''स्वस्थ प्रतिस्पर्धाका पक्षपाती'' - महेशकुमार अग्रवाल
अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत
महेश ओभरसिज ग्रूप
उनी सञ्चारमाध्यममा अत्यन्त कम आउने थोरै नेपाली उद्यमीमा पर्छन् । प्रचारभन्दा काम बढी महत्त्वपूर्ण ठान्छन् उनी । पूर्वको पर्यटकीय नगरी धरानमा ५७ वर्षअघि जन्मेका महेश ओभरसिज ग्रूपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत महेशकुमार अग्रवाल मुलुकका अग्रणी उद्यमी-व्यवसायीहरूको साझा मञ्च नेपाल चेम्बर अफ कमर्शको अध्यक्ष हुँदा पनि विरलै देखिन्थे सञ्चारजगत्मा । देशको वर्तमान राजनीतिक अवस्थाबारे टीकाटिप्पणी वा गुनासो गर्नु औचित्यहीन लाग्छ उनलाई । व्यवसाय गर्नेले आशावादी हुनुपर्छ भन्ने उनी राजनीतिक कारणले आर्थिक गतिविधि प्रभावित हुन नहुने विचार व्यक्त गर्छन् । सधैं सकारात्मक सोचका साथ काम गर्ने उनी राष्ट्रको आर्थिक अवस्था चाँडै सुध्रिनेमा आशावादी छन् । बिजुली नहुँदा औद्योगिक उत्पादन घटे पनि व्रि्रेषण, सेवा उद्योग, दूरसञ्चार, बैङ्किङ क्षेत्रले उन्नति गरेको उनको विश्लेषण छ । कृषिको वैज्ञानिकीकरण, उपयुक्त कर नीति, महिला उद्यमशीलताको विकासबाट खस्कँदो अर्थतन्त्र उकास्न राजनीतिक नेतृत्व संवेदनशील हुनेमा पूर्ण विश्वस्त छन् उनी । कुनै पनि पक्ष झीनामसिना कुरामा अल्झेर आर्थिक विकासको बाधक बन्न नहुने उनको बुझाइ छ । स्वस्थ प्रतिस्पर्धा गर्दै अगाडि बढेमा सफलता प्राप्त हुने उनलाई लाग्छ । 'राइट पसन एट राइट प्लेस' उनको व्यवस्थापन मन्त्र हो ।
जोसँग पनि घुलमिल हुने र शीघ्र साथीभाइ बनाउन खप्पिस अग्रवाल कर्मचारीसँग मित्रवत् व्यवहार गर्छन् । कर्मचारीलाई स्वामित्वबोधसहितको निर्णयअधिकार दिने उनको बानी छ । सबै काम सकारात्मक सोचका साथ गर्न उनीहरूलाई सधैं प्रेरणा दिइरहन्छन् उनी । समूहगत काममा विश्वास गर्ने उनी कर्मचारीबाट प्राप्त सहयोगबाट नै कम्पनी अहिलेको अवस्थामा पुगेको सविनय स्वीकार्छन् । बेइमान र नकारात्मक सोच भएको मान्छेसँग काम गर्न उनलाई पटक्कै मन लाग्दैन । नेपाल चेम्बर अफ कमर्शका भूतपूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ अग्रवाललाई मिलनसार, मृदुभाषी एवम् कोमल हृदयी व्यक्तिका रूपमा चित्रित गर्छन् । इमानमा अडिग उनको बानीलाई समाजका निम्ति दृष्टान्त मान्छन् श्रेष्ठ ।
व्यावसायिक संस्कारको विकास नभएसम्म व्यक्ति वा व्यवसायमा प्रगति नहुने उनको ठम्याइ छ । केही हदसम्म व्यावसायिक संस्कारको विकास समाज र परिस्थितिमा निर्भर हुने बताउँछन् अग्रवाल । 'अरूलाई व्यावसायिक होऊ भन्नुभन्दा आफै रोल मोडेल हुनुपर्छ,' अङ्ग्रेजी उखान 'च्यारेटी विगिन्स एट होम' उच्चारण गर्न उनी पछि पर्दैनन् । समयअनुसार नचल्नेलाई व्यावसायिक भन्न नरुचाउने उनी अनुत्पादक काममा समय बर्बाद गर्नुर्लाई विवेकहीनताको संज्ञा दिन्छन् ।
व्यावसायिक संस्कार र संस्कृतिको विषयमा बहस गर्दा एउटै व्यक्ति प्रबन्धक, महाप्रबन्धक, कार्यकारी अधिकृत, कम्पनीको मालिकलगायत विभिन्न पदमा आसीन हुने र परिणाम शून्य हुने अवस्था मुलुकमा अद्यापि विद्यमान रहेको उनको ठम्याइ छ । 'कार्यपद्धतिको विकास सबै कम्पनीले गर्नुपर्छ' भन्ने अग्रवाल सबै काम प्रक्रियागत रूपमा हुनुपर्नेमा जोड दिन्छन् । शाखाअधिकृतबाट नै सम्पन्न हुने काम सहसचिव वा सचिवसम्म पुर्याइरहनु हुँदैन भन्ने उनी कार्य संस्कार र संरचना स्थापित भएमा कुनै पनि कार्यालयको व्यवस्थापनमा कठिनाइ नहुने उल्लेख गर्छन् । परिश्रम र इमानदारी व्यक्तिका गहना भएकाले त्यो व्यवसायमा पनि लागू गर्नुपर्नेमा उनको जोड छ । 'चरित्रहीन हुँदा व्यवसाय र समाजमा टिक्न सकिँदैन र कसैलाई झूटो आश्वासन दिनुहुँदैन' चरित्रवान् व्यक्ति सबैतिर पूजनीय हुने तर्क गर्दै उनले भने ।
हजुरबुबाको पालादेखि थालिएको व्यापारलाई अग्रवालले थप उचाइ दिएका छन् । विद्यार्थीकालदेखि नै उनले पारिवारिक व्यापारमा भरपूर भरथेग गरेका थिए । प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण हुनु र चेम्बरको अध्यक्ष बन्नुलाई उनले जीवनको उपलब्धि मानेका छन् । त्रिभुवन विश्वविद्यालयबाट व्यापार व्यवस्थापनमा स्नातकोत्तर गरेका उनलाई शैक्षिक समृद्धि आर्थिक उन्नयनको मार्ग लाग्छ । पितामाता र परिवारका वरिष्ठ सदस्यबाट प्रेरणा पाएका हुन् उनले ।
नेपाल स्काउट, जेभियर इण्टरनेशनल कलेज, नेपाल रसिया सांस्कृतिक सङ्घ, गणेशमान सिंह फाउण्डेशन, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज, नेपाल बास्केट बल सङ्घलगायत एक दर्जनभन्दा बढी सामाजिक एवम् व्यावसायिक सङ्घसंस्थासँग सम्बद्ध छन् अग्रवाल । समाजको विकासका लागि सकेको सहयोग गर्नुपर्छ भन्ने लाग्छ उनलाई । उनी तिनै सामाजिक सङ्घसंस्थामार्फत सहायता गरिरहन्छन् । दीनहीन विद्यार्थीलाई उनले छात्रवृत्ति पनि दिएका छन् । धर्ममा अगाध आस्था छ उनको । शिवरात्रिजस्ता अति पवित्र दिनमा व्रत बस्छन् उनी । आध्यात्मिक शक्ति प्राप्त हुन्छ उनलाई मन्दिर जाँदा । आफूभन्दा सानाको पनि सल्लाह र सुझाव लिने उनलाई समतामूलक समाज निर्माणमा देशका हरेक वर्गको भूमिका अपरिहार्य लाग्छ ।
Admin 2011-03-08