''चुनौतीको सामना'' - गोविन्दप्रसाद ढकाल
प्रमुख कार्यकारी अधिकृत
गरिमा विकास बैङ्क
'मन लागेको काम गर्नु र त्यसलाई फत्ते गर्ने सिलसिलामा आइपर्ने जस्तोसुकै बाधा अड्चनको डटेर सामना गर्ने मान्छे नै जीवनमा सफल हुन सक्छ' पर्यटकीय नगरी पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल भन्छन् । आफूखुशी काम गर्ने बानीका कारण उनलाई डाक्टर बनाउने पिताको चाहना अधुरै रह्यो । डटेर काम गर्ने उनको शैलीबाट प्रभावित भएर बैङ्क व्यवस्थापनले उनलाई प्रबन्धकमा नियुक्त गरेको ४ महीनामा नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको हो । म्यानेजरका रूपमा नियुक्ति पाएको व्यक्तिले प्रमुख कार्यकारी अधिकृतको गहन जिम्मेवारी सम्हाल्नु कम चुनौतीपूर्ण थिएन उनका लागि । तर, उपल्लो तहको कार्य सम्पादनका निम्ति उनी रत्तीभर विचलित भएनन् । 'जुनसुकै कार्य पूर्ण लगन र मेहनतका साथ गर्छु, त्यसैले असफल भइनँ' सफलता सूत्र सुनाउँछन् उनी । उनको विचारमा जीवन संघर्ष हो । हरेक व्यक्तिले त्यसलाई आजीवन निरन्तरता दिनुपर्छ ।
गरिमामा सहभागितामूलक व्यवस्थापन प्रणाली अँगालेका छन् ढकालले । झण्डै १ सय जना कर्मचारी उनको मातहतमा काम गर्छन् । जोसँग पनि घुलमिल हुने र शीघ्र साथीभाइ बनाउन खप्पिस उनी कर्मचारीसँग मित्रवत् व्यवहार गर्छन् । कर्मचारीलाई स्वामित्वबोधसहितको निर्णयअधिकार दिने उनको बानी छ । सबै काम सकारात्मक सोचका साथ गर्न उनीहरूलाई सधंै प्रेरणा दिइरहन्छन् उनी । समूहगत काममा विश्वास गर्ने उनी कर्मचारीबाट प्राप्त सहयोगबाट नै बैङ्क अहिलेको अवस्थामा पुगेको सर्विनय स्वीकार्छन् । बेइमान र नकारात्मक सोच भएको मान्छेसँग काम गर्न उनलाई पटक्कै मन लाग्दैन । त्यस्तो चरित्र भएकाहरूबाट उनी १० हात पर बस्छन् ।
स्याङ्जाको फापरथुङमा जन्मेका ढकालको स्कुलेजीवन गाउँको सरकारी स्कूलमै बित्यो । मातापिताका चौथो सन्तान उनलाई संयुक्त परिवारमा बस्दा रमाइलो लाग्छ । कामका कारण अहिले उनी परिवारबाट बाहिर छन् । फुसद हुनेबित्तिकै पुगिहाल्छन् फापरथुङ । विद्यालयमा सधैं अब्बल विद्यार्थीमा दरिन्थे उनी । उनले कुनै पनि परीक्षामा द्वितीय स्थान देख्नु परेन । गणित उनको विशेष रुचिको विषय हो । पृथ्वीनारायण क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर उनलाई पारिवारिक एवम् वैयक्तिक जीवनबारेको प्रचार तर्कसङ्गत लाग्दैन । गरिमाको गरिमा बढाउँदै मुलुकको आर्थिक विकासमा सकेको योगदान गर्नु उनको प्रमुख लक्ष्य हो । क्षेत्रीयस्तरको उक्त बैङ्कलाई निक्षेप सङ्कलनका आधारमा देशको 'नम्बर वान' विकास बैङ्क बनाउने उनको चाहना छ ।
'राष्ट्र रहे हामी रहन्छौं, राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने संस्कारको विकास गरौं' राष्ट्रियताको भावनाले ओतप्रोत हुँदै ढकाल भन्छन्, 'कमाएको रकम देशभित्रै लगानी गर्नुपर्छ ।' रोजगारीका बढी अवसर सृजना गरेर खस्कँदो अर्थतन्त्र उठाउन, उजिल्याउन र उन्नयन उन्मुख गराउन सकिने सुझाव सुझाउन पछि पर्दैनन् । पर्यटन र पानीलाई विकासका वाहक मान्छन् उनी । राजनीतिक स्थायित्व र औद्योगिक सुरक्षाको प्रत्याभूति भए मनग्गे लगानी गर्न सकिने र विदेशी पनि यता आकर्षित हुने उनको ठम्याइ छ । देश बनाउने इमानदार प्रयास राजनीतिक नेतृत्वमा नभएकोमा खिन्न उनी सम्बद्ध सबैमा सद्बुद्धिको कामना गर्नुको विकल्प आफूसँग नभएको बताउँछन् ।
देशको विकासबाट नै व्यक्तिको विकास हुन्छ भन्ने ढकाल सबै नेपालीको उन्नतिमा जोड दिन्छन् । शोषितपीडित तथा शारीरिक रूपमा अशक्तलाई उनी हरसम्भव सहयोग गर्छन् । कहिलेकाहीँ मनको शान्तिका निम्ति मन्दिर जान्छन् । घरपरिवारको आग्रह अस्वीकार गर्न उनलाई मन लाग्दैन । त्यसैले उनी मन नलागे पनि देवालय पुग्छन् । धर्ममा भन्दा अरूको सेवा र सहयोगमा अधिक विश्वास गर्ने उनलाई असहायहरूको सहायता गर्दा असीम आनन्द प्राप्त हुन्छ । जनावरको बलि दिने कुप्रथाको अन्त्यका लागि सबै जागरुक हुन उनको अनुरोध छ ।
Admin 2011-05-09