शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

प्रबन्ध निर्देशक, गिरी ग्रुप

पच्चीस वर्ष कुनै पनि खालको व्यवसायमा स्थापित हुन पर्याप्त उमेर होइन । तर, सोही उमेरमा हिँडिरहेका किसन गिरीलाई हेर्दा 'उमेरले सफलतालाई छेक्दैन' भन्ने मान्नैपर्छ । किनकि उनी २५ वर्षमै उमेरमा बहुव्यवसाय गरिरहेको 'गिरी गु्रप'को प्रबन्ध निर्देशक भइसकेका छन् । 'मिशनलाई उमेरले छेक्दैन' गिरी भन्छन् । परिपक्व हुन अझै केही वर्ष धैर्य तथा सिक्न बाँकी रहेका उनको व्यावसायिक दृष्टिकोण निकै बलियो लाग्छ ।

अमेरिकाको  फिलाडेल्फियास्थित टेम्पल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक सकेर स्वदेश फर्केका गिरीले आफ्नो पारिवारिक व्यवसायमा हात हालेको १ वर्षमात्र भएको छ । सन् १९८० को मध्यतिर गिरी ग्रुपका संस्थापक अध्यक्ष किरणप्रसाद गिरीले गार्मेण्ट उद्योगबाट व्यावसायिक दुनियाँमा प्रवेश गरेका थिए । त्यो बेला उनको गार्मेण्ट उद्योग थोरै राम्रामध्येको एक थियो ।

जुन आज पनि चलिरहेकै छ । देशमा भएका धेरै गार्मेण्ट उद्योग निर्यातलगायतका समस्याका कारण बन्द हुँदा पनि उनीहरूको उद्योग भने निरन्तर चलिरहयो । 'व्यवसायमा तल-माथि भइरहन्छ, आत्तिनु हुँदैन' उनी भन्छन् । धैर्य गर्न सक्नेले मात्र व्यवसायमा सफलता हात पार्ने गिरीको मान्यता छ ।

गिरी ग्रुप अन्तर्गत हाल ६ वटा कम्पनी सञ्चालनमा रहेका छन् । जसमा क्यामेल कफी नेपाल प्रालि, निराकार इन्टरनेशनल, सेवा सदन अंग्रेजी विद्यालय, जय मातादी वाशिङ इण्डष्ट्री, क्लासिक क्याजुअल, सन्तोष इण्टरनेशनल तथा यही समूहको नेतृत्वमा टि्रटन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड रहेका छन् । क्यामेल कफीले हाल बजारमा ल्याएको जापानी ब्राण्ड 'काल्दी कफी' को काठमाडौंका स्तरीय रेष्टुराँ तथा होटलहरूमा माग बढ्दो रहेको उनी बताउँछन्' उनले भने । उनको समूहले क्याफे डिभिजन अन्तर्गत ठमेलमा सन् २००८ मा क्याफे काल्दी खोल्यो । चाँडै नै नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा त्यसकै शाखा विस्तार गर्ने योजना बनाएको छ । उनी नेपाली कफीको निर्यात सम्भावना निकै राम्रो रहेको देख्छन् । काभ्रे जिल्लाबाट मात्र प्रतिवर्ष४० टन कफिको दाना उत्पादन हुने गरेको उनले बताए । यसमध्ये आन्तरिक बजारमा ८/९ टन जति 'फ्रेस कफी' खपत हुन्छ बाँकी निर्यात हुन्छ । किसानहरू कफी निर्याततर्फ आकर्षित हुँदै गएका उनको ठहर छ । कफी व्यवसायको भविष्य देखेर नै उनको कम्पनीले कफी प्रशोधन गर्ने मेशिन ल्याइसकेको छ । 'नेपालको कफी बजारलाई आगामी जनवरीदेखि नै हाम्रो कम्पनीले नेतृत्व गर्नेछ' उनी दाबी गर्छन् ।

अर्कोतिर, नेपाली बजारमा गार्मेण्टको 'लोकल ब्राण्ड' स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ गिरीको कम्पनीले । जय मातादी वाशिङ इण्डष्ट्रीमा १५ करोड पर्ने मेशिनबाट कपडा धोइने उनी बताउँछन् । उनकै समूहको निराकार इण्टरनेशनलले झापामा उत्पादित चिया आगामी डिसेम्बरबाट बजारमा ल्याउँदै छ । वित्त बजारमा पनि सहभागी हुने उद्देश्यले गिरी ग्रुपको नेतृत्वमा दुइ महिनाअघि ट्रिटन सहकारी खुलेको हो । केही दिनमै सन्तोष इण्टरनेशनलमार्फत जार र बोतल दुवैमा पिउने पानीको आपूर्ति गर्ने योजनासमेत रहेको उनले बताए । 'हामी चलनचल्तीका भन्दा फरक प्रविधि र ढङ्गमा हाम्रा योजनालाई लागू गर्ने तयारीमा छौं,' उनी भन्छन्, 'अहिलेको बजार निकै प्रतिस्पर्धी रहेको हामीले राम्ररी बुझेका छौँ ।' चिया तथा कफी दुवैका पारखीहरूका लागि भर्खरै मात्र बजारमा नयाँ किसिमको स्वादमा 'कफीचिया' ल्याएको छ उनको कम्पनीले । 'यसलाई चियाको सट्टामा बजारमा लगिएको हो, उनले भने, 'पानी, कफि तथा कफीचिया एकैसाथ बजारमा लगेका छौं ।'

आफ्नो उत्पादन तथा सेवामा उपभोक्ताको आकर्षण बढाउन नयाँ स्वाद पस्कन सक्नुपर्ने उनको धारणा छ । यही धारणालाई साकार पार्न आफू प्रयत्नरत रहेको उनी बताउँछन् । गिरी ग्रुप अन्तर्गतको क्यामेल कफी तथा क्लासिक क्याजुअललाई ५ बर्षभित्र नेपालको उत्कृष्ट १० उद्योगको हाराहारीमा पुर्याउने उनको आकाङ्क्षा छ । व्यावसायिक सफलताको बाटोमा अग्रसर 'गिरी ग्रुप' ले सन् २०११ देखि ७५ करोडको वार्षिक कारोबार गर्ने उनले बताए । बहुव्यवसायमा हात हालेको उनको समूहले हाल ४ सय जनालाई रोजगारी दिइरहेको छ । 'चार वर्षभित्र हाम्रा कम्पनीहरूमा कम्तीमा अढाइ हजार जनाले काम पाउनेछन्' उनी भन्छन् ।

विश्वमै उत्कृष्ट कहलिएका भारतीय व्यापारी धीरुभाइ अम्बानी र आफ्ना पितालाई आदर्श मान्ने उनी खेलमा क्रिकेट औधी मन पराउँछन् । बिहान साढे ४ बजे उठेपछि कुद्नु र त्यसपछि केहीबेर घरमै व्यायाम गर्नु उनको नित्यकर्म हो । 'बिहान राम्रो भएपछि दिन पनि राम्रो हुन्छ' भन्ने मान्यतामा विश्वास राख्ने गिरी हरेक दिन फरकफरक मन्दिर पुगेर पूजा गर्छन् । प्रायः बिहान साढे ८ बजे कार्यालय पुग्छन् । उनी हरेक दिन आफ्नो ग्रुप अन्तर्गत रहेकामध्ये एउटा कम्पनीको 'भिजिट' गर्छन् । पार्टी जान उतिसारो नरुचाउने उनी शनिवार भने साथीहरूसँगको जमघटमा हुन्छन् । उनले अमेरिका, जापान, सिङ्गापुर, भारत, इण्डोनेशिया, थाइल्याण्डलगायतका देश भ्रमण गरिसकेका छन् ।

आफूलाई सुहाउने पहिरन गर्न मन पराउने गिरी निकट भविष्यमा 'दुर्व्यसन नियन्त्रण'का लागि 'युवा क्लब' खोल्ने योजनामा छन् । मुलुकमा राजनीतिक स्थिरताको अभावमा व्यवसाय फस्टाउन नसक्ने बुझेका उनी चाँडै नै सय जनासम्मका लागि एउटा बाल र एउटा वृद्धाश्रम खोल्ने योजना पनि सार्वजनिक गर्छन् ।