शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

लघुबीमाका पक्षमा
विजय शाह
प्रमुख कार्यकारी अधिकृत
एनएलजी इन्स्योरेन्स कम्पनी


उनी सञ्चारमाध्यममा अत्यन्त कम आउने प्रमुख कार्यकारीमध्ये हुन् । प्रचारभन्दा कामलाई अधिक महत्त्व दिने भएकाले उनलाई विनासन्दर्भ बोलिरहन मन लाग्दैन सञ्चारकर्मीहरूसँग । ग्रामीण बीमाको प्रवर्द्धनबाट नै बीमा उद्योगको विकास हुन्छ भन्ने लाग्छ उनलाई । वित्तीय सेवाभित्र बीमाको प्रमुख भूमिका देखेका उनी औद्योगिक वा अन्य लगानीको जोखिम कम गर्ने बीमाको बजार विस्तारित भएको बताउँछन् । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय शाह लघुबीमाको क्षेत्रलाई कम आँकलन गर्न नहुने तर्क गर्छन् । बीमा गर्नु खर्च होइन, भविष्यको लगानी हो भन्ने तथ्य आम नेपालीले बुझ्नुपर्नेमा जोड दिन्छन् उनी । ग्रामीण क्षेत्रमा बीमासम्बन्धी चेतना बढाउनुपर्ने टड्कारो आवश्यकता देखेका छन् उनले- बीमा क्षेत्रको विस्तार र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका निम्ति ।

आधा शताब्दीअघि बर्दियामा मध्यमवर्गीय किसान परिवारमा जन्मेका शाहले त्यहीँबाट प्रवेशिका पास गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा उच्च शिक्षा हासिल गरेका उनले भारतको चेन्नाईबाट सीए गरेका हुन् । उनले एनएलजीको नेतृत्व सम्हालेको ३ वर्षभयो । तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोष, गोर्खा ब्रुअरी र सूर्य टोबाको कम्पनीमा आफ्नो व्यवस्थापकीय शीप र क्षमता देखाएका उनी बीमा क्षेत्रमा पनि नयाँ केही गर्न सकिन्छ भनेर लागेका हुन् । रू. १० करोड चुक्ता पूँजी भएको एनएलजी कुल कारोबारको दृष्टिले मुलुकको दोस्रो ठूलो इन्स्योरेन्स कम्पनी हो । २ वर्षअघि चौधौं स्थानमा रहेको एनएलजी उनकै नेतृत्वमा यो स्थानमा पुगेको हो । तर, यसको श्रेय उनी कम्पनीका सबैलाई दिन्छन् । एकता नै बल हो भन्ने मान्यतालाई अनुशरण गर्ने उनी आपसी सहकार्य र सहायकदेखि प्रमुख कार्यकारीको सामूहिक प्रयासबाट वर्तमान अवस्थामा पुगेको स्वीकार गर्छन् । देशका २३ स्थानबाट सेवा दिइरहेको एनएलजीमा १ सय ४५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यसका ३ हजार जना सक्रिय 'एजेण्ट' छन् ।

सामूहिक एवम् सहभागितामूलक कार्यप्रणालीमा विश्वास गर्छन् शाह । तल्लो तहका कर्मचारीलाई पनि अधिकार र जिम्मेवारी दिएर कार्यसम्पादन गर्ने उनको बानी छ । प्राप्त जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न मातहतका कर्मचारीलाई झकझक्याइरहन्छन् उनी । कसैलाई काखापाखा नगर्ने र समान रूपमा अवसर दिन भरमग्दूर प्रयास गर्दै आएका छन् । उनीहरूलाई कामको वातावरण र निर्णयअधिकार दिने अनि पारदर्शिता कायम गर्ने कार्यलाई अनुशरण गर्न हौस्याउने उनको कार्यशैलीको समकक्षीहरू मुक्तकण्ठले प्रशंसा गर्छन् । काम चोर र समयको सदुपयोग नगर्ने मान्छेसँग व्यवहार गर्न उनलाई पटक्कै मन लाग्दैन । पूर्ण एकाग्रताविना गरिएको काम सफल नहुने उनको मान्यता छ । सफलताका निम्ति कामप्रतिको इमानदारी र लगाव पनि उत्तिकै अपरिहार्य लाग्छ उनलाई ।

नेपालको मानव संसाधन, पानी र पर्यटनको भरपुर उपयोगबाट आर्थिक क्रान्ति सम्भव हुने शाहको ठम्याइ छ । कृषिको विविधीकरण, वन पैदावार र जडीबुटी प्रशोधन तथा त्यसको निर्यातले पनि आर्थिक विकासमा टेवा पुग्छ भन्छन् उनी । सामूहिक प्रयासबाट समाज बनाउन सकिने धारणा छ उनको । समाज सुधार वा आर्थिक विकासका काम यसले वा त्यसले गर्नुपर्छ भन्ने मान्यताको विरोध गर्छन् उनी । हरेक नागरिकले आफ्नो कर्तव्य सम्झेर राष्ट्रोन्नतितिर लाग्नुपर्ने उनको अभिमत छ । यातायात, सडक र विद्युत्जस्ता आवश्यक पूर्वाधारको विस्तारबाट सन्तुलित विकास गर्न सकिनेमा उनी विश्वस्त छन् ।

ईश्वरको उपासनाभन्दा काममा विश्वास गर्छन् शाह । तर, उनी नास्तिक  भने होइनन् । समय पाउँदा मन्दिर जाने उनलाई त्यसो गर्दा आनन्दानुभूति हुन्छ । संस्थागत एवम् व्यावसायिक संस्कृतिका पैरवीकर्ता नै हुन् उनी । देशमा संस्थागत संस्कृति र संस्कारले क्रमश: गति लिएको उनको विश्लेषण छ । आफ्नो मान्छे होइन, योग्य मान्छेलाई अवसर दिनुपर्ने उनको मत छ । संस्थागत उत्तरदायित्वबाट पनि  विमुख रहँदैनन् उनी । गाउँका बालबालिकालाई शिक्षाको चहकिलो ज्योतिबाट उजिल्याउन स्थानीय क्लबसँग मिलेर पुस्तक बाँड्ने र उनीहरूमा पढ्ने बानी बसाउन वाचनालयको निर्माणमा उनले मनग्गे सघाएका छन् । समाजसेवाको उनको यो कार्य भने आफ्नै थातथलो बर्दियातिर केन्द्रित छ । यद्यपि उनी मुलुकका अन्य भागको विकासमा  पनि सकेको सहयोग गरिरहन्छन् ।

Admin 2011-07-10