शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''मानवधर्ममा विश्वास'' - विश्वास गौचन
अध्यक्ष
साङ्ग्रिला डेभलपमेण्ट बैङ्क, पोखरा

दश वर्षसंयुक्त राष्ट्रसङ्घमा काम गरेपछि विश्वास गौचनलाई आफै केही गर्ने चाहना जाग्यो । त्यही चाहना पूरा गर्न उनले बैङ्किङ क्षेत्र रोजे । व्यवस्थापन विषयको अध्ययन र आर्थिक क्षेत्रमा केही गर्ने चाहनाले आफूलाई बैङ्किङ क्षेत्रतर्फ डोर्याएको गौचन बताउँछन् । भारतको मद्रासबाट १५ वर्षअघि चार्टर्ड एकाउण्टेण्ट उत्तीर्ण गरेका गौचनले नेपाल र दक्षिण अफ्रिकामा गरी १० वर्ष राष्ट्रसङ्घमा निरन्तर सेवा गरे । संयुक्त राष्ट्रसङ्घजस्तो प्रतिष्ठित निकायको उपल्लो पदमा पुगेका उनले जागीर छोड्दा धेरैले आर्श्चर्य माने । तर, अहिले उनी साङ्ग्रिला डेभलपमेण्ट बैङ्कको विकास र विस्तारमा रमाएका छन् । पैसाभन्दा ठूलो आत्मसन्तुष्टि पाएको उनलाई अनुभव हुन्छ ।

विसं २०२६ मा म्याग्दीमा जन्मेका उनले विद्यालय शिक्षा पोखरा र काठमाडौंबाट पूरा गरे । पढाइभन्दा विदेशलाई महत्त्व दिने थकाली समुदायमा रहेर पनि उनका बुबाले भने उनलाई पढाइमै केन्द्रित हुन सघाए । अहिलेको सफलताको सबै श्रेय उनी यसैलाई दिन्छन् । उनको नेतृत्वमा बैङ्कले राम्रो प्रगति गरिरहेको छ । विसं २०६४ मा स्थापित बैङ्कले अहिले १० जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा दिइरहेको छ ।  हाल १२ ओटा शाखामार्फत बैङ्कका २९ हजार ग्राहकले सेवा लिएको उनी बताउँछन् । स्थापनाको छोटो अवधिमै यति धेरै ग्राहक भएको विकास बैङ्क साङ्ग्रिला नै भएको उनको दाबी छ । अहिले उनी क्षेत्रीय स्तरको बैङ्कलाई नेपालगञ्जस्थित वागेश्वरी डेभलपमेण्ट बैङ्कसँग मर्जर गरी राष्ट्रियस्तरको विकास बैङ्क बनाउने योजनामा छन् ।

पोखरामा प्रधान कार्यालय भएको बैङ्कमा अहिले १ सय जनाभन्दा बढी कर्मचारी छन् । कर्मर्चारीलाई उनी कामको उपयुक्त वातावरण तयार गर्नुका साथै काममा इमानदार, परिश्रमी र रचनात्मक हुन सुझाउँछन् । कुनै पनि संस्थाको विकासमा सम्बन्धित कार्यालयका कर्मचारीको मेहनत, इमानदारी र रचनात्मक भूमिका महत्त्वपूर्ण हुने उनको धारणा छ । 'कार्यालयको सफलतामा मात्र होइन, हरेक व्यक्तिको जीवनमा समेत यी कुराले ठूलो अर्थ राख्छन्,’ उनी भन्छन् । मान्छेले जति प्रगति गर्यो, त्यति निहुरिनुपर्छ भन्ने उनको मान्यता छ । सफलतामा घमण्ड गर्नेहरूको सफलता दिगो नहुने उनको निष्कर्ष छ । नेपालको बैङ्किङ क्षेत्रमा अहिले थुप्रै समस्या आएको उनले देखेका छन् । अनुत्पादक क्षेत्रमा भएको लगानी र जनताको बचत क्षमता कम हुँदै गएकाले समेत बैङ्किङ क्षेत्रमा समस्या आएको उनी बताउँछन् । त्यस्तै नेपालमा निरन्तर वृद्धि हुँदै गएका वित्तीय संस्थाहरूको सङ्ख्याले प्रतिस्पर्धा बढेको तर निक्षेप सङ्कलन भने घट्दै गएकाले बैङ्कहरू समस्यामा पर्न थालेको उनले महसूस गरेका छन् ।

नेपालको विकासका लागि र वित्तीय क्षेत्रको सुरक्षित भविष्यका लागि उत्पादनमूलक क्षेत्रमा पूँजी लगानी गर्नुपर्ने उनको विचार छ । जलविद्युत्, कृषि, पर्यटन र खनिज उत्खननमा लगानी गर्नुपर्ने उनको धारणा छ । जलविद्युत्को पर्याप्त उत्पादन र निर्यात गर्नसके नेपालको आर्थिक अवस्थामा तुरुन्तै परिवर्तन आउने देखेका छन् उनले । त्यसैले अहिले उनी यसको प्रवद्धनमा जुटेका छन् । 'विगतमा रियल इस्टेटमा बैङ्कहरूले गरेको लगानी  जलविद्युत्मा गरेको भए अहिले देशले लोडशेडिङबाट मुक्ति पाइसक्थ्यो,’ उनी भन्छन् ।

कुनै पनि मानिसले एउटैमा भन्दा विविध क्षेत्रमा कार्य गर्नुपर्ने उनको धारणा छ । अहिले पनि उनको भर्खरै विभाजित भएको दक्षिण सुडानमा ट्रेडिङको व्यवसाय छ । केही समयमा नै उनी त्यहाँ निर्माण  र ट्राभल व्यवसायको शुरुआत गर्ने योजनामा छन् । राष्ट्रसङ्घमा काम गर्दाको अनुभवले सुडानमा लगानी गरेको उनी बताउँछन् । विद्यालय समयदेखिका उनका साथी वागेश्वरी डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेल गौचनलाई इमानदार र लगनशील व्यक्तिका रूपमा चित्रित गर्छन् । 'एउटा संस्थामा रहेर कर्मचारी र व्यवस्थापनबीचको दूरीलाई उपयुक्त ढङ्गले संयोजन गर्न सक्ने उहाँको खुबीबाट म प्रभावित छु,’ पौडेल भन्छन् । ६ दिदिबहिनीका एक्ला भाइ गौचन परिवारमा सबैका प्रिय छन् । अहिले काठमाडौंको नख्खुमा स्थायी बसोबास गरिरहेका गौचनको परिवारमा  बुबाआमा, श्रीमतीसहित एक छोरा र एक छोरी छन् । जीवनलाई अघि बढाउन सार्थक र रचनात्मक कार्यमा उनी जोड दिन्छन् । फुसदमा ट्रेकिङ गर्न रुचाउने उनको अध्ययनमा पनि उत्तिकै रुचि छ । सफल व्यक्तिहरूको बायोग्राफी उनको अध्ययनको छनोट हो । ईश्वरमा भन्दा कर्ममा विश्वास राख्ने गौचन धार्मिक कार्यक्रमहरूमा पनि त्यति सहभागी हुँदैनन् । मानवीय धर्मलाई सबैभन्दा ठूलो धर्मका रूपमा आत्मसात् गर्नुपर्नेमा उनको जोड छ ।

राजनीतिमा आफ्नो क्षमता र चाहना दुवै नभएको उनी बताउँछन् । तर, एउटा नागरिकको तहबाट भने देशको वर्तमान अवस्थाप्रति उनको गहिरो चिन्ता छ । देशले उपयुक्त र सही गति नलिएसम्म सबैक्षेत्रमा नकारात्मक असर पुग्ने उनले महसूस गरेका छन् । नागरिकले आफ्नो दायित्व पूरा गर्न सके देशलाई हित हुने उनी बताउँछन् । 'निर्वतमान प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ, रामेश्वर खनाल, बाबुराम भट्टराई र गगन थापाजस्ता व्यक्तिबाट राष्ट्रले केही पाउन सक्ने मैले देखेको छु,' उनी भन्छन् । 

Admin 2011-05-08