शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''खेलको विकास'' - सुशीलजङ्गबहादुर राणा
सचिव, युवा तथा खेलकुद मन्त्रालय

जीवनका रङहरू स्तम्भका निम्ति संवाद गर्न गरेको स्वीकार सुखद संयोग साबित भएको छ, उनको जीवनमा । ३१ वर्षअघि शाखा अधिकृतका रूपमा प्रवेश गरेको त्यो कोठामा अहिले उनको पदीय जिम्मेवारी फेरिएको छ । निजामती सेवामा उपल्लो तह सचिव भएर पुन: त्यही पुरानो कोठामा पुगेका छन् उनी । युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशीलजङ्गबहादुर राणाको पहिलो 'पोष्टिङ' लोकसेवा आयोगमा भएको थियो । उनले काम गर्ने मन्त्रालय पनि अहिले त्यही आयोगको पुरानो भवन भएको छ । तत्कालीन मुख्यसचिव विमलप्रसाद कोइराला उनका समवयी सहपाठी हुन् । वनस्पतिशास्त्र पढेका उनले कोइरालालगायत सरकारी सेवामा भर्खरै प्रवेश गरेका तीन जना दौंतरीको लहलहैमा लागेर लोकसेवाको फाराम भरेका थिए । सामान्य ज्ञानमा तीक्ष्ण उनले सबै प्रश्नको रिट्ठो नबिराई जवाफ दिएर सरकारी सिन्दुरको सौभाग्य पाएका हुन् । अङ्ग्रेजीमा पनि अब्बल उनलाई परीक्षा उत्तीर्ण गर्नु सामान्य थियो । भन्छन्- विनायोजना सेवाप्रवेश गरियो ।  'तोक, टिप्पणी, आका'जस्ता प्रशासनिक पदावलीको अर्थ उनले कामको सिलसिलामा सिकेका हुन् । प्रशासनिक कार्य सम्पादनका निम्ति वरिष्ठ अधिकृतहरूले पढ्न पुस्तक दिन्थे उनलाई । ऊबेला र अहिलेको कार्यसंस्कारमा आकाश जमीनको अन्तर महसूस गरेका छन् उनले । अनुशासनहीनता र अतिराजनीतीकरण प्रशासनयन्त्रका धमिरा लाग्छन् उनलाई ।

वनस्पतिशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका सुशील २०११ सालमा नेपालगञ्जमा जन्मेका हुन् । त्यहीँबाट प्रथम श्रेणीमा प्रवेशिका गरेका उनको लक्ष्य डाक्टर बन्ने थियो । तर, आईएस्सीमा डाक्टरी पढ्न पुग्ने अङ्क प्राप्त नभएपछि बोटानी बढेका हुन् उनले । सरकारी सेवामा आउनुअघि उनले त्रिचन्द्र कलेजमा अध्यापन गर्नसमेत भ्याएका थिए । प्राध्यापक दयानन्द वज्राचार्यले उनलाई शिक्षणपेशामा डोर्याएका हुन् । सरकारको सिन्दुर लगाउने कुनै योजना बनाएका थिएनन् उनले । स्थायी प्रकृतिको सेवा त्यसमा सवसाधारणबाट पाइने सम्मान र महत्ताले पनि उनी नजानिँदो पाराले निजामती सेवातर्फ तानिएका थिए । उसबेला सरकारी कर्मचारीको गरिमा र प्रतिष्ठा वर्णनलायक हुन्थ्यो, त्यसै भन्छन् तीसको दशकमा सरकारी जागीर खाएकाहरू ।

अत्यन्त प्रतिकूल परिस्थितिमा पनि धैर्य गर्न सक्ने राणाको गुणको गुणगान गर्छन् उनलाई नजिकबाट चिन्ने र सँगै कर्म गर्नेहरू । आपसमा समन्वय कायम गरेर काम गर्ने उनको बानी छ । काम लथालिङ्ग छाडेर कतै हिँडदैनन् उनी । त्यसै गर्न प्रेरित गरिरहन्छन् उनी मातहतका कर्मचारीलाई 'रोलमोडल' बनेर । व्यवस्थापन र प्रशासनलाई बेग्लाबेग्लै एकाइका रूपमा परिभाषित गर्नुपर्नेमा उनको जोड छ । ऐननियमअनुसार सामयिक परिवर्तन हुनुपर्ने र सम्बद्ध निकायले आवश्यक लचकता प्रस्तुत गर्नुपर्ने उनको ठम्याइ छ । तल्लो तहका कर्मचारीलाई सबल बनाउनुपर्ने उनको मत छ । सबैका विचार सुन्छन् उनी । असल काम गर्नेको कदर गर्दै उसलाई हौस्याउँछन् अझ राम्रो गर्न । सञ्चारहीनताको अवस्थाबाट टाढै रहने  उनी स्रोत र साधनले भ्याएसम्म सबैलाई सुमधुर कार्य वातावरण दिन्छन् । द्वैध चरित्र भएकाहरूसँग व्यवहार गर्न उनलाई ठयाम्मै मन लाग्दैन ।

स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी हुँदै अध्यागमन, संविधानसभाको निर्वाचन भुटानी शरणार्थी प्रमाणीकरण, भारतसँगको सीमा व्यवस्थापन, अपराध नियन्त्रण र नेपाल-भारत प्रर्त्यर्पण सन्धिलगायत गृहप्रशासन तथा कानून कार्यान्वयनका कैयौं काममा उनको योगदान छ । सङ्क्रमणकालीन राजनीतिक बेथितिले उनलाई पिरोलेको छ । प्रशासनयन्त्रमा भएको अति राजनीतीकरण पनि उनको पीरको कारण हो । तर, त्यसलाई उल्लेख गर्न चाहँदैनन् उनी । सकारात्मक सोचका साथ काम गर्ने उनलाई राजनीतिक सङ्क्रमणमा प्रशासनयन्त्र नगाँजिनेमा उनी ढुक्क छन् । निजामती सेवामा युवावर्ग र मेधावी व्यक्तिलाई आकर्षण गर्न परीक्षाप्रणाली परिमार्जन गर्नु श्रेयस्कर हुने लाग्छ उनलाई । वर्तमान पारिश्रमिक एवम् सुविधा पनि पुनरवलोकन हुनुपर्ने उनको ठम्याइ छ । सरकारको विश्वसनीयता र प्रतिष्ठा वृद्धि पनि उत्तिकै अपरिहार्य लाग्छ उनलाई ।

संस्थान, समिति, परिषद्जस्ता राजनीतिक नियुक्ति भएका कार्यालयमा बढी बेथिति रहेको र त्यहाँ नै सुशासनको अभाव भएको राणाको अनुभव छ । बेलगाम प्राय: बनेको राष्ट्रिय खेलकुद परिषद्लाई सही बाटोमा ल्याउने नीति ल्याएका छन् उनले । 'इभेण्ट म्यानेजमेण्ट' गर्ने संस्थाका रूपमा चिनिएको परिषद्लाई स्वावलम्बी र आत्मनिर्भर बनाउन खेलक्षेत्रसँग आबद्ध सबैको सक्रिय सहयोगको अपेक्षा उनको छ । खेलसंस्थाहरू बलिया नभएसम्म मुलुकको खेलकुद क्षेत्रको विकास नहुने उनलाई लाग्छ । ब्याटमिण्टन, टेबलटेनिस र क्रिकेटका खेलाडी पनि हुन्- खेलकुद सचिव राणा । फुर्सदमा यार्केट बोकेर निस्कन पछि नपर्ने उनलाई मुलुकको आर्थिक अभ्युदयको मन्त्र मानव संसाधनको विकास एवम् परिचालन लाग्छ ।

Admin 2011-03-09