''भक्ति गणपतिको'' - आश्मीराज्यलक्ष्मी राणा
प्रबन्ध निर्देशक, हिमालय पश्मिना
वक्रतुण्ड महाकाय कोटीसूर्य समप्रभ ।
निर्विध्नम् कुरुमे देव सवकार्येषु सर्वदा ।।
राजधानीको सोल्टीमोडस्थित चिटिक्क परेको भवनमा रहेको उनको कार्यकक्ष विध्नहर्ता गणेशका विविध भावभङ्गीका ४ सयभन्दा बढी लोभलाग्दा मूर्तिले गणपतिमय छ । गणपतिकी भक्तिनी उनले गणेशका १ सय ८ ओटा प्रतिमा जम्मा गर्ने लक्ष्यका साथ अभियान थालेकी थिइन् । तर, कामको सिलसिलामा हरेक महीना कम्तीमा पनि १० दिन घरबाहिर रहँदा बजारमा भेटिने गणेशको नयाँ मूर्ति किन्न छाडेकी छैनन् । नेपालको वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोतमध्येको एक पश्मिनाको अन्तराष्ट्रिय बजार प्रवर्द्धनमा उनको योगदान सराहनीय छ । हिमालय पश्मिनाकी प्रबन्ध निर्देशक आश्मीराज्यलक्ष्मी राणाको 'बिजनेश कार्ड'को सिरानमा 'सिद्धि' लेखिएको छ । र, सिद्धिविनायकबाट वरदान पाएजस्तो ज्ञानसिद्धिले सुखमय बनाएको छ उनको जीवनलाई । भन्छिन्- शिक्षाले सोच्ने शक्ति परिवर्तन गर्छ ।
ज्ञानगङ्गामा गोतामार्न पाएकोमा दङ्ग छिन् आश्मी । र, त्यो अवसर दिने मातापिताप्रति शब्दमा कृतज्ञता प्रकट गर्न सक्दिनन् । ज्ञानोदय बालवाटिका विद्यालय, मोर्डन इण्डियन स्कूल हुँदै बेलायतको युनिभसिटी अफ साउथहाम्पटनमा व्यापार व्यवस्थापनमा स्नातकोत्तर गरेपछि पनि विश्राम दिइनन् उनले अध्ययन यात्रालाई । सबैको स्वप्नभूमि अमेरिकाको हार्वर्ड केनेडी स्कूलबाट समेत ग्लोबल लिडरशिप एण्ड पब्लिक पोलिसीमा डिप्लोमा गरेकी छन् उनले । मुलुककी प्रतिष्ठित उद्यमी उनी 'थाहा' अभियानकी अभियन्ता रूपचन्द्र विष्टकी भतिजी पनि हुन् । उनलाई महिला विकास र सशक्तीकरणको माध्यम शिक्षाबाहेक केही होइन भन्ने लाग्छ । बालिका शिक्षाको पैरवीमा पछि नपर्ने उनले उनीहरूको उन्नयनका निम्ति अनेकौं कार्य गरेकी छन् । 'वी फर वुमन' नामक गैरसरकारी संस्थाकी अध्यक्षसमेत रहेकी उनी भविष्यका योजना र प्राथमिकता निर्धारण गरेर अघि बढ्नुपर्नेमा जोड दिन्छिन् ।
उच्च शिक्षाका निम्ति बिरानोभूमि बेलायत जाँदाको क्षण आश्मी कहिल्यै बिसन्नन् । त्यहाँ पुगेको ६ महीनासम्म घरपरिवारको सम्झनाले सताउँदा आफूले आफैसँग गरेको संघर्ष कुनै युद्धभन्दा कम थिएन उनका लागि । जस्तोसुकै चुनौतीको सहज रूपमा सामना गर्नुपर्ने उनको मान्यता छ । हरेक दिन चुनौतीपूर्ण हुने र त्यसलाई उपलब्धिपूर्ण बनाउनुपर्ने उनको अभिमत छ । पूर्वयोजना बनाएर कार्यसम्पादन गर्छिन् उनी । कठोर परिश्रम उनको सफलता सूत्र हो । समूहगत कार्यमा विश्वास गर्ने उनी मातहतका कर्मचारीलाई परिणाममुखी हुन अभिप्रेरित गर्छिन् । कुनै पनि कर्मचारीलाई भेदभाव नगर्नु उनको विशेषता हो । 'बहुजन हिताय' उनको आदर्श हो । ठग्ने र झूटो बोल्नेसँग व्यवहार गर्न उनलाई पटक्कै मन लाग्दैन । पिता जनक विष्ट र पति उमङ्ग शमशेरको साथ, सहयोग र समर्थनले आफूलाई आजको अवस्थामा पुर्याएको उनको कथन छ । अमेरिकी नागरिक ज्याकलिन कोसेकोफका सुझाव-सल्लाहको सम्मिश्रण पनि उनको सफलताको माध्यम हो । असफलताबाट सिक्नुपर्छ भन्छिन् उनी ।
नेपाली समाजको चौतर्फी विकासका लागि आश्मीले निर्वाह गरेको भूमिकको सराहना गर्दै वर्ल्ड इकोनमिक फोरमले सन् २००८ मा योङ ग्लोबल लीडर सम्मानबाट अभिनन्दन गरेको थियो । यो अन्तरराष्ट्रिय सम्मान पाउने उनी पहिलो नेपाली हुन् । 'कर्मण्येवाधिकारास्ते माफलेषु कदाचन' अर्थात् फलको आश नगरी कर्ममात्र गर्ने कृष्णवचनलाई उनी व्यावहारिक जीवनमा अक्षरशः अनुवाद गर्छिन् । उनले कुनै पनि स्वदेशी सम्मान ग्रहणको अवसर पाएकी छैनन् । तर, कर्मवीर उनलाई यस्ता विषय झीनामसिना लाग्छन् । र, रत्तिभर गुनासो गर्दिनन् । मनोनयनमा विश्वास पनि गर्दिनन् उनी । हालै योङ ग्लोबल लीडर सम्मान पाएका दोस्रो नेपाली आशुतोष तिवारी आश्मीलाई तथ्य विश्लेषणभन्दा पनि भावना बुझेर निर्णयगर्ने व्यवसायीका रूपमा चित्रित गर्छन् । अर्काका कुरा सुन्ने र विश्वासिलो व्यक्तिले दिएको 'प्रतिक्रिया' सहजै ग्रहण गर्ने उनको बानी उल्लेखनीय लाग्छ आशुतोषलाई ।
हिमालयन बैङ्कमा केही समय काम गरेकी आश्मीले बैङ्क तथा वित्तीय संस्थाका साथै शैक्षिक क्षेत्र र घरजग्गामा लगानी गरेकी छन् । शिक्षा र स्वास्थ्यक्षेत्रको विकासबाटै राष्ट्रको समृद्धि सुनिश्चित हुन्छ भन्ने यी दुई क्षेत्रमा आक्रामक रूपमा लाग्ने उनी बताउँछिन् । व्यवसायीभन्दा पनि समाजसेवीका रूपमा उनको पहिचान स्थापित भएको छ नेपाली समाजमा । ईश्वरमा अगाध आस्था भएकी उनी गणेश चतुर्थी, जीवनसाथी उमङ्ग वा छोराको जन्मदिनमा परमेश्वरप्रति आभार व्यक्त गर्न मन्दिर जान्छिन् । संस्थागत संस्कृति विस्तारै बामे सन थालेको उनको बुझाइ छ । आफू बसेको समाजको बृहत्तर हितका लागि हरेक संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्नुपर्नेमा उनको जोड छ । महिला सशक्तीकरण र बालिका शिक्षाका लागि सक्दो सहयोग गर्ने र त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै जीवनका रङ्हरू स्तम्भसँगको संवादलाई बिट मार्छिन् उनी ।
Admin 2011-04-04