आरोग्य प्रवर्द्धन
डा. ऋषिराम कोइराला
अध्यक्ष
नेपाल आयुर्वेद चिकित्सक सङ्घ
'कौडीको मोलमा बिक्छ भिल्लका देशमा मणि' कवि शिरोमणि लेखनाथ पौडयालले वर्षौं पहिले रचना गरेको कविताको यो पङ्क्ति आज पनि उत्तिकै सान्दर्भिक लाग्छ उनलाई । हाम्रो मुलुक यार्सागुम्बालगायत अनगन्ती बहुमूल्य जडीबुटीको भण्डार भए पनि सम्बन्धित निकायको ध्यान नपुग्दा हाम्रो गत भिल्लको भन्दा भिन्न नभएको उल्लेख गर्छन् नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा. ऋषिराम कोइराला । वनसम्पदा र जडीबुटीको मात्र उचित उपयोग गर्न सके ५ वर्षमा आर्थिक विकासको आधार बनाउन कठिन नहुने उनको तर्क छ । आर्थिक प्रगतिको बाटो बनाउने वस्तुको बेवास्ता हुनुलाई विडम्बना मान्छन् उनी । २ वर्षअघि छिमेकी मुलुकमा ओलम्पिक खेलकुद हुँदा एक केजी यार्सागुम्बा रू. १४ लाखमा विक्री भएको तथ्य विश्लेषण गर्दा उनको मतलाई मनोगत मान्न मिल्दैन ।
लमजुङको पुरानाकोट गाविसअन्तर्गत किरिञ्चे गाउँमा २०१५ सालमा जन्मेका कोइरालाको बाल्यकाल वेदनाको बाढीबाट बाक्लोसँग बिथोलियो । ४ वर्षमा दूधेबालक उनले बाबु बितेको वियोग विवेकमा बस्न नपाउँदै २४ महीनापछि मातृवात्सल्यबाट पनि विमुख हुनुपर्यो । दाउराघाँस, मेलापात, बस्तुभाउ, खनजोत ग्रामीण किसानका परिचय भएजस्तै उनी पनि अछुत रहेनन् ती कर्मबाट विद्यालय जीवनमा । दाजुहरूका प्रिय 'काइँला भाइ' मेधावी थिए । त्यसैले, उनीहरूले उनलाई पढाइप्रति नै प्रेरित गरिरहे । गाउँबाट नै प्रवेशिका परीक्षा पार गरेपछि आयुर्वेदको अध्ययन गर्न राजाको गाउँ आएका उनले नरदेवीस्थित आयुर्वेद क्याम्पसबाट प्रमाणपत्र तह पूरा गरेका हुन् । प्रतिभाशाली विद्यार्थीमा दरिने उनले सबै सहपाठीलाई पछाडि पारेर प्रथम स्थान सुनिश्चित मात्र गरेनन् अपितु भारतको ग्वालियरमा उच्चशिक्षाको अवसर पाए । बनारस हिन्दू विश्वविद्यालयबाट एमडी गरेपछि औपचारिक शिक्षालाई विश्राम दिए पनि अध्ययन-अनुसन्धानको काममा निरन्तर लागिपरेका छन् कोइराला ।
सरकारी सेवामा रहेर दुई दशकभन्दा बढी समय आयुर्वेद चिकित्सा पद्धतिको अभ्यास एवम् विकासमा बिताएका कोइरालाले आयुर्वेद क्षेत्रलाई उचाल्न, उजिल्याउन र उन्नत पार्न उल्लेखनीय योगदान गरेका छन् । बौद्धिक सम्पत्ति संरक्षण अधिकार ऐन तर्जुमालगायत राष्ट्र हितका कैयौं काम गरेका छन् उनले । आयुर्वेदको वैज्ञानिक खोज हुनुपर्नेमा उनको जोड छ । नेपाल र जर्मनीबीचको सहकार्यमा आयुर्वेद हेल्थ होम सञ्चालन गर्दै आएका छन् उनले । आयुर्वेद हेल्थ होममा १ सय ३ मुलुकका बिरामीको उपचार भइरहेको छ । तीन जना सहयोगी चिकित्सक र ५६ जना कर्मचारी काम गर्छन् उनको मातहतमा । इमान नै सबैभन्दा ठूलो बल हो उनका निम्ति । कुशल व्यवस्थापनका लागि पारदर्शिता र पैरवी पनि उत्तिकै अपरिहार्य लाग्छ उनलाई । सामूहिक तथा सहभागितामूलक कार्यप्रणालीमा उनको विश्वास छ । एकआपसमा ज्ञान र भावनाको साटासाट गर्न रुचाउँछन् उनी । र, कर्मचारीलाई पनि त्यसै गर्न प्रेरित गर्छन् । उनलाई कुटिल मानिसहरूसँग व्यवहार गर्न नपरोस् भन्ने लाग्छ ।
६ जना दाजुभाइमा आफूलाई भाग्यशाली मान्छन् कोइराला । तर, त्यसको सबै श्रेय आफ्ना दाजु र गुरुहरूलाई दिन्छन्, जसले सधैं सन्मार्गमा हिँड्न र सच्चरित्रवान् बन्न अभिप्रेरित गरे । विश्वका धेरै मुलुकमा अतिथि अध्यापक, स्रोत एवम् शोध व्यक्तिका रूपमा विचरण गरिरहने उनले मातृभूमिको सेवालाई अधिक प्राथमिकता दिएका छन् । जापानको एउटा प्रतिष्ठित कम्पनीबाट प्राप्त अति आकर्षक अवसरलाई लत्त्याएका उनी सानैदेखि बीपी कोइरालाबाट प्रभावित भएकाले आफ्ना निम्ति परदेश प्रिय नभएको बताउँछन् ।
आफूले आफैलाई चिन्ने र अहङ्काररहित प्रेम गर्नुपर्ने दार्शनिक विचार व्यक्त गर्ने कोइराला आस्तिक हुन् । भक्तियोग मन परे पनि उनी भजन गर्न र मन्दिर जान भ्याउँदैनन् । मन्दिर-गुम्बा बनाउने कार्यमा भने सकेको सहयोग गर्छन् उनी । दीनहीन बिरामीको नि:शुल्क उपचारका साथै आफ्नो जन्मजिल्लाका द्वन्द्वपीडितहरूको शिक्षादीक्षाका लागि भरमग्दुर प्रयास गरिरहेका छन् । सामाजिक संस्थामा आबद्ध भएर पनि उनले स्वास्थ्यसेवा दिएर नेपाली नागरिकलाई निरोगी हुने उपाय सुझाइरहेका छन् ।
Admin 2011-06-05