पैरवी साझेदारीको
ध्रुवबहादुर थापा
अध्यक्ष
मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य सङ्घ
दृढ इच्छाशक्ति, लगनशीलता र इमानदारीले मानिसको विश्वास जित्न सकिने र अरूको विश्वास जित्ने मानिस नै सफल बन्न सक्छ भन्ने लाग्छ नेपाल उद्योग वाणिज्य सङ्घका मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष धु्रवबहादुर थापालाई । २०२० सालमा नुवाकोटको झिल्टुङमा जन्मेका थापा केही वर्षपछि नै बाबुआमाका साथ पश्चिम चितवनको शुक्रनगर गाविसमा बसाइँ सरे । बाबु गुणध्वज र आमा रुक्मिणीका एक्ला सन्तान उनले ८ वर्षको उमेरमा पितृवियोग खेप्नुपर्यो । सामान्य परिवारका उनले आदर्श माध्यमिक विद्यालयबाट एसएलसी गरेका हुन् । दैनिक तीन घण्टा हिँडेर उनी घर र विद्यालय गर्थे स्कूले जीवनमा । चितवनको टाँडीस्थित तत्कालीन कमर्श क्याम्पसबाट आईकम पास गरेपछि २०४२ सालमा उनी बीकम पढ्न काठमाडौंको पिपुल्स कलेज भर्ना भए । जिम्मेवारी बहनसँगै पढाइलाई पनि अगाडि बढाउनुपर्ने भएकाले २०४३ सालमा काठमाडौंको जोरपाटीमा रहेको अपाङ्ग बाल उपचार गृहमा थापाले समुदाय परिचालनको काम पाए ।
निडर, फरासिला र स्पष्ट वक्ता थापालाई सो संस्थाले धादिङ जिल्लामा रहेर काम गर्ने जिम्मेवारी दियो । जिम्मेवारी लिएपछि जसरी पनि पूरा गर्नुपर्छ भन्ने भावना बोकेका थापाले ४ वर्षसम्म धादिङ जिल्लाको गाउँगाउँमा पुगेर अपाङ्ग बालबालिकाहरूको सहयोगका लागि निरन्तर काम गरिरहे । नयाँ कुरा सिक्न अत्यन्तै उत्सुक र त्यसलाई अरूमाझ सरल भाषामा अभिव्यक्त गर्न सक्ने क्षमता छ थापामा । सहयोगी भावना, मित्रवत् व्यवहार र सरल जीवनशैली उनको जीवनको विशेषता हो । उनलाई चिन्नेहरू त्यसै भन्छन् ।
अपाङ्ग बालगृहमा कार्यरत रहँदा थापालाई आफ्नै व्यवसाय गर्ने उत्साह जाग्यो । मामाहरू तेजबहादुर र चक्रबहादुर भण्डारीबाट प्रभावित भएर उनले काठमाडौंको ठमेलमा जिल्लाकै अन्य दुई साथीसँग मिलेर लाङटाङ ट्रेकिङ सञ्चालन गरे । सकारात्मक परिवर्तनका लागि अग्रसर थापा २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर लाग्दा केही दिन बन्दी पनि भए । प्रजातन्त्रका लागि जीवन उर्त्सग गर्ने शहीदका अगाडि आफूले भोगेको त्यसबेलाको कष्ट केही होइन भन्छन् उनी ।
नयाँनयाँ सोच र सृजनात्मक विचार गरिरहने थापालाई ट्रेकिङ व्यवसायले पनि सन्तुष्टि दिन सकेन । २०५१ सालमा धादिङ फर्केर उनले प्रोग्रेसिभ इण्टरप्राइजेज दर्ता गरी निर्माण सामग्रीको विक्री शुरू गरे । अधिकार र कर्तव्य सँगसँगै खोज्नुपर्छ भन्ने भावना भएका थापा व्यवसाय क्षेत्रको सुधार र व्यवसायीहरूको हकअधिकारका लागि निरन्तर लाग्ने प्रणसहित २०५३ सालमा उद्योग वाणिज्य सङ्घ धादिङको सदस्य भएका हुन् । सदस्यता प्राप्तिको २ वर्षपछि भएको जिल्ला सङ्घको निर्वाचनमा उनी सचिव पदमा निर्वाचित भए । देश विकासका लागि निजीक्षेत्रलाई राज्यले महत्त्व दिनुपर्नेमा जोड दिने उनी सर्वसम्मत जिल्ला अध्यक्ष चुनिए । ६ वर्षसम्म जिल्ला सङ्घको नेतृत्व गरेका उनी २०६६ मङ्सिरमा मध्यमाञ्चल समितिको अध्यक्षमा निर्वाचित भएका हुन् । दीर्घकालीन योजना बनाएरमात्र निजीक्षेत्रको विकास गर्न सकिने उनको बुझाइ छ ।
निजीक्षेत्रको विकासविना मुलुकको समृद्धि नहुने तर्क गर्छन् थापा । राजनीतिक निकासपछि मात्र देशमा आर्थिक विकास हुने नेताहरूका अभिव्यक्तिप्रति असहमति प्रकट गर्छन् उनी । भन्छन्-राजनीतिक निकास र आर्थिक विकास सँगसँगै जाने कुरा हो । अर्थतन्त्रको विकास राज्यले गर्ने होइन, सरकारले उचित वातावरण र ठोस नीति बनाइदिनुपर्छ । लगानीमैत्री ऐनकानून र वातावरण तयार भए केही वर्षमै आर्थिक उन्नयन हुनेमा उनी ढुक्क छन् । सार्वजनिक र निजीक्षेत्रबीचको साझेदारीलाई गम्भीर भएर अगाडि बढाउन सम्बद्ध सबैलाई उनको अनुरोध छ । आर्थिक विकासका लागि राजनीतिक दलहरू पनि साझा आर्थिक एजेण्डामा सहमत हुनुपर्ने उनको विश्लेषण छ ।
थापा स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको आवश्यकतामा जोड दिन्छन् । स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई राज्यले प्राथमिकता दिनुपर्ने र वैज्ञानिक कृषिप्रणाली लागू हुनुपर्ने उनको माग छ । ८० प्रतिशत कृषिमा आधारित जनसङ्ख्या भएको देशले ९० प्रतिशत सामग्री आयात गर्नुपर्ने स्थितिबाट मुक्त हुनेतिर लाग्नु अहिलेको आवश्यकता भएको बताउँछन् उनी । मुलुकमा आर्थिक विकासका सम्भावना धेरै देखेका छन् उनले । प्रकृतिले नेपाललाई भूस्वर्ग बनाएकाले पर्यटन प्रवर्द्धन नै आर्थिक क्रान्तिको माध्यम हुने उनी उल्लेख गर्छन् ।
दुई छोरी र एक छोराका बाबु थापाको एकमात्र लक्ष्य निजीक्षेत्रको विकास गर्ने हो । उनको चासो र सरोकार यसैमा छ । निरन्तर व्यावसायिक हकहित र देशको अर्थव्यवस्था सुधारमा आवाज उठाइरहने थापा नेपालमा विद्युत्को उत्पादन र विकासको ठूलो सम्भावना देख्छन् । त्यसैले उनले विद्युत् उत्पादन र विकासमा सर्वाधिक समय दिने प्रण गरेका छन् । नास्तिक होइनन् थापा । समय पाउँदा मन्दिर जान्छन् । आफू बसेको समाजको उत्थानमा सकेको सहयोग गर्नुपर्ने उनको मान्यता छ । संस्थागत संस्कृति र संस्कारको विकास प्रारम्भिक चरणमा रहेको उनी बताउँछन् ।
Admin 2011-06-06