शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''सहायता विकासका लागि'' - विजय पाण्डया
विजय पाण्डयाप्रमुख कार्यकारी अधिकृत
ग्रीन इन्भेष्ट लिमिटेड

नेपाल संसारको अद्वितीय मुलुक लाग्छ उनलाई । भौगोलिक विविधता र प्राकृतिक सौन्दर्यले मात्र होइन, सबैलाई भ्रातृत्वको भावनाले व्यवहार गर्ने नेपालीको अनुपम संस्कारले पनि । नेपाल र नेपालीको मुक्तकण्ठले प्रशंसा गर्छन् उनी । बेलायतमा १४ वर्ष बिताएका उनलाई यहाँको वातावरण घरको जस्तो र आफ्नै दाजुभाइको जस्तो नेपालीको स्नेहले आकर्षित गरेको हो । विकसित मुलुकमा भन्दा विकासोन्मुख राष्ट्रमा काम गर्दा उनलाई आनन्द आउँछ- आफ्नै बन्धुबान्धवको सेवा गरेजस्तै । 'इन्भेष्टमेण्ट बैङ्किङ' का साथै व्यापारिक सल्लाह एवम् सेवा प्रदान गर्ने उद्देश्यले झण्डै ६ महीनाअघि स्थापना भएको ग्रीन इन्भेष्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय पाण्डया नेपालको आर्थिक समृद्धि कृषि र सेवामूलक क्षेत्रको विकासबाट सहज सम्भव हुने बताउँछन् ।

निम्बस, गोल्छा, वर्ल्ड लिङ्क, आईसीटीसी, स्मार्ट च्वाइस टेक्नोलोजिज्लगायत नेपालका प्रसिद्ध औद्योगिक घरानाले संयुक्त रूपमा ३५ करोड रुपैयाँ लगानी गरेर स्थापना गरेको ग्रीन इन्भेष्ट लिमिटेडलाई मुलुकको एक नम्बर वित्तीय सेवाप्रदायक कम्पनी बनाउन पाण्डया लागिपरेका छन् । हाल ग्रीन इन्भेष्टमेण्टले 'प्रोजेक्ट फाइनान्सिङ, मर्जर एण्ड एक्युजिशन, कर्पोरेट रिष्ट्रक्चरिङ'जस्ता सेवा प्रदान गर्दै आएको बताउँछन् उनी । पर्याप्त विदेशी लगानी भित्र्याउने उनको लक्ष्य छ । भारत र अन्य मुलुकबाट त्यस्तो लगानी आकर्षित गर्न उनी रणनीति तयार गरिरेहका छन् । सामूहिक लगानीको कोष स्थापनालाई पनि उनको कम्पनीले प्राथमिकताको सूचीमा समावेश गरेको छ । आगामी वर्षभित्र सर्वसाधारणलाई शेयर जारी गरेर कम्पनीको चुक्तापूँजी ५० करोड पुर्‍याउने योजनामा काम गरिरहेको उनी बताउँछन् ।

नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय वाणिज्य बैङ्कलाई निजीकरण गर्नुपर्नेमा पाण्डयाको जोड छ । निजीक्षेत्रका बैङ्कले हासिल गरेको प्रगति ती बैङ्कको हकमा पनि लागू गर्नुपर्ने उनलाई लाग्छ । कृषिप्रधान मुलुक भएकाले कृषि विकास बैङ्क सधैं सरकारको नियन्त्रणमा हुनुपर्ने उनको धारणा छ । नेपाललाई स्वीट्जल्याण्ड भन्न रुचाउने उनी त्यहाँको भन्दा सुरम्य वातावरण यहाँ रहेकाले पर्यटनको प्रशस्त प्रचारप्रसार अपरिहार्य ठान्छन् । जलस्रोत र कृषिक्षेत्रको लगानीले मनग्गे प्रतिफल दिने भएकाले नीति निर्माणको तहमा बसेकाहरूले त्यसनिम्ति संवेदनशील हुनुपर्ने उनको सुझाव छ । बाली विविधीकरण, पुष्पखेती र जैविक उत्पादन बढाउन सुझाउने उनी नेपालका जैविक उत्पादनको बजार र भविष्य उज्ज्वल देख्छन् । 'पेट्रोल उत्खनन गर्न नसके पनि युरिया मल नेपालमा नै बनाउन सकिन्छ,' आयातमुखी अर्थतन्त्रले नेपालको भुक्तानी सन्तुलन असन्तुलित हुँदै गएको वास्तविकता औंल्याउँदै उनी भन्छन् । यूरोप र अमेरिकाका बजारको तुलनामा नेपालमा पाइने जैविक सामग्रीको मूल्य अत्यन्त नगण्य रहेको उनको अनुभव छ । जैविक उत्पादनको मूल्य २ हजार प्रतिशतले बढाए पनि उपभोक्ताले किन्नेमा उनी विश्वस्त छन् । निजीक्षेत्रसँगको साझेदारीमा सरकारले काम गरेमा नेपाललाई पनि सिङ्गापुर वा मोरिसस बनाउन सकिने लाग्छ उनलाई । त्यसको पूवशर्त हो- उद्योगधन्दाको प्रवर्द्धन र उद्यमशीलताको विकास ।

बम्बई  विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका पाण्डया परिश्रमलाई नै व्यवस्थापन मन्त्र मान्छन् । मातहतका कर्मचारीलाई काम गर्ने उपयुक्त वातावरण बनाइदिने र त्यसको अनुगमन गर्ने उनको बानी छ । अनुभवको साटासाट तथा तालीमबाट पनि कर्मचारीलाई उत्प्रेरित गर्छन् उनी । स्रोत र साधनको दुरुपयोग गर्ने  मानिस उनलाई पटक्कै मन पर्दैन । ५४ वर्षीय उनी हिन्दूधर्म मान्छन् । दुइ सन्तानका पिता उनीलाई ईश्वरले बलि माग्छन् भन्ने मान्यतासँग असहमत छन् । भारतका भूतपूर्व राष्ट्रपति अब्दुल कलामलाई प्रेरणाको पुञ्ज मान्ने उनलाई कामभन्दा ठूलो केही लाग्दैन । नेपालीको मेहनत गर्ने बानीबाट अत्रि्रभावित उनी सुन फल्ने मुलुकका युवा विदेशिएकामा सहानुभूति प्रकट गर्छन् । भिक्षा माग्नेलाई पैसा होइन, काम दिनुपर्ने उनको मान्यता छ । नेपालको आर्थिक विकासमा सघाउन पाउँदा उनी आफूलाई भाग्यमानी ठान्छन् । र , ईश्वरले त्यो अवसर दिएकोमा अदृश्य त्यो शक्तिप्रति कृतज्ञता व्यक्त गर्छन् ।

Admin 2011-02-08