शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''पोखराका पर्यटन पारखी'' - विप्लव पौडेल
सञ्चालक, बाराही होटल, पोखरा
माओवादी द्वन्द्वको प्रभावले मुलुकको पर्यटन उद्योग ध्वस्तप्रायः भएका बेला विप्लव पौडेलले 'आन्तरिक पर्यटन' को अवधारणा अघि सारे । पौडेलद्वारा नै प्रवर्द्धित 'जाऊँ है पोखरा अभियान' त्यसबखत निकै लोकप्रिय भएको थियो । पोखराको लेकसाइडमा रहेको उनको होटल वाराहीमा आन्तरिक पर्यटकका लागि सुहाउने विभिन्न 'प्याकेज' ल्याएर व्यवसायलाई केही हदसम्म भए पनि जोगाउने प्रयत्न गर्नुपरेको बताउँछन् उनी । कुनै समयमा पर्यटक बस्ने होटलमा नेपाली बस्नु हुँदैन भन्ने धारणालाई चिर्दै उनले अभियान सञ्चालन गरेपछि पोखराका होटलमा ३० प्रतिशत नेपाली पर्यटक बस्न थालेको उनी बताउँछन् । यसबाट आन्तरिक पर्यटनमा ठूलो बल मिलेको थियो । तीनतारे होटल वाराही अहिले सफलतम होटलमध्येमा गनिन्छ । 'धैर्य तथा केही नयाँ सोचको प्रतिफल हो यो,' पौडेल भन्छन् ।

उनलाई जीवनमा कहिल्यै किताबी कीरो हुन मन लागेन, फलतः पढाइ सदा मध्यमस्तरकै हुन पुग्यो । पुर्ख्यौली पेशा 'लाहुर जाने' भए पनि उनलाई त्यो कर्मले पनि कहिल्यै आकर्षित गरेन । उनले न त कहिल्यै कसैको मातहतमा रहेर काम गरे न त विदेश गई काम गर्ने सोच नै बनाए । उनी एक चित्तले पर्यटन व्यवसायमा लागिरहे । परिणामतः अहिले उनको कम्पनी लोकप्रिय हुन पुगेको छ । कुनै पनि व्यवसाय सञ्चालन गर्नुभन्दा पहिले त्यसका बारेमा अध्ययन र सम्भाव्यता बुझेर अघि बढेमा सफल हुने उनको धारणा छ । 'आत्मबल र लगनशीलता सफलताका सूत्र हुन्,' उनी भन्छन्, 'म यही सूत्रलाई पछ्याउँदै अघि बढिरहेको छु र सफलता पनि पाइरहेको छु ।'

३५ वर्षको उमेरमै उनले निजी व्यवसायमात्र होइन अन्य थुप्रै जिम्मेवारीसमेत पाएका छन् । पश्चिमाञ्चल होटल सङ्घको अध्यक्ष, नेपाल भ्रमण वर्ष२०११ को कार्यकारी समिति सदस्य, गण्डकी विकास बैङ्कको निर्देशक, जिल्ला पौडी सङ्घ कास्कीको अध्यक्ष, माउण्टेन ट्रष्टको उपाध्यक्ष र अन्नपूर्ण प्याराग्लाइडिङको अध्यक्षलगायतका जिम्मेवारी पौडेलले सम्हालेका छन् । बाबु ब्रुनाईका लाहुरे भएकाले उनको आधाजति स्कूले शिक्षा ब्रुनाईमै भयो भने बाँकी नेपालमा पढे । चित्त नबुझेको विषयमा तत्काल प्रतिक्रिया जनाउने उनको स्वभाव छ । विद्यार्थी जीवनमा एथलेटिक्समा बढी चाख भएका उनी हाल एथलेटिक्सको विकासमा कुनै काम गर्न नपाएकोमा दुःख व्यक्त गर्छन् । उनको कलेज र व्यवसाय सँगसँगै शुरू भएको हो । १० कोठा र ५ जना कर्मचारीबाट शुरू भएको उनको होटलमा हाल ५० कोठा र १ सय ४० कर्मचारी छन् । 'पोखरामा केही पैसा भएपछि जोसुकैले लेकसाइडमा होटल खोल्ने चलन छ, जसका कारण यो व्यवसायमा अलि अप्ठेरो पर्न गएको छ,' उनी भन्छन् ।

होटेलका ग्राहक खोज्न काठमाडौं जानुपर्ने भएकाले त्यहीँ पढ्न पनि थालेको उनी बताउँछन् । विस्तारै पर्यटक बढ्न थालेपछि उनले आफ्नो होटलको कोठा थपे । तर, दुर्भाग्य होटलमा कोठा थप्ने काम सकिएलगत्तै नेपालमा दरबार हत्याकाण्ड र अमेरिकामा सेप्टेम्बर ११ को घटना भयो । 'होटलमा आउन तयार भएका पर्यटकले नेपाल भ्रमण नै रद्द गरे र बैङ्कको ब्याजले ठूलो समस्यामा पार्‍यो,' उनले भने, 'म मात्रै होइन पोखराका अधिकांश होटलको लिलामी सूचना निस्क्यो, विद्युत् प्राधिकरणले लाइन काट्यो, टेलिफोन काटियो ।' यसैबेला कतिपयले होटल व्यवसाय नै छोडेर विदेश पलायन भएको उनी बताउँछन् । तर, पर्यटनलाई छाडेर अर्को कुनै वैकल्पिक व्यवसाय नेदेख्ने पौडेल भने कहिल्यै आत्तिएनन् । व्यवसायमा सोचेअनुसारको प्रतिफल पाउन गाह्रो हुने बुझेका उनी समस्यालाई उचित तरीकाले समाधान गर्नतिर लागे ।

उनले १२ वर्ष पोखराका होटल सङ्घसँग सम्बन्धित विभिन्न संस्थामा बसेर काम गरे । यही अनुभवका आधारमा पोखरा र समग्र नेपालकै विकासका लागि पर्यटन व्यवसायको विकल्प नभएको धारणा उनी राख्छन् । विगत केही वर्षदेखि आफ्नो होटल कहिल्यै खाली नभएको बताउने उनी वाराहीमा अहिले पनि ३० प्रतिशत आन्तरिक पर्यटक नै आउने गरेको दाबी गर्छन् । 'आन्तरिक पर्यटकको मर्म बुझेर त्यहीअनुसार प्रचार-प्रसार तथा सेवा दिने गरेका छौं, त्यसैले आन्तरिक पर्यटकहरु नियमित ग्राहकजस्तै बनेका छन्,' उनी भन्छन् । एकपटक आएका नेपाली पाहुना पुनः पोखरा आउँदा आफ्नै होटलमा बस्ने गरेको पनि उनी बताउँछन् ।

कुनै पनि व्यवसाय सफल हुनुमा कर्मचारीको सबैभन्दा महत्वपूर्ण भूमिका रहने उनको विश्वास छ । आफ्नो होटलमा रहेका कर्मचारीले इमानदारीपूर्वक काम गरेकाले नै आफू सफल भएको उनको निष्कर्ष छ । आफ्नो होटलमा काम गर्ने सामान्य कर्मचारीले पनि तलब र सेवा शुल्क गरी मासिक १५ हजार रुपैयाँभन्दा बढी पाउने उनले बताए । व्यावसायिक सफलताका पछाडि पारिवारिक सहयोग र कार्यगत दक्षता पनि प्रमुख रहने उनको ठम्याइ छ ।

प्रायशः जिन्स पाइण्ट तथा टी-सर्ट लाउन रुचाउने उनी पहिरनमा भन्दा काममा ध्यान दिनुपर्ने बताउँछन् । भारत, बेलायत, थाइल्याण्ड, चीन, हङकङ, सिङ्गापुर, मलेसिया, बु्रनाईलगायतका मुलुक देखिसकेका पौडेल वर्तमान राजनीतिक अवस्थाबारे नकारात्मक धारणा राख्दैनन् । भन्छन्, 'एकैपटक केही पनि परिवर्तन हुँदैन, ताल हल्लिँदा निस्कने छाल रोकिन पनि केही समय लाग्छ भने राजनीतिक परिवर्तनपछिको अवस्था स्थिर हुन केही समय त लागिहाल्छ नि,' उनी भन्छन् । शारीरिक सन्तुलन र सुन्दरताका लागि चाँडै जिम जाने सोच बनाएका छन् उनले । 'समाजका लागि दिगो र सकारात्मक काम गर्नुपर्छ' भन्ने विचार बोकेका पौडेलले कमजोर आर्थिक अवस्था भएका बच्चाहरूको पढाइका लागि केही सहयोगसमेत प्रदान गर्दै आएका छन् ।