तीन 'स' मा समर्पण
युगेशभक्त वादे श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत
एलाइन्स इन्स्योरेन्स कम्पनी लिमिटेड
बीमा कम्पनी सामाजिक दायित्व बोकेको व्यवसाय भएकाले व्यक्तिगत जीवनदेखि संस्थागत अथवा व्यावसायिक क्षेत्रसम्म यो अनिवार्य बनिसकेको बताउँछन्- युगेशभक्त वादे श्रेष्ठ । एलाइन्स इन्स्योरेन्सलाई नेतृत्व गरिरहेका उनी तीन 'स' अर्थात् सेवा, सुरक्षा र सचेतना प्रदान गर्न आफू समर्पित रहेको दाबी गर्छन् । 'सामाजिक सुरक्षा र आर्थिक लाभ दुवै दृष्टिमा बीमा अनिवार्य बनेको छ,' युगेश भन्छन्, 'बीमा गर्ने कुरामा हेलच्याक्रयाइँ गर्नु हुँदैन ।'
निर्जीवन बीमाका क्षेत्रमा काम गरिरहेको यस संस्थामा उनी स्थापनाकालदेखि नै संलग्न छन् । आव २०६५/६६ मा उनको संस्था सबैभन्दा बढी बीमालेख जारी गर्ने बीमा कम्पनी भएको थियो । सहनशील एवम् शालीन स्वभावका युगेशको कुशल व्यवस्थापनले नै कम्पनी समृद्ध बन्दै आएको छ । तर, संस्था सफल हुनुको कारण उनी आफूलाई मान्दैनन् । भन्छन्, 'संस्थाका कर्मचारी र सञ्चालक सदस्यको योगदानकै कारण आज हामी यो अवस्थामा छौं ।' कुनै पनि काम गर्दा आत्मविश्वासका साथ गर्नुपर्ने उनी बताउँछन् । ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको उनको संस्थाले बैङ्क तथा वित्तीय संस्थामा २९ करोड लगानी गरेको छ । त्यसैको परिणाम मान्नुपर्छ संस्थामा आबद्ध ४५ हजार बीमितहरूको विश्वास ।
उनको सिङ्गो परिवार नै बैङ्किङ क्षेत्रमा समर्पित थियो । राजधानीको विश्व निकेतन माविबाट २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि मात्रै युगेशले भविष्यका सपना बुन्न थाले । 'एसएलसी पास गरेपछि मलाई व्यवसायले लोभ्यायो,' उनी भन्छन् । व्यवसायी बन्ने सपना पूरा गर्नैका लागि उनले पब्लिक युथ क्याम्पसमा व्यवस्थापन विषय लिएर पढेँ ।' स्वावलम्बी स्वभावका उनले त्यतिबेलै कलरल्याबमा काम गरे । २०४७ मा स्नातक पूरा गरेर उनले होटल ब्लू स्टारमा व्यापार सहायकको जिम्मेवारी सम्हालेर ३ वर्ष काम गरे । त्यही बेला एक विदेशी कम्पनीमा काम गर्ने मौका पाएर थाइल्याण्ड पुगे । आकर्षक तलब हुँदाहुँदै पनि केही समय त्यहाँ काम गरेपछि उनी स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच राखी फर्किए । 'विदेशमा कहिल्यै राम्रो नहुँदो रहेछ,' युगेश भन्छन् । यहाँ आएर उनले केही सहपाठीसँग मिलेर कम्प्युटरको व्यापार थाले । 'त्यतिबेला यो नयाँ व्यवसाय थियो,' उनी भन्छन्, 'तर, त्यसमा पनि म सन्तुष्ट हुन सकिनँ ।' त्यसपछि उनले ट्रेडिङ हाउसका सामानको व्यापार गरे । त्यो पनि उनका लागी फलदायी भएन । २०५३ सालमा एलाइन्स इन्स्योरेन्स स्थापनाको क्रममा थियो । त्यही बेला उनलाई कम्पनीका तत्कालीन महाप्रबन्धक पुष्पदास श्रेष्ठले सँगै मिलेर काम गर्न आनुरोध गरे । 'मलाई पनि जागीरको स्थायित्व चाहिएको थियो, त्यही परिवेशमा यहाँ आएँ,' उनी विगत स्मरण गर्दै भन्छन् ।
कम्पनीमा उनी अफिसर भएर प्रवेश गरे । इमानदार र कामप्रति उत्तरदायी उनको व्यवहारले कम्पनीको विश्वास जित्दै गए । मेहनत गरेर लक्ष्यभन्दा दोब्बर बढी प्रतिफल कम्पनीलाई दिलाइदिए । यसैको परिणाम महाप्रबन्धक हुँदै हाल प्रमुख कार्यकारी अधिकृत भएका छन् । साढे दुई वर्षयता कम्पनीको नेतृत्व गरिरहेका युगेश बीमा चेतना प्रदान गर्न हरपल लागिरहेका छन् ।बीमा कम्पनीमध्ये एलाइन्स सबैभन्दा बढी चुक्ता पूँजी रहेको उनको दाबी छ । मुलुकभरका १० शाखामा कार्यरत १ सय १५ कर्मचारीलाई उनी राजधानीबाटै संयोजन गरिरहेका छन् । सबैको कुरा सुन्ने बानी छ उनको । कसैसँग पनि झगडा गर्दैनन् । थोरै बोल्छन् तर चाहिने मात्रै बोल्नुपर्छ भन्छन् । युगेश सञ्चारमाध्यममा आउन त्यति रुचाउँदैनन् ।
प्रतिव्यक्ति आय नबढेसम्म बीमा व्यवसाय फस्टाउन नसक्ने उनको धारणा छ । अहिले मुलुकका ५ प्रतिशत जनसङ्ख्यामात्रै बीमासँग आबद्ध रहेको बताउँछन् उनी । फुसदमा सङगीत सुन्न रुचाउने उनी नारायण गोपालका गीतमा मन्त्रमुग्ध हुन्छन् । स्वस्थ मनोरञ्जनका लागि महजोडीको प्रस्तुति छुटाउँदैनन् । ईश्वरप्रति विश्वास राख्ने उनी आत्मसन्तुष्टि प्राप्त गर्न पूजापाठ गर्छन् । अर्थ-राजनीतिसम्बन्धी पुस्तक अध्ययन गर्ने उनको शौख छ । बिहान ५ बजे उठ्छन् । शारीरिक कसरत गर्छन् र तरकारी किन्न आफै पसलमा पुग्छन् । 'फुसदमा तरकारी आफै पकाउन मनपर्छ,' उनी भन्छन् ।समसामयिक राजनीत्रि्रति उनको निकै चाख छ । अहिलेको राजनीतिमा आत्मकेन्द्रित चिन्तन हाबी भएको युगेशको बुझाइ छ । देशको हितमा काम गर्ने नेता निकै कम मात्र भएको उनको ठम्याइ छ । समाजसेवामा लाग्ने सोच भए पनि अहिल्यै समय नभएको उनलाई लाग्छ । भन्छन्, 'अहिलै समाजसेवामा लाग्ने समय भएको छैन ।'
Admin 2011-08-08