शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''प्रविधि नपढेका प्राविधिक'' - मुकुन्द मल्ल
पूरा आकरमा हेर्नुहोस्प्रमुख कार्यकारी अधिकृत
स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रालि

उनी कुनै प्राविधिक होइनन् । औपचारिक रूपमा उनले प्राविधिक शिक्षा पनि हासिल गरेका छैनन् । तर, उनले नेतृत्व गरेको कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गरेर कागतरहित बैङ्किङ सेवालाई सहज बनाएको छ । वाणिज्य तथा विकास बैङ्कका साथै वित्तीय संस्थाका निमित्त डेबिट (अटोमेटेड टेलर मेशिन, एटीएम) कार्ड बनाउने स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससीटी) लाई उनले नेतृत्व दिएको १३ महीना पूरा भएको छ । एक दशकभन्दा बढी समय बहुराष्ट्रिय कम्पनी डीएचएलको 'कण्ट्री म्यानेजर' भएर  निजीक्षेत्रको कार्यसंस्कारसँग भिजेका उनका लागि एससीटी नौलो होइन । वृत्ति विकासको चाहनाले उनलाई एससीटीमा पुर्याएको हो । डीएचएलमा पनि उनले अवसर भने नपाएका होइनन् । 'करिअर ग्रोथका निम्ति श्रीलङ्काको टीमलाई नेतृत्व गर्ने मौका पाएको थिएँ तर त्यताभन्दा यता उपयुक्त लाग्यो' डीएचएलको देशीय व्यवस्थापक हुन विविध कारणले कोलम्बो नगएको उनी उल्लेख गर्छन् । विदेशीमाथिको सुरक्षा जोखिमले पनि उनी त्यता नगएका हुन् ।

मल्लले नेतृत्व गरेको कम्पनीले ७० ओटा बैङ्क तथा वित्तीय संस्थालाई एससीटी सञ्जालमा समाहित गरेको छ । सन् २०१० मा स्थापना भएको एससीटीले भारत र भुटानमा पनि सेवा दिँदै आएको छ । हाल उनको सञ्जालबाट १० लाख ग्राहकले कार्ड सेवा लिइसकेका छन् । पञ्जाब विश्वविद्यालयबाट कला सङ्कायमा स्नातकोपाधि हासिल गरेका उनी २४ सै घण्टा सेवा दिनुपर्ने संस्थाको नेतृत्वतहमा रहेकाले मातहतका कर्मचारीलाई काम लगाउन सिपालु छन् । कामका निम्ति भौतिक सुविधाका साथै वातावरण पनि उनले बनाइदिएका छन् । आफू दृष्टान्त बनेर अरूलाई देखाउनुपर्ने उनको मान्यता छ । 'आफू घरमा बसेर मातहतका कर्मचारीलाई हिँडेर भए पनि अफिस आऊ भन्न हुँदैन' रोलमोडेल आफै हुनुपर्नेमा जोड दिँदै उनी भन्छन् । समूहगत कार्यमा विश्वास गर्ने उनले कर्मचारीलाई स्वामित्वबोधसहितको उत्तरदायित्व सुम्पने गरेका छन्- सर्वोत्कृष्ट परिणामका लागि । आवश्यकतानुसार उनीहरूलाई आर्थिक एवम् भौतिक सहयोग गर्न पनि पछि पर्दैनन् । सबैको सक्रिय सहयोगबाट कम्पनी र आफूहरूको हित सुनिश्चित हुने भएकाले त्यसैलाई व्यवस्थापनमन्त्र मानेर काम गर्न प्रेरणा दिने उनको बानी छ । अरूको कुरा नसुन्ने आफ्नै मात्र कुरामा लिँडेढिपी गर्नेहरूसँग काम गर्न उनी तर्किन्छन् । भन्छन्- परिवर्तन नचाहने यथास्थितिवादीसँग व्यवहार गर्न जटिल हुन्छ ।

डीएचएलका कण्ट्री म्यानेजर गगन मुखिया मल्ललाई इमानदार एवम् पारदर्शी व्यक्तिका रूपमा चित्रण गर्छन् । मल्लमा निहित नेतृत्वदायी क्षमताबाट आफू प्रभावित भएको उनी उल्लेख गर्छन् । अनुभवविहीनलाई हाँसीहाँसी सिकाउने र तल्लो तहका कर्मचारीको मन जितेर काम गर्ने मल्लको गुण प्रशंसनीय भएको मुखिया उल्लेख गर्छन् । मल्लको दोहोरो सञ्चारको शैली पनि उनलाई प्रभावकारी लाग्छ ।

आफ्नै परिश्रमबाट वर्तमान अवस्थामा पुगेको बताउने मल्ल काठमाडौं बाहिरका वित्तीय संस्थामा पनि आफ्नो सेवा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेका छन् । उनी आफूलाई स्वनिर्मित व्यावसायिक व्यक्ति भन्न रुचाउँछन् । भाटभटेनी डिपार्टमेण्ट स्टोरका प्रमुख मीनबहादुर गुरुङजस्ता 'सेल्फमेड' उद्यमीहरूबाट नयाँ पुस्ताले धेरै सिक्न सक्ने उनको बुझाइ छ । गुरुको दीक्षाबाट मदमांस त्यागेका उनी कार्यालयपछि सोझै घर जान्छन् । एक छोराका जनक उनी धर्ममा विश्वास गर्छन् । र, मनको शान्तिका लागि आक्कलझुक्कल मन्दिर पनि जान्छन् । समाजबाट कमाएको पैसा समाजका लागि लगानी गर्नुपर्ने उनको मान्यता छ । समाजसेवामा अधिक रुचि भएका उनले सुविधासम्पन्न राष्ट्रिय एम्बुलेन्स सेवा सञ्चालनको तयारी गरिरहेका छन्- अस्पताल पुग्न नपाएर अकालमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भनेर । गीतसङ्गीत र स्केचिङका शौखिन उनले एल्बम उत्पादन वा आफ्ना सृजनाहरूको प्रदर्शनी आयोजना गरेका छैनन् ।