''विनयशील सफलता'' - कमलप्रसाद ज्ञवाली
प्रबन्ध निर्देशक, किष्ट बैङ्क
'उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र?' कवि शिरोमणि लेखनाथ पौडेलले सात दशक अघि रचना गरेको र्सार्वकालिक यो अभिव्यक्ति उनमा ठ्याक्कै लागू हुन्छ । विनय र सरलता उनको पहिचान हो । त्यसैले उनी अभिमानको लेसमात्र पनि नदेखाइ जोसँग पनि आत्मियरुपमा प्रस्तुत हुन्छन् । किष्ट बैङ्कका प्रबन्ध निर्देशक कमलप्रसाद ज्ञवालीलाई आशक्तिले मान्छे बिग्रन्छ भन्ने लाग्छ । लोभ नगरी धैर्यपूर्वक काम गर्दा सफलता प्राप्त हुनेमा पूर्ण विश्वस्त उनी 'एक्लै गर्नसक्छु भनेर घमण्ड गर्ने'हरू धुलोमा विलीन हुने टिप्पणी गर्छन् । राजनीतिक विषयमा टीकाटिप्पणी गर्न अस्वीकार गर्ने उनको सभासद्हरूलाई एउटै आग्रह छ- अब आउने जेठ १४ भित्रमा संविधान जारी हुने ढङ्गले काम गर्न । शासनतिर होइन संविधान लेखनको दौडमा लाग्न उनको अनुरोध छ ।
तेत्तीस जना प्रवर्द्धकले तीन करोडको चुक्ता पूँजीमा ७ जना कर्मचारीबाट ८ वर्षअघि थालिएको किष्ट मर्चेण्ट एण्ड फाइनान्सको कारोबार बढ्नेक्रम जारी रह्यो फलतः त्यसले बैङ्क बन्ने सौभाग्य पायो । दुइ लाख ५० हजार सक्रिय ग्राहक रहेको किष्टको २ अर्ब चक्ता पूँजी, १६ अर्ब निक्षेप र १३ अर्ब लगानी छ । देशभर ५१ शाखामा विस्तारित ज्ञवाली नेतृत्वको बैङ्कले ५ सय ७० जनालाई रोजीरोटी आर्जनको प्रत्यक्ष अवसर दिएको छ । उनको बैङ्कमा ४१ प्रतिशत कर्मचारी नारी छन् । नेपाल राष्ट्र बैङ्कले गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृतको तलब निर्धारणको परिपत्र सामयिक भए पनि त्यो अन्य कम्पनीमा पनि लागू हुनुपर्ने उनको मान्यता छ । 'एउटा निश्चित दायरा बनाएर स्वतन्त्र छाडिदनुपर्छ' नीति नियमले बाँध्दा सहज हुने तर्क गर्दै उनी भन्छन् ।
बि.सं२०२४ मा गुल्मीको थानापति गाउँमा निम्न मध्यम वर्गीय परिवारमा जन्मेका ज्ञवालीले अति छोटोसमयमा हासिल गरेको उपलब्धि अनुकरणलायक छ । आजको अवस्थामा आइपुग्छु भन्ने उनले कल्पना पनि गरेका थिएनन् ।तर, अविराम परिश्रमले नदेखेको र नसोचेको दिन देखायो- किष्ट समूहलाई प्रतिष्ठित कम्पनीका रूपमा स्थापित गरेर । किष्ट समूह अन्तर्गतका काठमाडौं मेडिकल कलेज, काठमाडौं इन्षिटच्युट अफ साइन्स एण्ड टेक्नोलोजी, किष्ट कलेज अफ म्यानेजमेण्ट, किष्ट कलेज अफ इन्फर्मेशन टेक्नोलोजी र किष्ट इञ्जिनियररिङ कलेजका सञ्चालकसमेत रहेका उनले २०५१ सालमा पहिलोपटकराजधानी काठमाडौं टेकेका हुन् । 'गरे के हुदैन र-' भनाइको दृष्टान्त बनेका छन् ज्ञवाली । श्री फाइनान्स कम्पनीबाट 'करिअर' थालेका उनले त्यहाँ काम गरेको केही वर्षपछि आफ्नै लगानीमा वित्तीय संस्था सुरु गरेका हुन् । त्यही संस्थालाई २०६६ सालमा बैङ्कको रूपमा स्तरोन्नति गर्नु उनको जीवनको प्रमुख उपलब्धि हो । 'ग' श्रेणीको वित्तीय संस्थालाई बैङ्कमा रुपान्तरण गर्न सफल हुनुलाई उनी आफ्नो 'र्टर्निङ प्वाइण्ट' मान्छन् ।
भारतको चण्डीगढमा सीए पढ्दापढ्दै काम विशेषले यता आएर व्यवस्थापनमा स्नातक गरेका ज्ञवाली आफूलाई शून्यबाट उठेको संघर्षशील मान्छे भन्छन् । उनको यो भनाइमा इमान्दारी पनि उत्तिकै छ- तेस्रो श्रेणीमा प्रवेशिका उत्तीर्ण गरेको मान्छे विरलै त्यस्तो स्थानमा पुग्छन् । उपयुक्त वातावरण, निर्णय अधिकार र स्वामित्वबोध भएपछि जुनसुकै कार्यालयको स्वचालित रुपमा काम हुने उनको बुझाइ छ । सबैलाई मान गर्ने उनको व्यवस्थापकीय शैली अरुको भन्दा साँच्चै पृथक् छ । इच्छा र क्षमताअनुसार कार्य विभाजन गर्ने उनको बानी छ । घमण्डी र अर्कालाई आदर नगर्ने र काममा आलेटाले गर्नेसँग सहकार्य गर्नबाट उनी कोशौं पर बस्छन् ।
नेपालको प्रत्येक कुनामा आफूलाई चिनाउँदै जाने लक्ष्य निर्धारण गरेका ज्ञवाली संसारका जुनसुकै स्थानबाट नेपालीले वित्तीय सेवा पाउनुपर्नेमा जोड दिन्छन् । त्यस दिशामा पनि काम गर्ने योजना रहेको बताउने उनी किष्टमा मात्र सीमित नरहने उद्घोष गर्छन् । आफ्नो सफलताको रहस्य दैवीशक्ति भन्ने उनी समयमा काम थाल्दा प्रगति भएको बताउँछन् । एकदशक लामो द्वन्द्वको अन्त्य र शेयरबजार अकाशिएका बेला व्यवासाय थालेकाले ईश्वरीय कृपाले दुबै हातमा लडडु परेको उनको अनुभव छ । धर्म र्रर् इश्वरीय शक्तिमा अधिक विश्वास गर्ने उनी आफूमा मान्छे पहिचान गर्ने विशेषता रहेको ठोकुवा गर्छन् । 'उपयुक्त सहायकहरू छनोट गर्न सक्छु र कुनै काम निर्विघ्न सम्पन्न हुन्छ कि हुँदैन पहिले नै थाहा पाउँछु' मान्छे चिन्ने आफनो विलक्षण प्रतिभा सुनाउँदै उनी भन्छन् । त्यसका लागि उनले केहीपल सोच्नुपनर्छ र अन्तरात्माले भनेबमोजिम गर्दा सफलता रिट्ठो नबिराई प्राप्त हुन्छ । आफ्नो उपलब्धिमा ९५ प्रतिशत भगवान्को हात रहेको बताउने उनी नेपाल बनाउने सद्बुद्धि नेतालाई दिन पशुपतिनाथ बाबासँग प्रार्थना गर्छन् ।
चुरामणि र धनमायाका बार्हौं सन्तान ज्ञवालीका चारजना दिदीबहिनीमात्र जीवित छन् । धेरै अघि पिता गुमाएका उनले केही वर्षपहिले मातृ वियोगको बज्रपात सहनुपर्यो जसलाई उनी जीवनको विर्सन नसकिने वियोगान्त क्षणका रूपमा उल्लेख गर्छन् । आफूले प्राप्त गरेको उपलब्धि पितासँग बाँड्न नपाउँदा उनलाई कहिलेकाहिँ थकथकी लाग्ने गरेको छ ।