शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''नाइटिङ्गलको पदचिहृनमा'' - डा. सुधा शर्मा
सचिव,  स्वास्थ्य तथा
जनसङ्ख्या मन्त्रालय

नेपाल राष्ट्र बैङ्कका भूतपूर्व गभर्नर लक्ष्मीनाथ गौतमकी कान्छी छोरी उनलाई जन्मदै लेखपढको वातावरण मिलेको थियो । बामे सन र तोतेबोली बोल्न थाल्दै उनलाई दिदीहरूले वर्णमाला सिकाउन थालिसकेका थिए । जिज्ञासु एवम् अध्ययनशील उनले चिकित्साशास्त्रमा साह्रै धेरै ज्ञान र शीप आर्जन गरेर परिवारका सबैलाई चकित बनाइन् । एमबीबीएस, डीजीओ, एफआरसीओजी र एमपीएच गरेकी छन् उनले । र, शैक्षिक योग्यता सुहाउँदो पद पनि पाएकी छन् । पद, प्रतिष्ठा र पैसालाई मात्र सबैथोक मान्दिनन्,  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव डा. सुधा शर्मा । नेपालका नाम चलेका स्त्रीरोग विशेषज्ञमा पर्छिन् उनी । एमबीबीएस गरेपछि २०३९ सालमा उनको पहिलो पोष्टिङ चितवनस्थित महेन्द्र आदर्श चिकित्सालयमा भएको थियो । ग्रामीण महिलाको स्वास्थ्यस्थिति र उनीहरूको अवस्थालाई नजिकबाट नियाल्ने अवसर पाइन् उनले चितवनमा । कामप्रति समर्पणको भावना छ उनमा । र, त्यसैलाई सफलताको सूत्र मान्छिन् उनी ।

परिश्रम गर्न तथा उत्तरदायित्व बहन गर्न चुक्न नहुने सुधाको बुझाइ छ । समूहगत काममा विश्वास गर्ने उनमा तल्लोतहका कर्मचारीलाई हौस्याउने र उनीहरूले गरेको कामको जस दिने बानी छ । सम्भव भएसम्म वृत्तिविकास र क्षमता अभिवृद्धिका अवसर दिइरहन्छिन् उनी मातहतका कर्मचारीलाई । त्यो नै उनीहरूलाई उत्प्रेरित गर्ने उनको शैली हो । प्रचलित ऐननियमको दायरमा रहेर हुने काम तत्काल गरिदिने र नहुनेलाई स्पष्ट शब्दमा 'हुँदैन' भन्नुपर्ने उनको मत छ । सेवाग्राहीलाई झुलाउने परिपाटी पटक्कै प्रिय लाग्दैन उनलाई । भनाइ र गराइमा एकरूपता नभएकाहरूसँग पनि व्यवहार गर्न हिचकिचाउँछिन् उनी । गरिरहेको कामलाई अझ राम्रो बनाउने ध्येय सबैमा हुनुपर्ने उनको मत छ । महात्त्वाकाङ्क्षी पनि छैनन् उनी ।

भारतबाट एमबीबीएस, त्रिवि शिक्षण अस्पतालबाट स्त्री तथा प्रसूतिमा डिप्लोमा हुँदै बेलायतबाट एमडी गरेकी सुधाको ज्ञानको क्षुधा अझै मेटिएन । उनले जनस्वास्थ्यमा पनि स्नातकोत्तर उपाधि हासिल गरेकी छन् । उनको परिवारमा चिकित्सकको बाहुल्य छ । मिर्गौला प्रत्यारोपणमा वैशिटय हासिल गरेका डा विजय शर्मा उनका पति हुन् भने छोरा पनि डाक्टर नै छन् । महिला सशक्तीकरण देशको समग्र विकासका लागि अपरिहार्य भएको उनको ठम्याइ छ । समतामूलक समाज निर्माण तथा पैरवीका लागि पनि यसको आवश्यकता खट्केको उनको अभिमत छ । विगतका तुलनमा महिला जागरुक भएको महसूस गरेकी छन् उनले । दक्ष सेवा प्रदायकबाट सेवा लिने र गर्भावस्थामा परीक्षण गराउने प्रवृत्ति बढ्नुलाई उनी आमसञ्चारका साधनको परिणाम मान्छिन् । त्यसमा स्वास्थ्यकर्मी र नेतृत्वदायी निकायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण ठान्छिन् । प्रसूति तथा त्यससम्बन्धी जटिलताका कारण दैनिक रूपमा औसत १२ जनाको ज्यान जाने गरेकोमा त्यो अहिले आधाले घटेको उनको दाबी छ । सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने दिशामा मुलुक अघि बढेको उनी उल्लेख गर्छिन् ।

कुनै व्यक्ति वा पद्धति पूर्ण नहुने विचार व्यक्त गर्छिन् सुधा । त्रुटि सुधार्न सकिन्छ । तर, त्रुटि नै हुन नदिन निरन्तर अनुगमन गर्नुपर्नेमा उनको जोड छ । अनुगमन प्रणाली सुदृढ भएमा सानातिना समस्या त्यसै समाधान हुने उनलाई लाग्छ । निष्ठापूर्वक बिरामीको सेवा गर्ने डा. दिव्यश्री मल्ल उनकी आदर्श व्यक्ति हुन् । उनलाई पनि बिरामी र समाजको सेवामा अधिक रूचि छ । भन्छिन्, 'त्यसैले यो पेशा अँगालेकी हुँ ।' सम्भवतः  नेपालको प्रशासनको उच्च तहमा पुग्ने उनी दोस्री नारी हुन् ।  १ करोड ३० लाख जनसङख्याका लागि छुटयाइएको चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी झण्डै तीन लाखलाई सेवा दिन अपर्याप्त भएको उल्लेख गर्दै उनी स्वास्थ्यसेवा सवसुलभ बनाउन नसक्नुलाई चुनौती मान्छिन् । स्वास्थ्यकर्मीमाथि जाइलाग्ने प्रवृत्ति र जस नदिने परम्पराको विकास भएकोमा खिन्न छिन् ।

हरेक काम स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमअनुसार सरकारी कोषबाट सञ्चालन हुने भएकाले अनियमितता भयो भन्नु हास्यस्पद हुने तर्क गर्छिन् सुधा । सेवाको गुणस्तरका कमी भएको भने उनी स्वीकार गर्छिन् । वीर अस्पताल आफै बिरामी भएको उल्लेख गर्दै उनी त्यसको सुधारका निम्ति आवश्यक प्रयास थालिएको बताउँछिन् । युवा शक्तिमा प्रशस्त सम्भावना देख्ने उनी राष्ट्र निर्माणमा उनीहरूलाई परिचालन गनुपर्ने सुझाव दिन्छिन् । देशभित्र रोजगारीका अवसर सृजना गरेर आत्मनिर्भर बन्न सकिने उनको बुझाइ छ । स्थानीय तहमा सिँचाइ, सडक र  बिजुली पुर्याउन सकेमा उद्यमशीलताको प्रवर्द्धन हुने उनी उल्लेख गर्छिन् । साना तथा घरेलु उद्योगको विकास, कृषि र पर्यटन क्षेत्रको विकासबाट राष्ट्रिय उन्नति हुनेमा उनी ढुक्क छिन् । फ्लोरेन्स नाइटिङ्गलको पदचिह्न पहिल्याएकी उनीप्रति नेपाली समाज अनुग्रहित छ ।

Admin 2011-03-07