शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''कर्म भक्ति'' - दक्षप्रसाद श्रेष्ठ
कार्यकारी निर्देशक,
शुभेच्छा विकास बैङ्क, चितवन
जीवनमा कामलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने उनको मान्यता छ । यही मान्यतामा रहेर उनले जीवनका ६५ वसन्त पार गरिसके । त्यही भएर होला बैङ्किङ क्षेत्रमा साढे चार दशक बिताइसकेका श्रेष्ठको अझै केही वर्षयही क्षेत्रमा कार्य गर्ने चाहना छ । विसं २०२३ देखि नेपाल राष्ट्र बैङ्कमा विभिन्न तह र विभागमा रहेर ३२ वर्षकाम गरे उनले । हाल उनी चितवन नारायणगढमा रहेको शुभेच्छा विकास बैङ्क लिमिटेडका सञ्चालक तथा कार्यकारी निर्देशक छन् । विसं २००३ मा भोजपुरमा जन्मिएका श्रेष्ठले २० वर्षको उमेरमै नेपाल राष्ट्र बैङ्कबाट जागीरे जीवन शुरू गरेका थिए । उनी विसं २०५३ देखि २०५८ सम्म राष्ट्र बैङ्कको जनकपुरस्थित मध्यमाञ्चल ग्रामीण विकास बैङ्कका कार्यकारी निर्देशकसमेत भए ।

बुबा चण्डीप्रसाद श्रेष्ठ प्रमुख जिल्ला अधिकारी भए पनि प्रशासनिक क्षेत्रमा भन्दा बैङ्किङ क्षेत्रमा उनको आकर्षण रह्यो । फलस्वरूप नेपाल राष्ट्र बैङ्कबाट अवकाश पाएपछि पनि श्रेष्ठले बैङ्किङ क्षेत्र नै रोजे । आफ्नो चाहनालाई निरन्तरता दिन विसं २०६१ सालमा उनले केही निवृत्त बैङ्कर्स तथा ख्यातिप्राप्त चिकित्सकहरूलाई समेटेर शुभेच्छा विकास बैङ्क स्थापना गरे । आफ्नो लगनशीलता र सबैको प्रयासबाट बैङ्क अहिले 'स्थापित भइसकेको’ उनी बताउँछन् । कर्मचारीको सहयोगविना सफलता प्राप्त गर्न नसकिने उनको धारणा छ । संस्थाको उन्नतिका लागि कर्मचारीलाई आवश्यक सेवासुविधाका साथ कामका लागि उपयुक्त वातावरण उपलब्ध गराउनमा कुनै सम्झौता गर्न नहुने उनी बताउँछन् ।   

केन्द्रीय बैङ्कको जागीर छाडेपछि उनलाई साथीहरूले राजधानीबाहिर पोखरा, नारायणगढ वा बनेपामा क्षेत्रीय स्तरको बैङ्क खोल्न सुझाव दिएका थिए । चितवनको आर्थिक, पर्यटकीय, धार्मिक, कृषि र पोल्ट्रीलगायतका क्षेत्रको विकासको सम्भावना प्रचुर देखेर उनले चितवनमा बैङ्कको प्रधान कार्यालय स्थापना गर्ने निर्णयगरे । हाल चितवन, नवलपरासी र मकवानपुर जिल्लामा कार्यक्षेत्र रहेको शुभेच्छा विकास बैङ्कको कार्यक्षेत्र आगामी आर्थिक वर्षभित्र १० जिल्लामा विस्तार गर्ने उनको योजना छ । उनलाई यो साहस र आँट भने अहिले विस्तारित हुँदै गएको बैङ्किङ चेतना र आवश्यकताले पनि आएको हो । शुभेच्छा बैङ्क स्थापना हुँदा नारायणगढमा एक दर्जनजति बैङ्कको पनि उपस्थिति थिएन । देशमा द्वन्द्व चर्किएको थियो । सञ्चालनमा रहेका बैङ्कहरू पनि बन्द हुने क्रममा थिए । त्यस समयमा पनि शुभेच्छा विकास बैङ्कले ग्रामीण क्षेत्रमा ४० प्रतिशत लगानी गरेको उनी सम्झन्छन् ।

अहिले चितवनमा ७० भन्दा बढी बैङ्क तथा वित्तीय संस्थाका कार्यालय छन् ।  तर, शुभेच्छाको आफ्नै बजार र नाम रहेको उनी बताउँछन् । 'यसमा सबै साझेदार र कर्मचारीको मेहनत सहयोगी रहेको छ,’ उनी भन्छन् । स्वस्थ्य प्रतिस्पर्धा गर्ने र यस क्षेत्रको विकासमा योगदान दिन तयार बैङ्कहरूको भविष्य सुनिश्चित रहेको उनी बताउँछन् । शुरूमा बैङ्कको सञ्चालक समितिमा चितवनका कोही व्यक्ति पनि नहुँदासमेत शुभेच्छाले राम्रो व्यवसाय गरेको थियो । पछि स्थापना भएका अन्य बैङ्कहरूको अवस्था पनि राम्रो देख्छन् उनी । श्रेष्ठ प्रमुख रहेको बैङ्कका अहिले १६ हजारभन्दा बढी ग्राहक छन् । तीन जिल्लामा कार्यक्षेत्र भएको बैङ्कका पाँचओटा शाखा र नारायणगढ र भरतपुरमा एक/एकओटा काउण्टर छन् ।   

बैङ्कहरू खुल्ने क्रम बढे पनि उनीहरूको सेवा शहरकेन्द्रित हुनु दु:खको विषय भएको उनको विचार छ । राजनीतिक अस्थिरताले गर्दा लगानीको वातावरण नभएको र भएको लगानीको पनि सुरक्षा नभएको बताउने उनी लगानीकर्तालाई लगानीको सुरक्षा गर्ने विषयमा पूर्ण आश्वस्त पार्न सके आर्थिक विकासले फड्को मार्ने बताउँछन् । हातमा पूँजी भएर पनि लगानी गर्न तयार नभएका थुप्रै व्यक्ति चितवनमै रहेको बताउँदै श्रेष्ठ भन्छन्, 'यस विषयमा सरकार गम्भीर बन्नैपर्छ ।’ पछिल्लो समयमा निजी बैङ्कहरूलाई स्वतन्त्ररूपले काम गर्ने वातावरणमा व्यवधान आएको उनलाई महसूस भएको छ । बैङ्किङ क्षेत्रको विकासका लागि सरकारले लामो समयसम्मलाई हुने नीति ल्याउन आवश्यक रहेको उनको बुझाइ छ । श्रेष्ठ चितवनका बैङ्कर्सले अनौपचारिक रूपमा स्थापना गरेको बैङ्कर्स एशोसिएशनका संयोजक पनि हुन् ।

अशक्त नभएसम्म बैङ्कमै काम गर्ने चाहना श्रेष्ठको छ । जीवनमा कामलाई सबैभन्दा ठूलो कुरा ठान्ने उनी फुसदको समयमा काठमाडौँमा रहेको घरमा पुग्छन् । काठमाडौंमा रहँदा उनी साथीहरूसँग तास खेल्ने र  पिकनिकमा रमाउने गर्छन् । उनको बिहान नित्यकर्म तथा पूजाआजामै बित्छ । हिन्दूधर्मका अनुयायी उनी हरेक मङ्गलवार व्रत बस्छन् र भरतपुरस्थित गणेशमन्दिर गई पूजा गर्छन् । सोमवार र शनिवार नियमित क्षेत्रपुरको रामेश्वर मन्दिर र शिवमन्दिर जान्छन् । धर्ममा विश्वास नगर्ने मान्छे कम नै देखेको बताउने श्रेष्ठ दु:खपर्दा ईश्वरले सहयोग गर्नेमा  विश्वस्त छन् ।

Admin 2011-05-05