रिवि केन्द्रीय क्याम्पसबाट स्नातकोत्तर गरे । त्यसलगत्तै त्रिविमा प्राध्यापन गर्न थाले । उनी अहिले सह-प्राध्यापकका रूपमा कार्यरत छन् । शिक्षण संस्था स्थापना गर्न सिलवालको धोको २०५८ सालमा पूरा भयो । उनीसहित शिक्षाक्षेत्रका ११ जना मिलेर ⋲वाइट हाउस कलेज स्थापना गरे । तर, केही समयमै सो कलेजबाट उनी आफ्नो स्वामित्वसहित बाहिरिए । 'मेरा केही मान्यता थिए, त्यसैले म त्यहाँबाट बाहिरिएँ,' कलेजबाट बाहिरिनुको कारण भने । २०६३ सालमा ५० जना प्राध्यापकलाई साथ लिएर रू. ५ करोड लगानीमा गोल्डेनगेट कलेजको स्थापना गरेका हुन् उनले । छोटो अवधिमा विश्वास प्राप्त गरेकै कारण हाल कलेजले अहिले रू. ३५ करोडको पूर्वाधार निर्माण गरिसकेको उनको दाबी छ । 'हाम्रो अपेक्षा गरेअनुसार नै सबै काम भइरहेको छ' सिलवाल भन्छन् । अहिले उनको संस्थामा ४ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । शिक्षक र कर्मचारी गरी ६ सय ७३ ले रोजगारी पाएका छन् । पिठयूँमा किताबको झोला बोकेर राजधानी भित्रिएका सिलवालको हैसियत हाल राम्रै हुनेखानेमा पर्छ । 'यो सबै मेरो मेहनतको परिणाम हो,' उनी भन्छन् । उनको प्राज्ञिक र व्यावसायिक अनुभवले सिकेको कुरा हो 'संस्था सफल हुन सबै इमानदार हुनुपर्छ ।'

उनी अनुशासित, जिज्ञासु र सृजनात्मक कला भएका विद्यार्थीलाई पढाउन रुचाउँछन् । सिलवाल हालसम्म आफूले पढाएका विद्यार्थीमध्ये स्वच्छन्द सोङमेनलाई सम्भिmरहन्छन् । २०५८ सालको एसएलसीमा सर्वोत्कृष्ट सोङमेनको मेहनतबाट सिलवाल प्रभावित छन् । शिक्षाक्षेत्रलाई उनी दाँतसँग तुलना गर्न रूचाउँछन् । 'दाँत एक दिन माझिएन भने गन्हाउँछ,' उनी भन्छन्, 'यदि कलेजमा एक दिन मात्रै पनि ध्यान दिइएन भने त्यसले कति असर पार्छ टुङ्गो हुँदैन ।' ब्रोसरमा जे लेखिएको छ, त्यहीअनुसार विद्यार्थीलाई सेवा दिइरहेको सिलवाल बताउँछन् । शिक्षाक्षेत्रमा निजी लगानीले विदेशिने जनशक्तिलाई रोकेको उनको दाबी छ । 'हामीले प्लस टुबाट मात्रै १५ अर्ब रकम विदेशिनबाट रोकेका छौं' उनले भने । उनले दर्जनौं गरीब र असहाय विद्यार्थीलाई नि:शुल्क पढाइदिएका छन् ।

फुसदमा दर्शनसम्बन्धी पुस्तकहरू पढ्न रूचाउने सिलवाल राजनीति र समाजसेवामा पनि सक्रिय छन् । बाल्यकालदेखि नै वामआन्दोलनबाट प्रभावित उनी मदन भण्डारीलाई आदर्श नेता मान्छन् । आम्दानीको १० प्रतिशत उनले समाजसेवामा लगाउने गरेका छन् । उनी मदन भण्डारी स्पोटस एकेडेमीलगायत ४५ संस्थामा सहभागी छन् । प्लस टुको भर्नाको चापले बिहान ७ देखि राति १२ बजेसम्म उनी कलेजमै रहन्छन् । भगवान्प्रति विश्वास छैन, तर अरूको आस्थामा चोट पुर्याउँदैनन् । उनी भन्छन्, 'म यहाँसम्म आउन घरपरिवार र मार्क्सवादी विचार राख्ने मान्छेहरूको सहयोगका कारण सम्भव भयो ।'

Admin 2011-07-05