नमूना जिल्लाको सपना
रामेश्वर मानन्धर
अध्यक्ष, दोलखा उद्योग वाणिज्य सङ्घ
राजनीतिक परिवारका भए पनि उनी त्यसबाट धेरै टाढा छन् । दोलखामा उनी कुशल समाजसेवी तथा व्यवसायीका रूपमा चिनिन्छन् । उनी आफ्नै कामले समाजमा स्थापित भएका छन् । व्यापार व्यवसायसँगै सामूहिक हितको कार्यलाई स्वार्थरहित भावनाले अघि बढाउनुपर्नेमा जोड दिन्छन् दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामेश्वर मानन्धर । समाज सेवामा लागेका मान्छेले राजनीति गरेको उनलाई पटक्कै मन पर्दैनन् । मुलुकको आर्थिक उत्थानका लागि पर्यटन प्रवर्द्धन र कृषिक्षेत्रको विकास अपरिहार्य भएको उनको ठम्याइ छ । त्यसका लागि पूर्वाधार विकास नगरेसम्म लक्ष्यसम्म पुग्न नसकिने उल्लेख गर्छन् उनी । राजनीतिक स्थिरता र नेतृत्वतहको दृढ इच्छाशक्ति भएमा असम्भव केही नभएको लाग्छ उनलाई । देशको समृद्धिलाई आफ्नो उन्नति ठान्ने कुशल व्यवस्थापक एवम् राजनेताको अभाव भएसम्म देश प्रगतिको पथमा लम्कन जटिल हुने उनको बुझाइ छ ।
विसं २०२४ मा जन्मेका मानन्धरले जीवनमा कैयौं आरोहअवरोहको झेलेका छन् । जीवन भोगाइका क्रममा आइपरेका चुनौती र संघर्षका ती दिन सम्झँदा भावुक हुन्छन् उनी । कलिलो उमेरमा पितृवात्सल्यबाट विमुख उनले किशोरावस्थामा खेपेको भुक्तमान र असहज अवस्थालाई बिर्सेका छैनन् । बाबुको देहावसानपछि आमाले दिएको ५ सय रुपैयाँबाट उद्यम थालेका हुन्- फोटो स्टुडियोमा लगानी गरेर उनले । भिनाजु जितेन्द्र श्रेष्ठको प्रेरणा एवम् सहयोगमा थालिएको स्टुडियो कालान्तरमा सदरमुकाम चरीकोटको चर्चित फोटो स्टुडियो बन्न पुग्यो । भिनाजुसँगको साझेदारीमा थालिएको त्यो व्यवसायको द्रुततरमा प्रगति भएपछि 'गरिखाऊ' भनेर भिनाजुले उनलाई हस्तान्तरण गरेका हुन्-हंस फोटो स्टुडियो ।
४० हजारको पूँजीबाट थालिएको उनको स्टुडियोले प्रशस्त आम्दानी गरिरहेको थियो । त्यसलाई बेचेर उनी चरीकोटमा नै ५ लाखको लगानीमा सङ्गम कोल्ड स्टोर सञ्चालन गरेर प्रगतितिर उन्मुख भएका हुन् । कोल्ड स्टोरसँगै साझेदारीमा केही समय सङ्गम भिडियो सेण्टर पनि चलाए उनले ।
कोल्ड स्टोर र भिडियो सेण्टर चलाउँदाचलाउँदै उनलाई निर्माण व्यवसायतर्फ आर्कषण बढयो । करीब ३५ लाखमा कोल्ड स्टोर बेचेर उनले ठेक्कापट्टामा हात हाले । त्यसबाट नै उनको भाग्योदय भएको उमानन्धर बताउँछन् । उनले पहिलो ठेक्काका रूपमा २०४४ सालतिर कारागार व्यवस्था विभागको रासन आपूर्ति गरेका थिए । १ लाख रकमको सो ठेक्का फर्म दर्ता नै नगरी पाएका थिए उनले । उनले २०५० सालमा मात्र घ श्रेणीको आर एण्ड मेलोडी कण्ट्रक्शन एण्ड सप्लार्यस नामक कम्पनी दर्ता गरेका हुन् । त्यही फर्ममा तनमनले अहोरात्र खटेपछि पछाडि फर्केर उनले कहिल्यै हेर्नु परेन ।
हाल उनले एकल तथा साझेदारी गरी ८० भन्दा बढी ठूला ठेक्काका काम गरिसकेका छन् । उनले २०५४ सालमा दोलखा जिल्ला निर्माण व्यवसायी सङ्घ तदर्थ समितिको अध्यक्ष भई संस्थाको संस्थागत विकास र कार्यालय व्यवस्थापनमा समेत महत्त्वपूर्ण योगदान पुर्याए । व्यवसायी जङ्गबहादुर बस्नेतको संस्था खोल्ने प्रेरणालाई आत्मसात् गर्दै विकास निर्माणको काममा होमिएका हुन् मानन्धर । उनले समाजसेवाको कामलाई पनि अघि बढाएर चरीकोटमा मात्र होइन, समग्र दोलखामा नाम, दाम र प्रतिष्ठा कमाएका छन् ।
मानन्धरले नेतृत्व गरेको संस्थामा अहिले १ सय जनाले रोजगारी पाएका छन् । उनी आफूलाई भन्दा उद्योग-व्यवसाय, कर्मचारी र उद्यमीलाई माया गर्छन् । दोलखा जिल्लालाई आर्थिक रूपले समृद्ध बनाउन 'एक गाउँ एक उत्पादन' कार्यक्रम सक्रियतापूर्वक सञ्चालन गरेका छन् उनले । यस कार्यक्रमको संयोजकसमेत रहेका रामेश्वर गाउँगाउँमा लोक्ताखेती गर्न आफै गाउँगाउँ गएर कृषकलाई प्रोत्साहन दिने गर्छन् । उनले स्थापना गरेको संस्था 'क' वर्गमा पुगेको छ ।
उनी व्यक्तिलाई भन्दा संस्थालाई अधिक मान्यता दिन्छन् । सामाजिक एवम् शैक्षिक विकासका कार्यक्रममा सकेको सहयोग गरिरहन्छन् उनी । जहाँ चुनौती हुन्छ त्यहाँ अवसर पनि त्यत्तिकै हुन्छ भन्ने उनी दोलखालाई नमूना जिल्लाका रूपमा विकास गर्न लागिपरेका छन् । भन्छन्, जिल्लाका सरोकारवालाहरूले साथ दिएमा त्यो लक्ष्य टाढा छैन ।
Admin 2011-03-10