शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

विश्वास परिणाममा
श्रीधर गौतम
सचिव
सूचना तथा सञ्चार मन्त्रालय
'सकारात्मक सोचका साथ काम गर्यो भने परिणाम पनि सकारात्मक नै आउँछ' सूचना तथा सञ्चार मन्त्रालयका सचिव श्रीधर गौतम आमसञ्चार र यससँग सम्बद्ध व्यक्तिले मात्र होइन, सारा नेपाली नकारात्मक विचारबाट विमुख हुनुपर्नेमा जोड दिँदै भन्छन् । २०३६ साल चैतमा भवन विभागमा 'इलेक्ट्रिकल ओभरसियर'भएर सरकारी सेवा प्रवेश गर्दा उनले सचिव हुने कल्पना पनि गरेका थिएनन् ।

१३ वर्ष सहसचिवका रूपमा राष्ट्रसेवा गरेपछि हालै उनले पदोन्नति पाएका हुन् । यसैलाई उनले सार्वजनिक प्रशासनमा आफूले गरेको योगदानको कदर ठानेका छन् । निजामती सेवाका कर्मचारीलाई सृजनशील, परिणामुखी र अनुशासित बनाउनु सार्वजनिक प्रशासनको चुनौती भएको उनलाई लाग्छ । उनीहरूमा उत्प्रेरणाको कमी भएको महसूस उनले गरेका छन् । ट्रेड  युनियनहरूमा आफ्ना समस्या उजागर गर्नेभन्दा आफ्नो समूहका मान्छेलाई माथि उठाउने प्रवृत्ति रहेको उनको विश्लेषण छ ।

आजसम्मको जागीरे जीवनमा गौतमले कहिल्यै संघर्ष गर्नुपरेन । न दबाब नै झेल्नुपर्यो । पिता सरकारी सेवामा रहेकाले पढाइ पूरा गर्नेबित्तिकै उनी पनि पिताकै पद पछयाउँदै त्यता लागेका हुन् । पुल्चोकस्थित इञ्जिनीयरिङ क्याम्पसबाट आइई, कानूनमा स्नातक र जनप्रशासनमा स्नातकोत्तर गरेका उनले विद्यार्थी जीवनमा पनि खासै संघर्ष गर्नुपरेन । पुख्र्यौली घर नुवाकोट भए पनि काठमाडौंमा नै उनी जन्मे हुर्केका हुन् । उनले यहीँबाट सबै शैक्षिक उपाधि हासिल गरेका हुन् ।

कार्यतालिका बनाएर काम गर्ने बानी भएका गौतमको व्यवस्थापन मन्त्र इमानदारी र परिश्रम हो । समूहगत कार्यप्रणालीमा विश्वास गर्ने उनी स्वामित्वबोधसहितको जिम्मेवारी मातहतका कर्मचारीलाई दिनुपर्ने विचार व्यक्त गर्छन् । मानवस्रोतको उचित व्यवस्थापन एवम् परिचालन उत्तिकै अपरिहार्य लाग्छ उनलाई । दिइएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पन्न गर्न कर्मचारीलाई प्रेरित गरिरहन्छन् । राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड होइन, सुध्रने अवसर दिनुपर्ने उनको मान्यता छ । इमानजमान नभएकासँग व्यवहार गर्न रुचाउँदैदनन् उनी । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष सुरेश आचार्य सञ्चार क्षेत्रका समस्यालाई राम्ररी बुझेका गौतमले तिनको समाधानका निम्ति अडान लिनुपर्ने बताउँछन् । पदको अभिमान नगर्ने तथा सबैसँग समान रूपमा प्रस्तुत हुने उनको शैली प्रशंसनीय लाग्छ आचार्यलाई ।

नेपालको आर्थिक विकासका लागि वन, कृषि र पशुपालन क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्नेमा गौतमको जोड छ । फलफूल, सागसब्जी खेती, बाख्रा, कुखुरा र भैंसीपालन गरीबी निवारणको उत्तम माध्यम भएको उनको ठम्याइ छ । तुलनात्मक लाभका क्षेत्रमा काम गर्न सके आर्थिक उन्नयन दुरुह नहुने उनको बुझाइ छ । आर्थिक कानून अक्षरश: पालना गर्छन् उनी । र, कसैको दबाबमा काम गर्दैनन् । अर्काको भलो गर्न सकिँदैन भने कुभलो चिताउनु पनि पाप हो उनका निम्ति । प्रतिशोधमा विश्वास नगर्ने उनलाई क्षमाशीलता श्रेयस्कर लाग्छ । जनहितका कार्यमा राजनीति गर्न नहुने उनको विचार छ ।

हुलाक सेवा विभागमा १५ वर्षबिताएका गौतम विप्रेषण र बचतलगायत आर्थिक कार्यमा हुलाकलाई विस्तारित गर्न सकिने बताउँछन् । सेवाको दायरा फराकिलो पार्न सकिने सम्भावना देखेका छन् उनले हुलाकमा । नियमित रूपमा छापिने तथा वर्गीकरणमा परेका झण्डै ८ सय पत्रपत्रिका, ३ सयको हाराहारीमा रहेका एफएम रेडियो अनि १२ ओटा टेलिभिजनबाट सधैं रचनात्मक सामग्री प्रस्तुत भएमा देश विकासको सकारात्मक परिणाम आउन बेर नलाग्ने उनको बुझाइ छ । सरकारी सञ्चारमाध्यमलाई स्वतन्त्र एवम् स्वायत्त बनाउनुपर्नेमा जोड दिने उनी तिनलाई निजीकरण गर्ने बेला भइनसकेको बताउँछन् ।

मन्दिर जानु हिन्दू संस्कार भएकाले आफू पनि बेलाबेलामा त्यहाँ जाने गरेको गौतम सुनाउँछन् । त्यहाँ जाँदा उनलाई मानसिक शान्तिमात्र प्राप्त हुँदैन, विकृतिबाट विमुख रहन प्रेरणा मिलिरहन्छ । हुनेले नहुनेलाई दान गर्नुपर्छ भन्छन् उनी । सामाजिक उत्थानको एउटा माध्यम भए पनि त्यसलाई प्रचार गर्नु श्रेयस्कर लाग्दैन उनलाई । संस्थागत संस्कृति र संस्कारको पूर्ण विकास नभए पनि यसको बीजारोपण भएको उनको ठम्याइ छ ।

Admin 2011-06-07