शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''आग्रह आर्थिक विकासको'' - अच्युतदत्त पाण्डे
अच्युतदत्त पाण्डेमहाप्रबन्धक, नेपाल आवास विकास वित्त कम्पनी लिमिटेड

मध्यमवर्गीय परिवारका उनले २०२२ सालतिर जागीरे जीवन शुरू गरेका हुन् । त्यसबेला पाएको मासिक २० रुपैयाँ तलबले उनमा ऊर्जा र उत्साहको सञ्चार गरायो- कामका लागि । काठमाडौं गैरीधाराका रैथाने उनले जीवनमा कैयौं हण्डर र ठक्कर खाएर जीवनरूपी डुङ्गालाई अघि बढाएका हुन् ।  'संघर्ष नगरी आजको अवस्थामा आएको होइन' विगत सम्झदैँ केही भावुक भएर भन्छन् उनी । मध्यम आम्दानी भएकाहरूलाई सहुलियतपूर्ण ढङ्गले आवास ऋण दिने उद्देश्यले २१ वर्षअघि स्थापना भएको नेपाल आवास विकास वित्त कम्पनी लिमिटेडका महाप्रबन्धक अच्युतदत्त पाण्डे देशको आर्थिक उन्नतिलाई सबै नेपालीले पहिलो प्राथमिकता दिनुपर्ने विचार व्यक्त गर्छन् । खेतपाखामा पाखुरा बजारेर पनि अर्थव्यवस्था उकास्न सकिने उनलाई लाग्छ । उद्यम नगरी समय बिताउनु अभिशाप हो उनका लागि । परिश्रमको प्रभाव र प्रतिफल प्रशस्त पाएका उनी जस्तोसुकै काम गर्न पनि पछि पर्न नहुनेमा जोड दिन्छन् । 'तर त्यो काम अनैतिक वा विद्यमान ऐनकानूनविपरीत हुनुहुँदैन' श्रम र शीपको सदुपयोग सुझाउछँन् उनी ।

मुलुकको पहिलो वित्तीय संस्थालाई नेपाल आवास फाइनान्स लिमिटेडमा परिणत गरी अझ माथि उठाउने लक्ष्यका साथ काम गरिरहेका छन् पाण्डे । उत्पादनमूलक क्षेत्रमा पनि लगानी गर्ने योजनाका साथ उनी काम गरिरहेका छन् । उनले नेतृत्व सम्हालेपछि नेपाल आवास विकास वित्त कम्पनी लिमिटेडको खराब कर्जाको प्रतिशत घटेको छ । काम थालेको ४ महीनामा उनले कम्पनीको ६ दशमलव शून्य ४ प्रतिशतको खराब कर्जालाई ३ दशमलव ५२ प्रतिशतमा झारेका छन् । १६ करोड ७६ लाख चुक्ता पूँजी रहेको उक्त कम्पनीमा १ हजार ५ सय निक्षेपकर्ता छन् । त्यहाँबाट ५ सय जनाले ऋण लिएका छन् । कम्पनीमा ४३ करोड निक्षेप सङ्कलन भएको छ । आकर्षक कार्यक्रम ल्याएर निक्षेपको अनुपात बढाउने पाण्डे बताउँछन् । उक्त कम्पनीमा नेपाल सरकार, राष्ट्रिय वाणिज्य बैङ्क र राष्ट्रिय बीमा संस्थानको ३३ प्रतिशत शेयर रहेको छ । ९४ लाख ३४ हजार नोक्सानी बेहोरेको कम्पनीले उनकै नेतृत्वमा १ करोड ९६ लाख १२ हजार मुनाफा आर्जन गरेको छ ।

चालू आर्थिक वर्षमा शाखा विस्तार गर्ने तथा शेयरधनीलाई १० प्रतिशत लाभांश दिने लक्ष्यका साथ पाण्डे दिनरात मेहनत गरिरहेका छन् । आत्मविश्वासका साथ काम गर्दा सफलता हासिल हुने उनको विश्वास छ । सफलताका निम्ति सकारात्मक सोच पनि अपरिहार्य भएको उनलाई लाग्छ । जीवनको ६०औं वसन्तमा हिँडिरहेका उनले २९ वर्ष राष्ट्रिय वाणिज्य बैङ्कमा बिताएका हुन् । मुख्य अधिकृतबाट स्वैच्छिक अवकाश लिएका उनले ८ वर्ष नेपाल बैङ्क लिमिटेडमा सहायकस्तरमा रहेर काम गरेका छन् । ३७ वर्षको बैङ्किङ क्षेत्रको अनुभवले कम्पनीमा आफूलाई सफलता मिलेको उनको बुझाइ छ ।

कर्मचारीसँग समान व्यवहार गर्ने बानी पाण्डेको छ । समस्या समाधानमा उनको छुट्टै विशेषता छ, त्यो हो- तत्काल निर्णय गर्ने । विशेष व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गरेर काम गर्छन् उनी । कर्मचारीलाई मित्रवत् व्यवहार गर्ने र उनीहरूलाई वृत्तिविकासको प्रशस्त अवसर दिएर लक्षित परिणाम हासिल गर्नु उनको कार्यशैली हो । उनी भन्छन्- आफू नै दृष्टान्त बनेर कर्मचारीलाई सिकाउनुपर्छ । जस्तोसुकै चुनौतीको सामना गर्न तत्पर रहनुपर्ने मान्यता उनको छ । कर्मचारीलाई पनि त्यसै गर्न सल्लाह दिन्छन् उनी । झूटो बोल्ने र वाचा पूरा नगर्ने मान्छेसँग उनी सधैँ टाढा रहन्छन् ।

रेडियो लिङ्क नामक विज्ञापन एजेन्सीका प्रबन्ध निर्देशक रोशन पौडेल अच्युतलाई व्यावसायिक व्यक्ति मान्छन् । उनको निर्णय क्षमता र कार्यसंस्कारबाट आफू अत्यन्त प्रभावित भएको बताउँछन् पौडेल । मिलनसार र स्पष्टवक्ता पाण्डेको ढिलासुस्ती नगर्ने, हुने भए गरिदिने र नहुने भए 'हुँदैन' भनेर स्पष्ट गर्ने बानी उनलाई मनपर्छ ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका पाण्डेलाई शैक्षिक विकास आर्थिक उन्नयनको वाहक लाग्छ । साहित्यमा पनि उत्तिकै रुचि भएका उनको 'भुङ्ग्रोभित्र' कथासङ्ग्रह बजारमा आएको पनि दुइ दशक नाघिसकेको छ । शिवभक्त उनी  ईश्वरको पूजाआराधनाबाट मन शान्त हुने बताउँछन् । संस्थागत कार्यसंस्कारको क्रमशः विकास भइरहेको बताउने उनी व्यावसायिक व्यक्तिहरूको बाहुल्य वृद्धिसँगै त्यसमा पनि बढोत्तरी हुने उनको बुझाइ छ ।