शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

शिक्षामा समर्पण
डा. बाबुराम पोखरेल
संस्थापक अध्यक्ष
भीएस निकेतन एजुकेशन फाउण्डेशन
धसाढे तीन दशकभन्दा बढी भयो उनले मुलुकको शैक्षिक उन्नयनमा आफूलाई समर्पित गरेको । जीवनको सर्वाधिक ऊर्जाशील समय देशका भावी कर्णदारहरूको उत्पादनमा खर्चेका उनले आफूलाई भन्दा राष्ट्रनिर्माणको महायज्ञमा शैक्षिक क्षेत्रबाट होमिएर बहुजन हिताय काम गरिरहेका छन् । सर्वमङ्गलकारी गणपतिका अनन्य भक्त उनले उनै देवको नाममा भीएस अर्थात् विनायक सुधा निकेतन सञ्चालन गरेको ३१ वर्षबितिसक्यो । १ सय ४७ जना विद्यार्थीबाट श्रीगणेश भएको उनको शैक्षिक प्रतिष्ठानमा अहिले ५ हजारभन्दा बढीले ज्ञानरूपी गङ्गामा गोता लगाइरहेका छन् । लामो समयको शिक्षण अनुभवबाट खारिएका भीएस निकेतन एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष डा. बाबुराम पोखरेलको शिक्षाप्रतिको समर्पण, अहोरात्रको मेहनत र लगनशीलता अनि जीवनसँगिनी उर्मिलाको सहयोगको परिणाम हो- आजको भीएस निकेतनको प्रतिष्ठा र गरिमा ।

जग बलियो नभई घर बलियो हुँदैन भन्ने मान्यतालाई मार्गदर्शक मन्त्र मानेका छन् पोखरेलले । त्यसैले, उनले नेतृत्व गरेका सातओटै शैक्षिक संस्थामा विद्यार्थीको चौतर्फी विकास र गुणस्तरलाई अधिक प्राथमिकता दिइन्छ । पढाइका अतिरिक्त खेलकुद, साहित्य सृजना र अनुसन्धानका कामलाई पनि उत्तिकै महत्त्व दिएका छन् उनले । दक्षशिक्षक, प्रभावकारी शिक्षणपद्धति, आवश्यक भौतिक पूर्वाधारको उपलब्धता र अन्तरराष्ट्रियस्तरको अध्यापन शैलीले भीएसअन्तर्गतका शैक्षिक प्रतिष्ठान अभिभावक र विद्यार्थीका आकर्षणका केन्द्र बनेका छन् । राजधानीको मुटु मानिने मीनभवनमा भएको यसको अवस्थिति पनि अधिकका लागि आकर्षित गन्तव्य बनेको हो । पूर्वप्राथमिकदेखि स्नातकोत्तरसम्मको अध्ययन अध्यापन हुन्छ- भीएस निकेतनमा । पोखरा र पूर्वाञ्चल विश्वविद्यालयसँगको सम्बन्धनमा बीए, बीबीए, बीपीएस, बी फर्मा मात्र होइन, एमबीए, एमएससी, होटल व्यवस्थापन, स्वास्थ्य विज्ञान र 'ए' लेभलको पढाइको तयारी पनि भइरहेको छ । भीएस निकेतनबाट दीक्षितहरू डाक्टर, इञ्जिनीयर, प्राध्यापक र प्रशासकका रूपमा स्वदेशमा मात्र होइन, विदेशमा पनि सेवारत छन् ।

 भारतको बीआर अम्बेडर विश्वविद्यालयबाट 'म्यानपावर प्लानिङ इन डेभलपिङ कण्ट्रिज विथ स्पेशल रिफ्रेन्स टू नेपाल' विषयमा विद्यावारिधि गरेका शिक्षासेवी पोखरेल हरेक काम योजना बनाएर गर्छन् । सहभागितामूलक व्यवस्थापन प्रणालीमा विश्वास गर्ने उनले विकेन्द्रीकृत कार्यशैली अङ्गीकार गरेका छन् । फाउण्डेशनअन्तर्गतका प्रतिष्ठानमा करीब ५ सयले रोजगारी पाएका छन् । उनीहरूलाई कामप्रति अभिप्रेरित गर्न उनले पारिवारिक वातावरण दिनुका साथै सरकारले निर्धारण गरेका तलबभत्तालगायत सुविधा दिएका छन् । राज्यको ढुकुटीमा रू. २१ लाखभन्दा बढी राजस्व बुझाउँदै आएका उनी निजीक्षेत्रका शैक्षिक संस्थालाई राज्यले उपेक्षा गरेको बताउँछन् । शिक्षक तालीम, घरजग्गा, यातायातका साधन तथा शैक्षिक सामग्री खरीदमा लाग्ने राजस्वमा केही छूट, कमब्याजमा ऋण दिनेलगायत आधारभूत सुविधा दिन सरकारले कञ्जुस्याइँ गर्न नहुनेमा उनको जोड छ ।

२०११ सालको लक्ष्मीपूजाका दिन गोरखाको अमराईमा मध्यमवर्गीय परिवारमा जन्मेका पोखरेल मातापिताका ज्येष्ठ सुपुत्र हुन् । लक्ष्मी र सरस्वतीको आशिर्वाद पाएका उनले मावलका हजुरबाबाट प्रारम्भिक शिक्षा पाए भने युनाइटेड मिशन टू नेपालले सञ्चालन गरेको विद्यालय उनको औपचारिक शिक्षालय बन्यो । बाल्यावस्थादेखि नै प्रतिभाशाली विद्यार्थीमा गनिन्थे उनी । गाउँबाट एसएलसी गरेपछि काठमाडौं आएका उनले आईएस्सी, आईएड, बीए, बीएड, बीएल, एमए र एमपीए गरेका छन् । ललितपुरको आदर्श विद्यामन्दिरबाट शिक्षण सेवा प्रारम्भ गरेका उनले केही वर्षत्यहाँ काम गरेपछि आफ्नै लगानीमा थापाथलीमा भीएस निकेतन खोलेका हुन् । गुणस्तरीय शिक्षाले नै राष्ट्रलाई उन्नतितर्फ उन्मुख गर्ने भएकाले मातृभूमिको सेवालाई सर्वोपरि ठानेर शैक्षिक जगत्मा हात हालेको उल्लेख गर्छन् उनी ।

सधैं नयाँ काम गर्न र नवीन स्थानमा घुम्न मनपराउने पोखरेललाई सामाजिक सेवाका कार्यमा सरिक हुँदा असीम आनन्दानुभूति हुन्छ । रोटरी र लायन्स क्लबका साथै नि:सहाय सेवा सदनमार्फत दीनहीनको सेवामा पनि सक्रिय  उनले दृढ इच्छाशक्ति र आत्मविश्वास भए जस्तोसुकै कठिन कार्य पनि पूरा गर्न गर्न सकिने दृष्टान्त प्रस्तुत गरेका छन् । आफू बसेको समाजका लागि सबैले सकेको सहयोग गर्नुपर्ने विचार व्यक्त गर्ने उनले झण्डै ३ सय विद्यार्थीलाई छात्रवृत्ति दिएर सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेका छन् ।

Admin 2011-06-08