''अनुरोध ऊर्जाको'' - पवनकुमार गोल्यान
अध्यक्ष, गोल्यान ग्रूप अफ इण्डष्ट्रिज
पिता सोहनलालले थालेको व्यापार-व्यवसायलाई उनले १७ वर्षको किशोरावस्थादेखि नै सम्हालेका हुन् । काममा समर्पित हुने प्रेरणा पनि पिताबाटै पाएका उनले दाजु वासुदेवसँगको सहकार्यमा व्यापारका कला र शीप सिकेका हुन् । गोल्यान ग्रूप अफ इण्डष्ट्रिजका अध्यक्ष ५२ वर्षीय पवनकुमार गोल्यानलाई व्यापारको वातावरण आफूले नै बनाउनुपर्छ भन्ने लाग्छ । मुलुकको आर्थिक उन्नयनका निम्ति सरकारको मात्र मुख ताक्नुभन्दा आफूले नै गरेर देखाउनु बुद्धिमानी हुने उनको बुझाइ छ । हरेक व्यक्तिले आफ्नो नागरिक दायित्व वहन गर्नुपर्नेमा उनको जोड छ । नेपालको औद्योगिक विकासका लागि नेतृत्व वर्गले भारतसँग ऊर्जा खरीदको सम्झौता गर्नुपर्ने विचार व्यक्त गर्ने उनी नेतृत्व वर्गले देशको बृहत् हितलाई दृष्टिगत गरी सहायता माग्नुपर्ने बताउँछन् । भुटानलाई दिएजस्तै सहुलियतपूर्ण ऊर्जा र सुविधा नेपाललाई पनि उपलव्ध गराउन राजनीतिक नेतृत्वले भारतसँग अनुरोध गर्नुपर्ने उनको मत छ । भन्छन्- 'कम्तीमा १० वर्षका निम्ति त्यस्तो सहायता प्राप्त भएमा देशलाई आर्थिक रूपले सबल बनाउन बेर लाग्दैन ।' नेपालले खपत गरेको ऊर्जा भविष्यमा शोधभर्ना गर्ने गरी उपयोग गर्न सकिने भएकाले सम्भावनको खोजी गर्न सम्बन्धित निकायलाई उनको सुझाव छ ।
नेपाल धागो उत्पादक सङ्घ, रिलायन्स स्पिनिङ मिल्स, एनएमबी बैङ्क, वेष्टार प्रपर्टिज, एटलाण्टा ट्रेडिङ, सिटी प्रपर्टिज, धनलक्ष्मी सिन्थेटिक्स, हिमाली पश्मिना उद्योग, शिवम् प्लाष्टिक इण्डष्ट्रिजलगायत औद्योगिक प्रतिष्ठान एवम् सङ्गठित संस्थाका अध्यक्ष पवनको मातहतमा झण्डै ५ हजार कर्मचारी कार्यरत छन् । नेपाल इण्डष्ट्रियल एण्ड कमर्शियल बैङ्क, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रवर्द्धक उनी कर्मचारीहरूलाई क्षमताअनुसार जिम्मेवारी दिने गर्छन् । प्रमुख कार्यकारी अधिकृत र महाप्रबन्धकले उनका उद्योगधन्दा सञ्चालन गरे पनि निरन्तर अनुगमन गर्न चुक्दैनन् उनी । सबै कर्मचारीसँग समान व्यवहार गर्ने उनको बानी छ । समस्या समाधानमा उनको छुट्टै विशेषता छ- तत्काल निर्णय गर्ने । सूक्ष्मभन्दा पनि सूक्ष्म विषयलाई उनी उत्तिकै प्राथमिकता दिन्छन्- सानो झिल्को दावानलमा परिणत नहोस् भनेर । उनको यही व्यवस्थापकीय चातुर्यका कारण १० वर्षको द्वन्द्वमा पनि उनका कम्पनीमा कहिल्यै मजदूर समस्या आएन । कर्मचारीलाई मित्रवत् व्यवहार गर्ने र उनीहरूलाई वृत्तिविकासको प्रशस्त अवसर दिएर लक्षित परिणाम हासिले गर्ने उनको कार्यशैली हो । आफ्नो मात्र फाइदा हेर्ने र अर्कालाई मर्का पर्ने गरी झूटो बोल्ने मान्छे उनलाई फिटिक्कै मन पर्दैन ।
एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल पवनलाई अत्यन्त व्यावसायिक व्यक्ति मान्छन् । त्रुटि औंल्याउने र त्यसलाई सुधार्न सल्लाह दिने उनको बानी उपेन्द्रलाई प्रशंसनीय लाग्छ । आफू माथिल्लो तहमा भईकन पनि उनले मातहतका कर्मचारीको कार्यक्षेत्रमा अतिक्रमण नगर्ने र विषम परिस्थितिमा पनि सौम्य, शान्त र सक्रिय भएर काम गर्ने पवनको कार्यशैलीबाट आफू प्रभावित भएको बताउँछन् उनी । प्रमुख कार्यकारी अधिकृतहरूको पारिश्रमिकका सम्बन्धमा नेपाल राष्ट्र बैङ्कले जारी गरेको परिपत्र अव्यावहारिक भएको पवनको विश्लेषण छ । सञ्चालक समितिको विशेषाधिकारमा राष्ट्र बैङ्कले अङ्कुश लगाउन खोजेजस्तो लाग्छ उनलाई । केन्द्रीय बैङ्कले प्रस्तुत परिपत्र परिमार्जन गर्नेमा उनी विश्वस्त छन् । पछिल्लो परिपत्रले सीईओहरूमा निराशा सृजना गरेको उनको बुझाइ छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्न नसकिने भएकाले परिपत्रले नकारात्मक प्रभाव पार्ने उनको टिप्पणी छ । बैङ्क तथा वित्तीय संस्थाको विलय (मर्जर) लाई अपरिहार्य ठान्ने पवन त्यसनिम्ति साझेदार खोजिरहेको बताउँछन् ।
सञ्चालनमा रहेका उद्योगलाई नै सुदृढ गर्ने योजना छ पवनको । व्यापारबाट विस्तारै बाहिरिने विचारमा छन् उनी । समाजसेवामा लाग्ने चाहना छ, उनमा । दिवङ्गत ज्येष्ठ सुपुत्र जयन्तका नाममा मुलुकको कुनै पिछडिएको गाउँलाई हरेक हिसाबले समृद्ध बनाउने उनको लक्ष्य छ । १ हजारदेखि १ हजार २ सय मानिसको बस्तीको भौतिक विकासका लागि तन, मन र धन समर्पण गर्दै छन् उनी यसै वर्षदेखि । एकमात्र सुपुत्रीलाई उनले कर्मघर पठाइसकेका छन् । उनका छोरा दुबईमा अध्ययनरत छन् । आफूलाई समय नदिएको गुनासो बारम्बार सुन्नुपर्छ उनले परिवारबाट । त्यसैले उनले शनिबार परिवारलाई छुट्टयाएका छन् । शाकहारी उनी चुरोट र मदिरामा हात लगाउँदैनन् । दुर्गा भवानीका अनन्य भक्त उनी हरेक बिहान दुर्गाकवच, अर्गला र किलक स्त्रोत्र पाठ नगरी भोजन गर्दैनन् । त्यसो गर्दा उनलाई आत्मसन्तुष्टि हुन्छ ।