''आवश्यकता उपयुक्त नीतिको'' - हिमालयशमशेर राणा
प्रथम गभर्नर, नेपाल राष्ट्र बैङ्क
नेपालका सुधारवादी प्रधानमन्त्री देवशमशेरका पनाति उनलाई नचिन्ने विरलै होलान् । रोलवाला राणा भईकन पनि उनी प्रजातन्त्र समर्थकका रूपमा चिनिन्थे- जहाँनियाँ राणाशासनकालमा । २००५ सालतिर नै राणाशासनको अन्त्यका लागि नेपाली काङ्ग्रेसको सदस्यता र शपथ एकैसाथ लिएका थिए उनले- नेता सुवर्णशमसेरसँग । आफ्नो नामको पछाडि जङ्गबहादुर नलेख्नेमा उनी पनि पर्छन् । सबैलाई समान दृष्टिले हेर्ने र त्यस्तै व्यवहार गर्ने भएकाले मात्र होइन, उनको परिवार 'जङ्गबहादुर'विरुद्धको आन्दोलनमा लागेकाले पनि त्यसलाई उनले नरुचाएका हुन् । नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर हिमालयशमशेर राणा ८४ वर्षमा पनि सक्रिय जीवन बिताइरहेका छन् । उनी नेपालको पहिलो अर्थसचिव पनि हुन् । आफ्नो तन्दुरुस्ती र सक्रियताको रहस्य प्रकृतिको वरदान भन्छन् उनी । मानसिक एवम् शारीरिक ऊर्जाले उनलाई उन्नत पारेको छ । पहिले कर्णेल त्यसपछि सचिव अनि गभर्नर हुँदै संयुक्त राष्ट्रसङ्घको वरिष्ठ कर्मचारी भइसक्दा पनि उनले विश्राम लिएनन् । परिश्रमलाई प्रगतिको सोपान मान्ने उनले बैङ्क, समाजसेवी एवम् नागरिक समाजका अगुवाका रूपमा कमाएको ख्याति घामझैं र्छलङ्ग छ । उनकै सक्रियता र पैरवीको परिणाम हो- तत्कालीन सरकार र माओवादीबीचको वार्ताको थालनी ।
बम्बई विश्वविद्यालयमा अर्थशास्त्रमा स्नानकोत्तर तहको विद्यार्थी रहँदा भारतमा स्वतन्त्रता सङ्ग्राम जारी थियो, जसले हिमालयलाई आफ्नै मुलुकमा स्वाधीनताका निम्ति लड्ने ऊर्जा दियो । 'इन्कलाब जिन्दावाद'उनको कानमा अझै गुञ्जिरहन्छ । थालेको कामलाई फत्ते गरेरै छाड्ने उनको बानी छ । तिनमा उनले कहिल्यै असफलताको सामना गर्नुपरेन । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कको स्थापना उनकै अगुवाइमा भएको हो । नेपाली माटोमा भारतीय मुद्राको कारोबारलाई निमिटयान्न पार्न देशभर नेपाली नोटको प्रचलन गरी राष्ट्रियतालाई उँचो उनले नै बनाएका हुन् । तराईतिरको यात्रामा निस्कँदा आफ्नै मुद्रा पाएर दङ्ग परेका त्यहाँका बासिन्दाबाट पाएको प्रशंसा र स्याबासीलाई अद्यापि बिर्सेका छैनन् उनले । राष्ट्र बैङ्कको स्थापनाले मुलुकमा आर्थिक सुदृढीकरणको मार्गप्रशस्त गरेको उनको बुझाइ छ । त्यसैलाई उनी आफ्नो उपलब्धि पनि ठान्छन् । राम्रो काम गरेबापत पारितोषिक पाउनुपर्नेमा उनलाई तत्कालीन राजा महेन्द्रले गभर्नरको पदावधि ४ महीना बाँकी छँदा पदमुक्त गरेको क्षण उनलाई अत्यन्त पीडादायी लाग्छ ।
बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई नेता मान्छन्, हिमालयशमशेर । राजा महेन्द्रको राष्ट्रप्रेमका पनि उनी प्रशंसक हुन् । 'प्रधानमन्त्रीनिवासमा कहिले उनी जुत्ता पालिस गरिराखेको भेटिन्थे भने कहिले कपडामा आइरन लगाउँदै' किशुनजीका साथी उनी केही भावविभोर हुँदै दिवङ्गत नेताको सरलता सुनाउन चुक्दैनन् । बीपी र जीपीको पहिलो प्रधानमन्त्रीकालमा नेपालले हासिल गरेको आर्थिक विकास आज पनि प्राप्त गर्न सकिने उनको ठहर छ । त्यसको पूर्वशर्त हो- राजनीतिक स्थिरता । यार्सागुम्बालाई पनि उनी आम्दानीको गतिलो स्रोत मान्छन् । उनलाई कृषि, पर्यटन र जलस्रोत नै आर्थिक समृद्धिको वाहक लाग्छ । पानीको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिने उनी सिँचाइ र विद्युत् उत्पादनमा त्यसको भरपूर उपयोग गर्नुपर्ने विचार व्यक्त गर्छन् । कृषिक्रान्तिबाट देशको कायापलट गर्न सकिनेमा विश्वस्त उनी त्यसनिम्ति गहन अनुसन्धान हुनुपर्ने बताउँछन् । मलखाद, सिँचाइ, बीउजस्ता अत्यावश्यक पूर्वाधारको व्यवस्था भएमा आर्थिक उन्नयन दुरुह छैन उनको दृष्टिमा । भन्छन्- जग्गाको हदबन्दी, मोहीहरूको किचलोजस्ता अवरोध पनि हुनुहुँदैन कृषिक्रान्तिमा ।
हिमालयशमशेर सङ्घीयताका विरोधी होइनन् । तर, नेपाल सानो मुलुक भएकाले त्यो पद्धति जनताको सुख-समृद्धिका लागि बाधक हुने उनको बुझाइ छ । समावेशी, समतामूलक र सामाजिक रूपान्तरणका लागि समाजका सबै वर्गको रचनात्मक सहयोग हुनुपर्ने उनको मान्यता छ । लक्ष्य निर्धारण र कार्ययोजना बनाएर काम गर्नु उनको व्यवस्थापन मन्त्र हो । मौद्रिक एवम् गैरमौद्रिक पुरस्कार उत्प्रेरणाको स्रोत हो । युवापुस्ताले देश विकासको गतिलाई बढाउनेमा आशावादी उनी अवसरको खोजीमा लाग्न सुझाउँछन् । निर्भीक भएर सत्यको पक्षमा लाग्न आह्वान गर्छन् उनी । अर्काको प्रगति देख्न नसक्ने र क्षुद्र व्यवहार गर्नेसँग काम गर्न उनलाई पटक्कै मन पर्दैन । इण्टरनेशनल हेराल्ड ट्रिब्युनलगायत अन्तरराष्ट्रिय पत्रपत्रिकाबाट उनी सूचना र जानकारी लिने गर्छन् । क्रिकेट र फुटबल उनका मनमर्ने खेल हुन् । कुनै समय उनी फुटबलका राम्रा खेलाडी मानिन्थे । दुइ छोरा दुइ छोरीका पिता उनलाई काम नगर्ने सन्तानलाई आफूले आर्जन गरेको धन दिनुहुँदैन भन्ने लाग्छ । दानको प्रचार प्रिय लाग्दैन । उनले शिक्षाको क्षेत्रमा सकेको सहयोग गर्दै आएका छन् । कैयौं दीनहीनलाई छात्रवृत्ति दिएका छन् । मुलुकमा संस्थागत संस्कृति एवम् संस्कारको विकास शैशवावस्थामा रहेको उनको बुझाइ छ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहको दिशामा भने केही प्रगति भएको उनलाई लागेको छ ।
Admin 2011-03-06