शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''सीमातीत सोच'' - श्रीधर खत्री
कार्यकारी निर्देशक, साउथ एशिया सेण्टर फर पोलिसी स्टडिज

म पुत्र तिम्रो तिमी धर्तीमाता
अटुट माटो मुटुको छ नाता ।


राष्ट्रकवि माधवप्रसाद घिमिरेले दशकौं अघि गरेको पृथ्वीसूक्तको अनुवाद उनको जीवनमा ठयाक्कै लागू भएको छ । नेपालका विशिष्ट विद्वत्वर्ग (थिङ्क टयाङ्क) मा दरिने प्राध्यापक श्रीधर खत्री वर्षौं  विदेशमा बिताए पनि माटोको मायाले मातृभूमिको सेवामा नै समर्पित छन् । काठमाडौं डिल्लीबजारका रैथाने उनले कक्षा पाँचसम्मको शिक्षा सेण्टजेयिर्स स्कूलबाट हासिल गरेका हुन् । उपरथी पिता पदमबहादुर खत्री अमेरिकाका लागि राजदूत नियुक्त भएपछि उनले थातथलो छाडेर उतै जानुपर्यो जहाँबाट उनले विद्यालयमात्र होइन, विश्वविद्यालय शिक्षा पनि पूरा गरे । उनको शैक्षिक खुट्किलो न्युयोर्क महानगरको जुलिया रिचम्यान हाइस्कूल, सिटी कलेज अफ न्युयोर्क हुँदै कोलम्बिया विश्वविद्यालयमा पुगेर टुङ्गिएको हो । अन्तरराष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका उनले लण्डन स्कूल अफ इकोनोमिक्समा २ वर्ष'भिजिटिङ स्कलर' भएर अन्तरराष्ट्रिय एवम् क्षेत्रीयस्तरका कैयौं शोध गरेका छन् ।

अन्तरराष्ट्रिय सम्बन्धको अमेरिकी ड्रि्री लिएर खत्री उतै भासिएनन् । अरूले विदेशिनेहरूलाई 'ब्रेन ड्रेन' को संज्ञा दिए पनि ज्ञान आर्जनको उत्कट अभिलाषा लिएर त्यता गएकाहरूले 'ब्रेन गेन' गर्ने उनलाई लाग्छ । विश्वको जुनसुकै कुनामा रहे पनि मातृभूमिप्रतिको कर्तव्य बिर्सन नहुने उनको बुझाइ छ । त्यसैले उनले जीवनको सर्वाधिक ऊर्जाशील समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेर बिताएका हुन् । झण्डै अढाइ दशक स्नातकोत्तर तहका विद्यार्थीलाई राजनीतिशास्त्र र अन्तरराष्ट्रिय सम्बन्धबारे सिकाएर शैक्षिक उन्नयनमा उनले उल्लेखनीय योगदान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको अट्ठाइसौं महासभामा नेपाली 'मिशन'का सल्लाहकार, तत्कालीन प्रधानमन्त्री तुलसी गिरीका स्वकीय सचिव, राष्ट्रसङ्घीय ३८औं महासभामा नेपाली प्रतिनिधिमण्डलका सदस्यलगायत दर्जनौं अन्तरराष्ट्रिय एवम् क्षेत्रीय सभासम्मेलनमा नेपालको प्रतिनिधित्व गरेका छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को एघारौं सम्मेलन तयारी समितिका सल्लाहकार, परराष्ट्र मन्त्रालय पुनः संरचना कार्यदल सदस्य, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशकलगायत उच्च ओहोदामा रहेर मुलुकको कूटनीतिलाई त्यसको वास्तविक रूप दिएका छन् उनले ।

विगत ६ वर्षदेखि दक्षिण एशियाली राष्ट्रका साझा चासोका विषयलाई सम्बोधन गर्दै यस क्षेत्रका समुदायबीच सुमधुर सम्बन्ध स्थापनामा सक्रिय सहयोग गरिरहेको साउथ एशिया सेण्टर फर पोलिसी स्टडिजलाई खत्रीले कार्यकारी निर्देशकका रूपमा नेतृत्व गरिरहेका छन् । उनले नेतृत्व गरेको यो संस्था स्वतन्त्र, गैरनाफामुखी, क्षेत्रीय गैरसरकारकारी निकाय हो । यसले अनुसन्धान, नीति संवाद, सार्क क्षेत्रका नीति निर्माता, व्यापारी समुदाय र नागरिक समाजबीच विचार आदानप्रदानका साथै क्षेत्रीय सहयोग प्रवर्द्धनमा रचनात्मक भूमिका निर्वाह गर्दै आएको छ ।

प्रजातन्त्र पुनः स्थापनापछि परराष्ट्र मन्त्रालयलाई सुदृढ बनाउन गठित कार्यदलले दिएको सुझावअनुसार काम नएको खत्रीको विश्लेषण छ । देशलाई आर्थिक रूपले सबल बनाउन सुझाइएको आर्थिक कूटनीतिक नारामा मात्र सीमित भएकोमा उनी खिन्न छन् । आन्तरिक समस्या र द्वन्द्वपछिको व्यवस्थापनमा लागेका कारण देश असहज परिस्थितिबाट गुज्रिरहेको उनको ठम्याइ छ । परराष्ट्रमा योग्य र दक्ष जनशक्ति भए पनि त्यसलाई तालीम दिएर व्यावसायिक रूपमा सुदृढ गर्ने कार्य नभएको उनलाई लाग्छ । राष्ट्रिय स्वार्थलाई प्रवर्द्धन हुने गरी विदेश नीति कार्यान्वयन नभएको उनी बताउँछन् । निजीक्षेत्रसँग मिलेर काम गर्दा आर्थिक कूटनीतिले गति लिनेमा उनी विश्वस्त छन् । त्यसका लागि स्रोत, साधन र स्पष्ट दृष्टिलाई अपरिहार्य पूर्वशर्तका रूपमा प्रस्तुत गर्छन् उनी । 'लक्ष्य किटान गरेर काम गर्नुपर्छ' हचुवाका भरमा काम गर्न नहुने तर्क छ उनको ।

विप्रेषणको माध्यमबाट वर्षेनि देशमा भित्रने ३ अर्ब अमेरिकी डलरमा भारी बढोत्तरी गर्न सकिने विषयलाई सरकारी निकायले बेवास्ता गरेको खत्रीको ठहर छ । वैदेशिक रोजगार व्यवसायी कम्पनीले पठाएका श्रमिकबाट त्यति आय भइरहेको उल्लेख गर्ने उनी श्रम, अर्थ र परराष्ट्र मन्त्रालयले बजारको खोजीका साथै कूटनीतिक माध्यमलाई सक्रिय बनाउनुपर्नेमा जोड दिन्छन् । बनेपाको सूचनाप्रविधि पार्कको सही सदुपयोग गर्न सुझाउने उनी नेपालमा आइटी सफ्टवेर जनशक्ति विकास गर्ने प्रशस्त सम्भावना रहेको बताउँछन् ।