परिपक्व नेतृत्व
गोविन्दराज कोइराला
प्रमुख कार्यकारी अधिकृत
राइजिङ डेभलपमेण्ट बैङ्क, नवलपरासी
उमेरले व्यक्तिको सक्रियता मापन गर्दैन भन्ने कुराका साक्षी हुन् उनी । वयले छ दशकनजिक पुगिसके तर पनि जोश, जाँगर र क्रियाशीलतामा बिल्कुलै कमी आएको छैन । उनको सक्रियताका साथै लगनशीलता देखेर चितवन र नवलपरासीका सेवाग्राही आश्चर्यचकित छन् । कामप्रतिको एकाग्रता गोविन्दराज कोइरालाको पहिचान हो । यसैको परिणाम हो- असहज अवस्थामा पुगिसकेको राइजिङ विकास बैङ्कको वित्तीय अवस्था पूर्ववत् हुनु । 'सबैसँग सल्लाह गरेर निर्णय लिन्छु,' उनी भन्छन्, 'कतै यही कलाले काम गरेको त होइन !'
सञ्चालक र प्रमुख कार्यकारी अधिकृतबीचको आन्तरिक कलहले असामान्य अवस्थामा पुगेको संस्था सम्हाल्न आएका हुन्, कोइराला । अहिले उनको मेहनत र संयोजनकारी भूमिकाले संस्था मुनाफातर्फ अग्रसर छ । उनी संस्थामा आएपछि संस्थाले २ करोड ८३ लाख सञ्चालन मुनाफा गरेको छ । नवलपरासी, चितवन र रूपन्देहीलाई कार्यक्षेत्र बनाउँदै आएको यो बैङ्क अहिले सेवाग्राहीको विश्वास जित्न सफल भएको बताउँछन् उनी । 'छोटो अवधिमै यो सफलता प्राप्त गर्नु सानो चुनौती होइन,' उनी भन्छन्, 'हामीप्रतिको विश्वास हो यो सबै ।'
२०१० सालमा मकवानपुरमा जन्मिएका कोइराला अभावसँगै जुध्दै यहाँसम्म आइपुगेका हुन् । पण्डित परिवारमा जन्मिएका उनले बैङ्किङ सेवामा आउँला भन्ने सोचेका पनि थिएनन् । 'मेरा पिता सप्ताहवाचक हुनुहुन्थ्यो,' उनी भन्छन्, 'त्यसैले म पनि भविष्यमा यस्तै हुन्छु भन्ने लाग्थ्यो ।' एसएलसी उत्तीर्ण गरेपछि उनलाई विद्यालयको प्रधानाध्यापक हुन्छु भन्ने लाग्यो । केही समय कोइरालाले लमजुङको एउटा विद्यालयमा पढाए । यही सिलसिलामा एकदिन उनी बैङ्कमा चेक साट्न गएका बेला कर्मचारीको गेटअपले प्रभावित बनायो उनलाई । 'त्यसपछि त मलाई पनि बैङ्कमै जागीर गर्न रहर लाग्यो,' उनी भन्छन् । उनले त्यतिबेलै नेपाल बैङ्क लिमिटेडमा कार्यसहायक पदमा नाम निकाले । २०३४ सालमा जागीरमा जोडिएका उनी म्यानेजर भएर अवकाश लिएका हुन् । '२६ वर्षको बैङ्किङ यात्रालाई निरन्तरता दिन राइजिङ आएको हुँ,' उनी भन्छन् ।
संस्थाले ग्रामीण क्षेत्रका कार्यक्रमलाई मुख्य क्षेत्र बनाउँदै आएको बताउँछन् उनी । 'कृषिलाई प्रोत्साहित गर्न ऋण प्रवाह गरेका छौं,' उनी भन्छन्, 'कृषिक्षेत्रलाई उत्पादनमुखी बनाउन नसकिए मुलुकको प्रगति सम्भव छैन ।' संस्थाले ७० करोड कर्जाप्रवाह र ७७ करोड निक्षेप सङ्कलन गरेको छ । बैङ्कले यही आर्थिक वर्षभित्र शाखा १० पुर्याउने लक्ष्य राखेको छ । उनी चाँडै एटीमएम सुविधा पनि ल्याउने योजनामा छन् ।
योजना बनाएर मात्रै कामको थालनी गर्ने उनको बानी छ । छिटै धनी बन्न खोज्ने प्रवृत्तिले मुलुकमा तरलता अभाव भएको उनको बुझाइ छ । पैसामा तौलिएर बैङ्कको मूल्याङ्न गर्न नहुने मान्यता राख्छन् उनी । 'बैङ्कको अनुशासन, लगानीको क्षेत्रलगायतका विषय मूल्याङ्कन गरी मापदण्ड तयार गरिनुपर्छ,' उनी भन्छन् । अहिले राइजिङ बैङ्कसँग तरलता अभाव नभएको दाबी गर्ने कोइराला खराबलाई दण्ड दिए पनि समाप्तै हुने गरी निर्णयगर्न नहुने बताउँछन् । विगतका वर्षमा समयमै बजेट नआएकाले पनि मुलुकमा आर्थिक सङ्कट ल्याउन भूमिका खेलेको उनको ठम्याइ छ । 'बजेट आए पनि ढिलो आउने र उत्पादनमुखी क्षेत्रमा कम बजेट विनियोजन हुने समस्याले पनि आर्थिक सङ्कट आएको हो,' उनी भन्छन् ।
बैङ्किङ क्षेत्रपछिको उनको रुचि साहित्य हो । साहित्य रचना नगरे पनि त्यसको अध्ययनमा उनको लगाव छ । बजारमा आएका प्राय: साहित्यिक पुस्तक किनेर पढ्छन् । ईश्वरप्रति अगाध आस्था छ । 'संसार चलाउने नै भगवान्ले हो,' उनी भन्छन् । कोइराला प्रात: दैनिक शिवमहिम्नस्तोत्र पाठ गर्छन् । साँझ मन लगाएर कविता पढ्छन् । बिहान सधैँ कृष्णमन्दिर घुम्छन् । उनको विदेश घुम्न जाने इच्छा भने अहिलेसम्म पूरा हुन सकेको छैन । फुसदिलो नभएकाले देशभित्रै पनि धेरै ठाउँमा पुग्न नसकेको बताउँछन् । मुलुकमा स्थिर सरकारको खाँचो आंैल्याउँछन् उनी । 'स्थिर सरकार भए स्थिर नीतिहरू त आउँथे,' कोइराला भन्छन् ।
Admin