शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''स्वतन्त्रतामा विश्वास'' - सुदेश गौतम क्षेत्री
 निर्देशक
एभरेष्ट पानारोमा रिसोर्ट, दामन
'काममा स्वतन्त्रता’लाई आफ्नो व्यवस्थापन मन्त्र मान्ने उनले त्यसलाई व्यवहारमा पनि उतारेका छन् । व्यावसायिक स्वतन्त्रतामा रमाउन उनले एउटा अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीको नेपाल प्रमुखको जागीरलाई समेत त्यागे । 'विदेशीको कामप्रतिको अनावश्यक दबाब मलाई स्वीकार्य भएन,’ उनी भन्छन् । 'मेरै योजनामा कम्पनीले अपेक्षाभन्दा बढी सफलता पाउँदा पनि त्यसको श्रेय आफूले नपाएपछि मैले जागीर नै गर्न चाहिनँ,’ उनी भन्छन् । अहिले उनी आफ्नै लगानी र संयुक्त व्यवसायका पाँचओटा कम्पनीको नेतृत्व गरिरहेका छन् । आफू मातहतका ६० भन्दा बढी कर्मचारीसँग उनी व्यावसायिक सम्बन्ध मात्र राख्दैनन्, उनीहरूको योगदानको खुलेर जस दिन पनि कञ्जुस्याइँ गर्दैनन् । कर्मचारीबाट उपयुक्त काम लिन उनीहरूलाई दिइने दबाबभन्दा स्वतन्त्रता प्रभावकारी हुने उनको धारणा छ । अहिलेको विश्वमा कर्मचारीलाई आवश्यक सुविधा र स्वतन्त्रता दिन नसक्ने हो भने कुनै पनि संस्था सफल नहुने उनको विश्वास छ । स्वतन्त्रतासँगै जिम्मेवारीबोध गराउन सक्ने नेतृत्व क्षमता भएमा संस्थामा सबै कार्य सहज रूपमा सम्पन्न हुने उनको अनुभव छ ।

काठमाडौंको नागपोखरीमा रहेको कार्यालयबाट उनी काठमाडौंकै विभिन्न पाँचओटा ठाउँमा रहेका कार्यालयको सफलतापूर्वक अनुगमन गर्छन् । यसका लागि ती पाँचओटै कार्यालयका एक/एक प्रतिनिधि कर्मचारी नागपोखरी कार्यालयमा रहेर कार्य गर्छन् । आवश्यकताअनुसार उनले कर्मचारी परिचालन गर्छन् र काम निप्टयाउँछन् । यसले धेरैतिर पुग्नु नपर्ने र काममा केन्द्रित हुन पाउने उनको अनुभव छ । सन् २००१ मा सिङ्गापुर एयरलाइन्समा असिष्टेण्ट सेल्स म्यानेजरबाट जागीरे जीवन प्रारम्भ गरेका क्षेत्रीले थुप्रै आरोह अवरोहको सामाना गरेका छन् । 'आज म जहाँ छु, त्यसको श्रेय मेरो जागीरे जीवनमा मैले सिकेको शीप  र त्यहाँको अनुभव लाई दिन्छु,’ उनी भन्छन् । उनले काठमाडौँको ल्याब स्कूलबाट विद्यालय शिक्षा र अमृत साइन्स क्याम्पसबाट विज्ञानमा प्रमाणपत्र तह पूरा गरेका छन् । अर्थशास्त्रमा स्नातक गरेका क्षेत्रीले स्नातकोत्तर भने अङ्गे्रजी साहित्यमा गरेका छन् ।

एभरेष्ट पानारोमा रिसोर्ट दामनका निर्देशक क्षेत्री अहिले पारिवारिक व्यवसायलाई आधुनिकीकरण र समयसापेक्ष बनाउन तल्लीन छन् । स्थापनाको १८ वर्षभइसकेको रिसोर्टमा क्षेत्रीले अघिल्लो वर्षदेखि व्यवस्थापन जिम्मा लिएका हुन् । दामन-पालुङ क्षेत्रकै सबैभन्दा ठूलो र सुविधासम्पन्न यो रिसोर्टमा अहिले आन्तरिक पर्यटक भित्र्याउने अभियानमा छन् उनी । केही समयअघि उनले नेपालीका लागि विसं २०६८ को प्रथम ३ महीनाका लागि 'रू.२,०६८' को प्याकेज घोषणा गरे । यसले रिसोर्टमा नेपालीको आकर्षण बढेको उनले बताए । त्यस्तै नेपालमा आधुनिक भान्छा निर्माणमा अग्रणी 'बेटर होम्स’समेत उनकै नेतृत्वमा छ । पारिवारिक व्यवसायकै रूपमा रहेको यो कम्पनीले पनि राम्रो व्यवसाय गरिरहेको छ ।

उनी आफ्नो रुचि र बजारमा भएको अवसरलाई हेरेर व्यवसाय गर्नुपर्छ भन्छन् । यसैले उनले उच्च वर्गलाई लक्ष्य गरेर बीएचआई ट्रेडिङ कम्पनीको स्थापना गरे । यो कम्पनीले अहिले घरमै साउना, ज्याकुजी राख्न चाहनेहरूका लागि सेवा दिँदै आएको छ । उनको रुचि र बजारको मागले पनि उनलाई फरकफरक क्षेत्रमा लाग्न उत्प्रेरित गर्ने गरेको उनी बताउँछन् । यसै भएर होला उनले अघिल्लो वर्षसंयुक्त लगानीमा 'ट्राफिक गाइजर’ नामको सफ्टवेयर डेभलपमेण्ट कम्पनी स्थापना गरे । अहिले यो कम्पनीमा उनी प्रमुख कार्यकारी अधिकृत छन् । नेपालमा सफ्टवेयर डेभलपमेण्ट गर्न सक्ने दक्ष जनशक्ति रहेको देखेर अमेरिकी कम्पनीको सहकार्यमा गाइजरको स्थापना गरेको उनी बताउँछन् । विदेश भ्रमणमा रुचि राख्ने क्षेत्रीले एशिया, अमेरिका र यूरोपका २० भन्दा बढी देशको भ्रमण गरिसकेका छन् ।

त्यस्तै अर्को संस्था प्राइड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा पनि उनी संलग्न छन् । यो संस्था पर्यटन क्षेत्रमा लागेकाहरू मात्रको सहकार्यमा स्थापना भएको उनी बताउँछन् । यति धेरै कम्पनीको नेतृत्व तहमा रहेर दैनिक १० घण्टा खट्दा पनि उनी थकान महसूस गर्दैनन् । 'कामलाई बोझका रूपमा लियो भने मात्र थकाइ लाग्छ, स्वतन्त्र भएर काम गर्दा भने दिनहुँ नयाँ ऊर्जा प्राप्त हुन्छ,’ उनी भन्छन् । जीवनको ४४ वसन्त पार गरिसकेका क्षेत्री मुश्किलले तीसको वयका देखिन्छन् । 'बिहान ५ बजेर ३० मिनेटमा उठेर हरेक दिन ६ बजेदेखि २ घण्टा जिममा बिताउँछु,’ उनी यसको रहस्य खोल्छन्  ।

एक छोराका पिता क्षत्री फुसदमा परिवार र साथीभाइसँग समय बिताउन रुचाउँछन् । रमाइलो गर्न रुचाउने उनी सबैसँग समान व्यवहार गर्ने कुरामा विशेष ध्यान दिन्छन् । जीवनमा पीरचिन्ता नलिने र जस्तोसुकै समस्या आइपरे पनि सामना गर्न सक्ने आफूमा खुबी भएको उनी बताउँछन् । राजनीतिमा चासो नराख्ने उनी देशका राजनीतिक नेतृत्वले जनताको चाहना र आवश्यकतालाई बुझ्नुपर्ने भने सुझाउँछन् । 'जनतासँग कर लिने मात्र होइन, जनतालाई त्यसको रिटर्न पनि दिनुपर्छ,’ उनी भन्छन् ।

Admin 2011-05-04