शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सपनामय सफलता
पृथ्वी राजभण्डारी
अपरेशन डाइरेक्टर
क्वेष्ट फर्मास्युटिकल्स

कुनै बेला औषधिका कार्टुन  उठाउने काम गर्न झन्झट मानेको भए पृथ्वी राजभण्डारी अहिलेको पहिचानमा भेटिँदैनथे । वीरगञ्जमा प्रतिष्ठित औषधि व्यवसायीको छवि बनाएका उनी अहिले क्वेष्ट फर्मास्युटिकल्सका अपरेशन डाइरेक्टर छन् । 'मलाई कुनै पनि काम गर्न अप्ठयारो लाग्दैन,' उनी भन्छन् । कार्यालय सहायक (पियन)बाट औषधि उत्पादन कम्पनीमा छिरेका उनले छोटो समयमै लोभलाग्दो उन्नति गरेका छन् । 'इमानदारी र सक्रियताका कारण नै आफू यस क्षेत्रमा छिट्टै स्थापित हुन सकेको हुँ,' भन्छन् उनी । क्वेष्टलाई नेपालको १ नम्बरको औषधि उत्पादक कम्पनी बनाउने सपना बोकेका उनले सम्पूर्ण ध्यान कम्पनीको प्रवर्द्धनमा लगाइरहेका छन् । क्वेष्ट स्थापना गर्दा जुन लक्ष्य उनले लिएका थिए, त्यो १० वर्षपछि पूरा भएको दाबी छ पृथ्वीको । २२ वर्षको उमेरमा मध्यमाञ्चल औषधि डिष्ट्रिब्युटर्सबाट यस क्षेत्रमा प्रवेश गरेका हुन् उनी । आफ्ना भिनाजु महेन्द्रबहादुर अमात्यसँगको सङ्गतले औषधिको 'स्टकिष्ट' भएर काम गरे पृथ्वीले ।

विसं २०५८ असोजमा अन्य तीन व्यावसायिक सहकर्मीहरूको सहयोगमा १६ करोड लगानी गरेर उनले क्वेष्ट फर्मास्युटिकल्स कम्पनी स्थापना गरेका हुन् । यसको अहिले वार्षिक टर्न ओभर २२ करोड रुपैयाँ छ । र, यसलाई छिट्टै वार्षिक २५ करोड पुर्याउने योजना छ । कम्पनीमा १ सय ८० जनाले रोजगारी पाएका छन् । उनको कम्पनीमा काम गर्ने प्राय: सबै कर्मचारीले स्थायी नियुक्ति पाएका छन् । अप्ठयारो पर्दा कुनै कर्मचारीले कसैसँग हात फैलाउनु नपरोस् भन्ने उद्देश्यले भविष्यमा एउटा सहकारी खोल्ने योजना पनि उनले बनाएका छन् । कम्पनीमा कार्यरत कर्मचारीहरू पनि अन्य कम्पनीको दाँजोमा क्वेष्टमा सेवासुविधा राम्रो रहेको बताउँछन् ।

पृथ्वी आफ्नो व्यावसायिक सफलताको श्रेय कर्मचारीलाई दिन्छन् । उनको व्यवस्थापन सूत्र कर्मचारीसँग सीधा सम्पर्क र संवाद हो । कम्पनीका कर्मचारीले उनीहरूका माग, इच्छा र गुनासा सोझै पृथ्वीसमक्ष राख्न सक्दछन् । उनले कर्मचारीहरूको वार्षिक मूल्याङ्कन गर्ने नियम बनाएका छन् । कम्पनीले १ सय २३ ओटा औषधि उत्पादन गर्दछ । यसमा मुटु र मधुमेह रोगका औषधि पनि छन् । उनको कम्पनीबाट उत्पादित मुटु रोगीका लागि आवश्यक माइलोड औषधि सबैभन्दा बढी उत्पादन र विक्री हुनेमध्येमा पर्छ । नेपाली औषधि कम्पनीहरूले जीवन रक्षाभन्दा जीवनशैली (लाइफ स्टाइल) व्यवस्थित बनाउने औषधि मात्र उत्पादन गरिरहेको बताउँछन् उनी । त्यसैले भारतीय औषधि कम्पनीहरूले नेपालमा राम्रो व्यवसाय गरिरहेको उनको बुझाइ छ ।

उनी आफ्नै पिता र भारतीय इन्फोसिस कम्पनीका सञ्चालक नारायण मूर्तिलाई आदर्श व्यक्ति मान्दछन् । अनुशासित हुन र सामान ठीकठीक ठाउँमा व्यवस्थित गरेर राख्न पिताले सिकाएको उनले बिर्सेका छैनन् । इन्फोसिसका नारायणले थोरै पूँजीबाट व्यवसाय शुरू गरेको कम्पनी आज भारतको अग्रणी भएकोमा उनी प्रभावित छन् । मूर्तिले लेखेका र उनका बारेमा लेखिएका किताबहरू पढ्न छुटाउँदैनन् पृथ्वी । राजधानीमा पनि चाँडै क्वेष्टको अर्को युनिट खोल्ने योजना उनले बनाएका छन् । नेपालका ५३ ओटा औषधि कम्पनीबीच क्वेष्टलाई छुट्टै पहिचान दिन दत्तचित्त छन् उनी ।

५२ वर्षीय पृथ्वीका दुई छोरा छन् ।  धर्ममा अत्यन्तै आस्था राख्ने उनको पाठपूजा नगरी दिन शुरू हुँदैन । 'पूजापाठ गर्दा आत्मसन्तुष्टि प्राप्त हुन्छ,' उनी भन्छन् । फुसद र बिदाको दिन आफन्त र साथीभाइसँग रमाइलो गरेर बिताउँछन् । कम्प्युटर र सङ्गीतमा विशेष रुचि राख्ने पृथ्वी दैनिकजसो इमेल, च्याट र विभिन्न वेबसाइट सच गर्दै बस्छन् । गुणस्तरीय र आरामदायी पोशाक मन पराउने उनी यात्रामा पुराना गीत सुन्ने गरेको बताउँछन् । कपडाको ब्राण्डप्रति सचेत उनी रेमण्डका शर्टिङसुटिङका कपडा मात्र लगाउन मन पराउँछन् । समाजसेवामा पनि उनको उत्तिकै रुचि छ । दैवीप्रकोपमा परेकालाई आर्थिक सहयोग गर्छन् । साथै, आफ्नो कम्पनीले उत्पादन गरेका औषधि पनि वितरण गर्दछन् । तर, समाजमा व्यक्तिगत स्वार्थ बढ्दै गएको र सामाजिक उत्तरदायित्व घट्दै गएकोमा खिन्न छन् उनी । राजनीतिप्रति कुनै चासो नराख्ने पृथ्वीलाई आफ्नो राष्ट्र र राष्ट्रियताप्रति अत्यन्त गर्व छ ।

Admin 2011-07-06