शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सम्भावनाहरूका अन्वेषक

स्याली अल्सुलर
पूर्वउपाध्यक्ष, डेनिश राइटर्स एशोसिएशन


उनी साहित्य र आर्थिक विकासलाई अन्तरसम्बन्धित मान्छन्, जुन अन्य धेरै लेखक तथा विश्लेषकको भन्दा भिन्न विचार हुन सक्छ । 'विकासको स्तरमा भिन्नता भएका कारण विकसित र विकासोन्मुख देशका साहित्यको स्तरमा पनि भिन्नता भएको हो', उनी भन्छन् । डेनिस रार्इर्टस एशोसिएशनका पूर्व उपाध्यक्ष तथा डेनमार्कका स्थापित लेखक स्याली अल्सुलरले नेपाललगायत विकासशील देशको साहित्यलाई विशेष रुचिका साथ हेरिरहेका छन् । त्यसैको परिणामस्वरूपमा उनमा यस्तो विचार आएको हो । 'केही मानिसहरू साहित्यको स्तर फरक पर्नुमा संस्कृतिलाई कारण मान्छन् । तर, त्यसो होइन', अल्सुलरको विचार छ ।

जुनबेला डेनमार्क विकासका दृष्टिमा नेपालको जस्तै अवस्थामा थियो, त्यसबेला अहिले नेपालमा लेखिने जस्तै साहित्य डेनमार्कमा पनि लेखिन्थ्यो । त्यो डेढ-दुई सय वर्षअघिको कुरा हो । साहित्यको स्तरमा धेरै भिन्नता भए पनि लेखकको अवस्थामा भने त्यहाँ र यहाँ कुनै तात्त्विक फरक छैन । डेनमार्कमा पनि धेरै लेखकहरू आफ्नो सृजनाबापत हुने कमाइबाट जीवन निर्वाह गर्नसक्ने अवस्थामा छैनन् । 'केहीले आफ्नो सृजनाको कमाइबाट नै जीवन गुजारा गरिरहेका छन् । तर, एउटा लेखकले विलासी जीवन निर्वाह गर्न सक्दैन', अल्सुलर भन्छन् । आफ्नो पुस्तक बेचेर जीवन निर्वाह गर्नसक्ने लेखक डेनमार्कमा ४-५ जनामात्रै छन् । धरै लेखकहरू विद्यालयमा पढाएर र कार्यशालाहरू सञ्चालन गरेर आम्दानी गर्ने गर्छन् । तर, सरकारको सहयोग धेरै डेनिश लेखकहरूको आम्दानीको मुख्य स्रोत भएको उनी बताउँछन् । सार्वजनिक पुस्तकालयमा उपलब्ध पुस्तकका आधारमा सरकारले सहयोग रकम उपलब्ध गराउँछ । 'मेरो आम्दानीको प्रमुख हिस्सा पनि त्यही नै हो', अल्सुलर बताउँछन् । डेनमार्कमा १० हजार जति लेखकले यस्तो पुस्तकालय पारिश्रमिक प्राप्त गर्छन् ।

डेनमार्कमा लेखकले प्रकाशकबाट १५ प्रतिशत रोयल्टी पाउँछ । तर, त्यो भ्याट कट्टा गरेपछि बाँकी हुने मूल्यको १५ प्रतिशत हो । डेनमार्कमा भ्याट २५ प्रतिशत तिर्नुपर्छ, त्यसैले यदि २ सय डेनिस क्रोनर मूल्यको पुस्तक छ भने १ सय ५० क्रोनरको १५ प्रतिशत मात्र लेखकले पाउँछ । 'तर, रोयल्टी रकम बढाउनुपर्ने विषयमा लेखक सङ्घको प्रकाशक सङ्घसँग वार्ता भइरहेको छ', अल्सुलर भन्छन् ।  

उनले सन् १९९३ मा आफ्नो पहिलो उपन्यास 'द साल्ट अन द अर्थ' प्रकाशित गरेर व्यावसायिक लेखनयात्रा शुरू गरेका हुन् । उनको पहिलो उपन्यास नै निकै सफल भयो, जसले डेनमार्कका बालसाहित्यका प्रतिष्ठित दुई पुरस्कार पायो । 'त्यहीँबाट म एक्कासि साहित्य क्षेत्रमा हाम फालेँ', उनी भन्छन् । उनले २० वर्ष विद्यालय शिक्षकको पेशा अँगाले । पहिलो उपन्यास प्रकाशित भएपछि पनि लगभग १० वर्ष उनी शिक्षण पेशामा नै रहे । यही वर्षउनका थप तीनओटा पुस्तक प्रकाशित हुँदै छन् । तीमध्ये एउटा प्रौढ उपन्यास 'अ ऐञ्जल बिहाइन्ड द इएर' पनि हुनेछ । तीसमेत गरेर उनका जम्मा प्रकाशित पुस्तकको सङ्ख्या ३५-४० पुग्नेछ ।

डेनमार्कमा नयाँ पुस्तकको मूल्य निकै धेरै हुन्छ । एउटा नयाँ उपन्यासको मूल्य २ सय ५० देखि ३ सय डेनिस क्रोनरसम्म हुन्छ । 'नेपालीमा लगभग ४ हजार रुपैयाँ', हिसाब गरेर उनी भन्छन् । तर, २-३ वर्षपुराना किताबहरू भने ४-५ सय नेपाली रुपैयाँबराबरमा पाइने उनी बताउँछन् । सन् १९५३ मा जन्मेका उनी पहिलोपटक १९७३ मा नेपाल आएका थिए- हिप्पीका रूपमा । त्यसबेला नेपाल धेरै हिप्पीहरूको आकर्षण केन्द्र थियो- हिप्पील्याण्ड । त्यसबेला नेपालमा गाँजा, चरेसलगायतका लागूऔषधको खुला व्यापार हुन्थ्यो । 'मरुहिटीमा 'सेण्ट्रल हशिश स्टोर' नामको पसल थियो', उनी भन्छन् । एउटा हिप्पी कसरी प्रतिष्ठित लेखक बन्यो त ? उनी भन्छन्, 'त्यसबेला हिप्पी बनेर देश-विदेश चहार्नु पनि एक खोजी नै थियो । लेखन पनि त्यस्तै नयाँ खोजी हो- सम्भावनाहरूको खोजी ।'