शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''ईश्वरको अभिभावकत्व'' - सविता ढुङ्गाना
सञ्चालक, आकर्षण इण्टेरियर्स
'मान्छेलाई जति सम्पत्ति भए पनि पुग्दैन' धनसम्पत्तिको पछाडि दौडने मानव स्वभाव र वर्तमान प्रवृत्ति उजगार गर्दै दार्शनिक पारामा उनी भन्छिन् । फलामका फर्निचर उत्पादन गर्ने प्रथम नेपाली महिला भएको दाबी गर्ने उनी छोराछोरी हुर्केपछि आफूलाई व्यस्त राख्न उद्यमतिर लागेकी हुन् । फलामका फर्निचर उत्पादनसँगै आन्तरिक गृह सजावटको व्यवसाय थालेकी आकर्षण इण्टेरियर्सकी सञ्चालक सविता ढुङ्गाना उद्योग व्यवसायमा महिलाहरूको भविष्य उज्ज्वल देख्छिन् । र, उद्यम गर्नेतिर लाग्न आग्रह पनि गर्छिन् । जलस्रोत, कृषि, जडीबुटी, पशुपालन, पर्यटन आर्थिक समृद्धिका वाहक भएकाले तिनको भरपुर सदुपयोग गर्न राज्यस्तरबाट आवश्यक सहयोग हुनुपर्नेमा उनको जोड छ ।  आर्थिक उपार्जनका कार्यक्रममा महिलावर्गलाई विशेष  प्राथमिकतामा राखेर काम गर्दा गरीबी न्यूनीकरणमा सहयोग पुग्ने उनको ठम्याइ छ ।

लगानीमैत्री वातावरण नहुँदा हतोत्साहित भएका उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने उनी बताउँछिन् । बहुसङ्ख्यक जनता कृषिमा निर्भर भएकाले उनीहरूको उत्थान तथा उत्पादकत्व विकासका लागि उनीहरुका उत्पादनका लागि बजार उपलब्ध हुनुपर्ने उनको विचार छ । कृषिमा आधारित उद्योगलाई टेवा दिने, किसानलाई निश्चित समयसम्म निर्ब्याजी ऋण सुविधा दिनसके  त्यसले शीघ्र प्रतिफल दिने उनको ठम्याइ छ । वन पैदावारको विकास तथा उपयोगबाट प्रशस्त आर्जन गर्न सकिने अनुभव सँगालेकी उनी आधुनिक प्रविधिमा आधारित कृषिप्रणालीलाई आत्मसात गर्नुपर्ने धारणा व्यक्त गर्छिन् । फलफूल, तरकारी र नगदेबालीले मनग्गे आम्दानी दिने भएकाले जग्गाजमीन हुने दिदीबहिनीले कुटोकोदालो गर्दा सुन फल्ने उनको सुझाव छ । जग्गा नहुनेलाई भाडामा लिएर भए पनि त्यसमा श्रम गर्न उनको अनुरोध छ । '१५-२० हजारका लागि खाडीमुलुकतिर गइराख्नु पर्दैन' कृषि र त्यसमा आधारित कुटीर उद्योग सञ्चालनको सुझाव दिँदै उनी भन्छिन् । सानो खर्चका लागि अर्काको मुख ताक्नुपर्ने बाध्यताबाट मुक्त हुन नारीजगत् सङ्गठित एवम् जागरुक हुनुपर्ने मत व्यक्त गर्ने उनी 'अवसर पाए महिलाले गर्न नसक्ने कुनै कार्य छैन' भन्छिन् ।
    
विगत १८ वर्षदेखि फर्निचर उद्योग सञ्चालन गर्दै आएकी ढुङ्गानले 'इण्टेरियर डिजाइनिङ'लाई पनि पेशाको रूपमा अघि बढाएको २ वर्षपूरा भएको छ । कम मूल्यमा चिनियाँ फर्निचर बजारमा छयापछयाप्ती पाइन थालेपछि उनको व्यापार ओरालो लागेको छ । यद्यपि उनले हिम्मत हारेकी छैनन् । गुणस्तरीय सामग्रीका पारखी उनका उत्पादन खरीद गर्न आइरहन्छन् । आफ्नो पेवाको पैसाले शुरू गरिएको व्यवसाय राजनीतिक अस्थिरता र बढ्दो प्रतिस्पर्धाका कारण विस्तारित हुन नसके पनि उनी र उनका केही कर्मचारीको खर्च धान्न सफल भएको छ । महिलाहरूलाई गुन्द्रुक, अचार बनाउनेलगायत जानेको शीप व्यवहारमा उतारेर आत्मनिर्भर हुन उनको सल्लाह छ । परेको बेला हरतरहले कर्मचारीलाई सहयोग गर्ने उनको बानी छ । आफ्ना कर्मचारीलाई इमानदारीपूर्वक काम गर्न प्रेरणा दिने उनलाई समयको ख्याल नगर्नेसँग काम गर्न मन लाग्दैन । र, अनुशासनमा नबस्नेहरू उनको आँखाका कसिङ्गर हुन् ।
    
मुलुक सङ्क्रमणकालीन अवस्थामा रहेकाले सबैले मिलेर यसलाई त्यसबाट मुक्त गर्नुपर्छ भन्ने ढुङ्गानालाई नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई प्रिय लाग्छन्- उनी लोभी नभएकाले । उद्यमी हुने कल्पनासमेत नगरेकी उनी श्रीमान्को सहयोग र प्रेरणाबाट मुलुककी नाम चलेकी नारी उद्यमी हुन पाएकोमा गर्व गर्छिन् । समयअनुसार फेशन गर्ने उनी भद्दा मेकअप र उत्ताउलो पहिरनको विरोध गर्छिन् । दुवै खुट्टा नचल्ने पिता र बोली नभएकी माताबाट जन्मिएको शिशुलाई उनले भाग्यदान गरेकी छिन् । आफ्नै दुइ सन्तानसरह स्नेह पाएर ऊ कलेजमा पढिरहेको छ । समाजसेवा गर्दा असीम आनन्दको अनुभूति हुने भएकाले उनले त्यो शिशुको भरणपोषण र शिक्षाको जिम्मेवारी लिएकी हुन् । बिहेपछि उसकै संसारमा रम्न दिन उनले उसका निम्ति छुट्टै फ्ल्याटसमेत खरीद गरेकी छन् ।

ईश्वरमा विश्वास गर्ने ढुङ्गाना हरेक बिहान पाञ्चायन पूजा गर्छिन् । उनले घरमा नै सानो पाञ्चायन मन्दिर बनाएकी छन् । पूजा गर्दा उनलाई आत्मसन्तुष्टि हुन्छ । 'ईश्वर अभिभावक हो' आफ्नो र देशवासी सबैको एकमात्र रक्षकर् इश्वर भएको उनको बुझाइ छ । सिभिल इञ्जिनीयर श्रीमान्ले उनलाई हरेक काममा हौस्याउने गरेका छन् । उनले विश्वका अधिकांश महत्त्वपूर्ण मुलुकको भ्रमण गरेकी छन् । गीत गाउन र सुन्न शोखिन उनी नाराणगोपालको स्वरबाट मन्त्रमुग्ध हुन्छिन् । 'काठ चिल्लो पारेर हुने कलात्मक सिर्जनालाई फलामलाई पनि सजीवता दिन' विदेश भ्रमणले उनलाई सिकाएको हो । देशका हिमाल, पहाड र तराईसँगसमेत उनी राम्ररी परिचित छिन् । नेपाललाई आर्थिक रूपमा सबल बनाउन हरेक तह र तप्काका मान्छेलाई उद्यमशील हुन उनको अनुरोध छ ।