शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''धर्म र कर्ममा अब्बल'' - प्रभुप्रसाद पराजुली
कार्यकारी अध्यक्ष
विराटलक्ष्मी विकास बैङ्क, विराटनगर

करीब ६ वर्षअघि पूर्वाञ्चलमा प्रधान कार्यालय भएका कुनै पनि विकास बैङ्क थिएनन् । आफ्ना सहकर्मी तथा केही व्यापारी-उद्योगपतिहरूसँग बैङ्क चलाउने प्रस्ताव राख्दा सकारात्मक जवाफ पाएपछि प्रभुले पूर्वमा नयाँ बैङ्क खोल्ने अभियान थाले । २०६१ साल फागुनमा नेपाल राष्ट्र बैङ्कले उनीसहित ३४ जना संस्थापक रहेको विराटलक्ष्मी विकास बैङ्कलाई सञ्चालन अनुमति दिएपछि २०६२ साल वैशाख २८ गतेदेखि बैङ्कले कारोबार शुरू गर्यो । स्थापनाकालदेखि हालसम्म बैङ्कको कार्यकारी अध्यक्षको जिम्मेवारी प्रभुले नै सम्हालिरहेका छन् । 'मप्रति सबैको विश्वास र सहयोग रहेकाले यो पदमा छु,' उनले भने ।

उनका बाबु न्यायसेवामा कार्यरत थिए । छोरालाई न्यायाधीश बनाउने उनको चाहना थियो । दाजु चन्द्रप्रसाद बाबुको चाहनाअनुरूप न्यायाधीश नै बने । तर, उनी भने व्यवस्थापनतर्फ आकर्षित भए । २००३ सालमा भोजपुरको चरम्बीमा जन्मिएका प्रभुले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट व्यवस्थापनमा उच्च शिक्षा पूरा गरे । पढाइमा अब्बल उनी २०२४ सालका 'गोल्ड मेडलिष्ट' हुन् । त्यसको लगत्तै प्रभुलाई नेपाल राष्ट्र बैङ्कले अनुसन्धान अधिकृत बनायो । त्यस पदमा उनले १ महीना मात्र काम गर्न भ्याए । त्यसैताका स्थापना भएको कृषि विकास बैङ्कले लोक सेवा आयोगमार्फत मागेको उपसचिव पदमा स्थायी नियुक्ति पाएपछि उनले राष्ट्र बैङ्कको अधिकृत पद छाडे ।

कृषि विकास बैङ्कमा प्रवेश गरेपछि विभिन्न अञ्चल तथा क्षेत्रीय कार्यालयको प्रमुख भएर प्रभुले गाउँगाउँ घुम्ने अवसर पाए । यस समयमा उनले ग्रामीण किसानहरूका समस्या तथा चाहना बुझ्ने र नीति निर्माण तहमा सुझाव दिने कार्य गरे । त्यस्ता क्षेत्रमा उनले थुप्रै आयोजना सञ्चालन, बायोग्यासमा लगानी गरेर वैकल्पिक ऊर्जामा उत्प्रेरणालगायतका विषयमा अगुवाइसमेत गर्न पाएका थिए  । बैङ्किङ क्षेत्र अवलोकन र तालीमका लागि एशियाली महादेशका करीब एक दर्जन राष्ट्र घुम्ने अवसर पाएका प्रभु कृषि विकास बैङ्कको उपमहाप्रबन्धक पदसम्म पुगे ।

२०४८ सालसम्म कर्मचारीमध्येको वरिष्ठ तथा अनुभवीलाई बैङ्कको महाप्रबन्धक बनाउने नीति थियो । त्यसयता राजनीतिक नियुक्ति दिने खराब चलन आरम्भ भएपछि आफूलाई कृषिमा बसिरहन मन नलागेको उनले बताए । २०५४ सालमा कृषि विकासको उपमहाप्रबन्धक पदबाट उनले राजीनामा दिए । 'लामो कार्यानुभव तथा वरिष्ठताको कुनै कदर नभएपछि राजीनामा दिएँ,' प्रभुले भने ।

त्यसबेला जीवनको ५१ वर्षमा टेकेका प्रभुलाई यति लामो बैङ्किङ अनुभवलाई कसरी सदुपयोग गर्ने भन्ने चिन्ताले सतायो । निजी तथा सरकारी बैङ्कहरूसमेत पनि शहरकेन्द्रित भइदिनाले गाउँ बैङ्कविहीन भएको उनले बुझेका थिए । यसैलाई सम्बोधन गर्न उनले ग्रामीण क्षेत्रमा बैङ्किङ् सेवा पुर्याउने काम शुरू गरे । विराटनगरमा केन्द्रीय कार्यालय स्थापना गरेपछि उनले गाउँमा शाखा खोल्ने अभियान नै चलाए । अहिले विराटलक्ष्मीका विराटनगरसहित सुनसरी, मोरङ र झापाका १२ ठाउँमा शाखा छन् । ग्रामीण बासिन्दासम्म बैङ्कको पहुँच पुर्याउन सफल यस बैङ्कमा २७ हजार ग्राहक पुगिसकेका छन् । यो श्रेय भने उनी आफूमात्र लिन चाहँदैनन् । 'कर्मचारीको मेहनत र ग्राहकको विश्वासको परिणाम हो,’ उनी भन्छन् ।

बैङ्कमार्फत अहिले ग्रामीण जनतालाई लघुकर्जा उपलब्ध गराइ स्वरोजगारमा सहयोग गर्ने गरेको प्रभु बताउँछन् । 'हामीले व्यवसाय प्रवर्द्धनका लागि सरल र सहजरूपमा ऋण लगानी गरिरहेका छौं,' उनले भने । सानोदेखि ठूलो व्यवसाय प्रवर्द्धनका लागि सहयोग पुर्याउने कार्यलाई बैङ्कले प्राथमिकतामा राखेर काम गरेका कारण छोटो समयमै सन्तोषजनक सफलता प्राप्त भएको प्रभुको भनाइ छ । दुई वर्षभित्र चुक्ता पूँजी २० करोड रुपैयाँ पुर्याएर पूर्वका १० जिल्लामा बैङ्कको कार्यक्षेत्र विस्तार गर्ने लक्ष्य उनले राखेका छन् । वार्षिक २ करोडभन्दा बढी मुनाफा आर्जन गर्दै आएको बैङ्कलाई यो अवस्थामा ल्याउन प्रभुले अरूले भन्दा फरक ढङ्गले काम गरेका छन् । यो सफलताको प्रमुख कारणमा संस्थामा अनुभवी बैङ्कर्सको टोली हुनु र कम पूँजी भएकालाई बैङ्कमा सहभागी गराउनु रहेको प्रभु बताउँछन् । उनी बिदाको समय अध्ययन, घुमघाम र भेटघाटमा बिताउने गर्छन । चरम्बेली पराजुली समाजका अध्यक्षसमेत रहेका प्रभु बिदाको केही समय सोही समाजको विकास र सामाजिक गतिविधिमा लगाउने गरेको बताउँछन् ।

परिवारलाई बिहान, बेलुका र बिदाको केही समय दिने प्रभु परिवारसहित धार्मिक सभा-सम्मेललन र भजन कीर्तनमा सहभागी हुन् रुचाउँछन् । प्रभुको घुमघाम बढीजसो धार्मिक मठमन्दिर र स्थानीय पर्यटकीय क्षेत्रहरूमा हुने गर्छ । उनले  २०४० सालदेखि निरन्तर योग गर्दै आएका छन् । राति १० बजे सुत्नु र बिहान ४ बजे उठ्नु उनको दैनिकी बनेको लामो समय भइसकेको छ । बिहान ४ बजे उठेपछि एक घण्टा भ्रमण, एक घण्टा योग तथा एक घण्टा ध्यान र पूजापाठमा बिताउने गरेको उनी बताउँछन् ।

Admin 2011-05-06