''सफलता साहसको'' - प्रकाश श्रेष्ठ
पूर्वअध्यक्ष, लुम्बिनी बैङ्क लिमिटेड
पूर्वअध्यक्ष, होटल एशोसिएशन नेपाल
सङ्कटग्रस्त अवस्थामा पुगेको बैङ्कलाई उनको दिनरातको मिहिनेत र सहयोगीहरूको साथले असफल हुनबाट जोगाएको हो । चुनौतीको डटेर सामान गर्ने
अद्वितीय साहस भएका उनलाई त्यस्तो प्रतिकूल परिस्थितिमा अध्यक्षको गहन जिम्मेवारी बहन गर्नु फलामको च्यूरा चपाउनुभन्दा कम थिएन । बन्दप्रायः अवस्थामा पुगेको बैङ्कलाई उठाउने उनको अठोटले सोहनदेव पन्त र श्रवण मास्केजस्ता व्यावसायिक व्यक्तिहरूसँगको साथ र सहकार्यले अन्ततः मूर्तरूप लिएरै छाड्यो । रत्तिभर अभिमान देखिँदैन उनको अनुहारमा सफलताका सूत्र सुनाउँदा । विनयपूर्वक प्रकाश श्रेष्ठ भन्छन्- व्यावसायिक व्यवस्थापन समूह र नेपाल राष्ट्र बैङ्कको सहायताले लुम्बिनी बैङ्कको परिस्थिति परिवर्तन भएको हो । ६ वर्षलामो उनको परिश्रमको परिणाम सहकर्मी र शुभेच्छुकमाझ साटासाट गर्न आज राजधानीमा सानो तर स्मरणीय कार्यक्रम आयोजना गरिँदैछ- 'सक्सेसफुल टर्न अराउण्ड' ।
'बार्ह वर्षमा खोलो पनि फर्कन्छ' भन्ने उखान प्रकाशले नेतृत्व गरेको लुम्बिनी बैङ्क लिमिटेडका लागि ठयाक्कै चरितार्थ भएको छ । संयोग नै मान्नुपर्छ, लुम्बिनी बैङ्क स्थापना भएको १२ वर्ष ६ महीना भएछ । समान विचार भएका साथीभाइको अनुरोधलाई टार्न नसकेर बैङ्कमा ठूलो रकम लगानी गरेका हुन्, पर्यटनमा प्रसिद्धि प्राप्त गरेका प्रकाशले । मुलुकका प्रतिभा एवम् प्रभावशाली पर्यटन व्यवसायीका रूपमा चिनिएका उनलाई अनुशासन र इमानदारीका साथ काम गरेमा सफलता हासिल गर्न कठिनाइ हुँदैन भन्ने लाग्छ । आपसी सहयोग प्रवर्द्धन र समूहगत कार्यपद्धति उनको व्यवस्थापन मन्त्र हो । मातहतका कर्मचारीलाई आत्मविश्वास बढाउन उनी प्रेरणा दिइरहन्छन् । मचान वाइल्डलाइफ रिसोर्ट, मचान प्याराडाइज भ्यू, होटल एलिफेण्ट क्याम्प, चितवन जङ्गल लज, ग्रीनलाइन टूर्स, हिलिङ ह्यान्ड्स स्पा एण्ड वेलनेश एशोसिएशन, एभरेष्ट हाउसलगायत संस्थाका सञ्चालक श्रेष्ठले नेतृत्व गरेका संस्थामा ७ सय कर्मचारी कार्यरत छन् ।
मुलुकका कहलिएका पर्यटन व्यवसायी एवम् होटल सङ्घ नेपालका पूर्वअध्यक्ष नरेन्द्र वज्राचार्य प्रकाशलाई अन्त्यन्त व्यावहारिक व्यक्ति मान्छन् । सबैलाई मिलाएर लैजाने उनको गुण र मित्रवत् व्यवहारको वज्राचार्य प्रशंसा गर्छन् ।
आधा शताब्दी उमेरका प्रकाश नियमित व्यायाम, सन्तुलित आहार र सकारात्मक सोचका कारण स्वस्थ मात्र होइन, भर्खर तीन दशक पार गरेको युवकजस्ता देखिन्छन् । काठमाडौंमा जन्मे पनि तनहुँको बन्दीपुरमा हुर्केका उनले प्राथमिक शिक्षा त्यहीँबाट हासिल गरेका हुन् । अङ्ग्रेजी साहित्य र राजनीतिशास्त्रमा स्नातक उनलाई लेखपढ गर्न आमा राजकुमारीले घचघच्याएकी हुन्, विद्वान् दाजुहरूको दाँजोमा दरियोस् भनेर । प्रख्यात चिकित्सक मथुरा श्रेष्ठ, कानूनव्यवसायी कुसुम श्रेष्ठ र इञ्जिनीयर अर्जुन श्रेष्ठका कान्छाभाइ प्रकाश पिता हरिकुमार श्रेष्ठको प्रेरणाबाट पर्यटन व्यवसायमा लागेका हुन् । ठूला बाबुका छोरा द्वारिकाको रेखदेख र सहयोगमा उनले झण्डै १० लाख रुपैयाँको लगानीमा आठ कोठाको होटल एलिफेण्ट क्याम्प सञ्चालन गरेका हुन् । आफ्नै परिश्रममा विश्वास गर्ने उनले दश नङ्ग्रा खियाउन छाडेका छैनन् । चितवनमा पाँचतारे रिसोर्ट निर्माण गर्ने उनको लक्ष्य छ । त्यो लक्ष्य भेदन गर्न उनले आवश्यक तयारीका साथ काम पनि गरिरहेका छन् । पर्यटकलाई भौतिक एवम् मानसिक सन्तुष्टि प्रदान गरेर मुलुकको पर्यटन प्रवर्द्धन गर्नु त्यो रिसोर्टको उद्देश्य हो ।
होटल व्यवसायीहरूको छाता सङ्गठन होटल सङ्घ नेपाल (हान)को अध्यक्ष भइसकेका उनी नेपाल पर्यटन वर्षकार्यक्रम कार्यान्वयन समितिका सदस्य पनि हुन् । पर्यटन वर्षको प्रचारप्रसारलाई भन्दा पूर्वाधार र 'प्रडक्ट' विकासलाई अधिक जोड दिन्छन् उनी । 'घरमा विवाह भए घर पनि सिँगारिने, दाजुभाइ पनि जुट्ने' नेपाल पर्यटन वर्षको औचित्य सटिक ढङ्गले प्रस्तुत गर्छन् प्रकाश । बन्दहडतालजस्ता आर्थिक विकासका तगारा तेर्सिन नदिने राजनीतिक दलहरूको प्रतिबद्धताका लागि पनि पर्यटन वर्षो अपरिहार्यता रहेको उनको मत छ । राजनीतिक स्थायित्व भएमा ६ वर्षमा देशको द्रुत आर्थिक उन्नयन हुने उनको दाबी छ । लुम्बिनी बैङ्कलाई आजको अवस्थामा ल्याउन प्राप्त सफलतालाई उनी जीवनको महत्त्वपूर्ण उपलब्धि मान्छन् ।
कविता लेखन, डिजाइन, आन्तरिक सजावट, फोटोग्राफी र पाककलाका शौखिन प्रकाशलाई समयअनुसार शोख पनि बदलिन्छन् भन्ने लाग्छ । दुइ छोरी र एक छोराका जनक उनलाई युवावर्गको बढ्दो विदेश पलायनले पिरोलेको छ । व्यापार नभएका बेला संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहको प्रसङ्ग अप्रासङ्गिक हुने उनको निचोड छ । देशको समग्र अर्थतन्त्रलाई इङ्गित गर्दै उनी यस्तो विश्लेषण सुनाउँछन् । विद्यमान संस्थागत संस्कार र शासन परिष्कृत भइनसकेको उनको बुझाइ छ ।