शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

विकासस्तम्भ कृषि
गणेशप्रसाद लाठ
प्रबन्ध निर्देशक
मनीष फूड प्रडक्ट्स    
उनले धेरै दु:खकष्ट भोगेका छन् । त्यसैले अर्काको दु:ख देख्न सक्दैनन् उनी । स्वजनहरूबाट पाएको पीडाले उनलाई क्षमाशील र सहिष्णु बनाएको छ । शालीन र सौम्य मनीष फुड प्रडक्टस्का प्रबन्ध निर्देशक गणेशप्रसाद लाठको बोली र व्यवहारले जोकोहीलाई उनीप्रति आकर्षकित गर्छ । आर्थिक रूपमा आफन्तबाट ठगिएका लाठले व्यवसायको शुरुआत शून्यबाट गरेका हुन् । २५ वर्षअघि स्थापना भएको आशिष राइस मिल अहिले वीरगञ्जको अग्रणी चामल उद्योगमा गनिन्छ । गणेश ट्रेडिङ र मनीष फुड प्रडक्टस् पनि सँगै सञ्चालन गरेका छन् उनले । खलासी हुँदै गाडी चलाउन सिकेको चालकका रूपमा उनी आफूलाई तुलना गर्छन् । तर, उनले चलाएको व्यवसायरूपी गाडी आजसम्म दुर्घटनामा परेको छैन ।

वीरगञ्जमा नै जन्मेहुर्केका ४७ वर्षीय लाठले त्यहीँबाट वाणिज्यशास्त्रमा स्नातक गरेका हुन् । व्यवसाय बढाउन तथा त्यसलाई व्यवस्थित गर्न पनि औपचारिक ज्ञानको आवश्यकता पर्ने उनको बुझाइ छ । अन्तरमुखी स्वभावका लाठ कुरा कम काम धेरै गर्छन् । र, मुलुकको विकासका निम्ति त्यो अपरिहार्य भएको बताउँछन् । आफै दृष्टान्त बनेर कार्य सम्पादन गर्ने उनको बानी छ । कर्मचारीहरूलाई पनि समर्पित भएर काममा लाग्न अभिप्रेरित गरिरहन्छन् उनी । उनले सञ्चालन गरेका उद्योगमा झण्डै १ सय कर्मचारी काम गर्छन् । सबैसँग समान व्यवहार गर्ने लोठ उनीहरूका गुनासा सुन्छन् । उनी विकेन्द्रीकृत कार्यपद्धतिका पक्षधर हुन् । सहभागितामूलक कार्य प्रणाली अँगालेका छन् उनले ।

स्पष्ट दृष्टिकोणसहितको कार्ययोजना र त्यसलाई व्यवहारमा अनुवाद गर्ने दृढ इच्छाशक्ति तथा आत्मविश्वासबाट व्यवसाय र व्यवसायी दुवै सफल हुने लाठको ठम्याइ छ । उनीसँग सहकार्य गर्नेहरू उनलाई आफ्ना भनाइ स्पष्ट शब्दमा प्रस्तुत गर्ने र समूहगत रूपमा पनि प्रभावकारी ढङ्गले काम गर्न सक्ने प्रतिभावान् उद्यमी मान्छन् । पितालाई आदर्श व्यक्ति मान्छन् उनी । उनले नै इमानदारीको बाटोमा हिँड्न सिकाएको उल्लेख गर्दै उनी त्यसैलाई आफ्नो सबैभन्दा ठूलो पूँजी मान्छन् । उनको मिलबाट उत्पादित सामग्री देशका पाँचओटै विकास क्षेत्रमा विक्री हुन्छन् । देशको राजनीतिक अवस्थामा सुधार आए आर्थिक क्षेत्रले फड्को मार्न बेर नलाग्ने उनको बुझाइ छ । जनता जागेपछि परिवर्तनलाई कसैले रोक्न नसक्ने उल्लेख गर्ने उनी सबै दोष नेताहरूमा मात्र थोपर्न नहुने विचार व्यक्त गर्छन् ।

कृषिक्षेत्रको विकासका लागि व्यापक सुधार गर्नुपर्नेमा लाठको जोड छ । वैज्ञानिक कृषिप्रणाली, उन्नत बीउबिजन र मलखादको अनुपलब्धताजस्ता सरकारी बेवास्ताका कारण उत्पादन वृद्धि नभएको उनको विश्लेषण छ । किसानको जीवनस्तरमा सुधार नआएसम्म कृषिक्षेत्रको विकास भएको मान्न नसकिने उनलाई लाग्छ । सरकारी नीति तथा योजनाले कृषिजगत्लाई प्राथमिकतामा नराखेकाले पनि यो क्षेत्र उपेक्षित भएको उनको गुनासो छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुँदा कृषि बजारको योजनायुक्त पर्सा भिजन अघि सारेका हुन्  उनले । रू. २० करोडको लागतमा निर्माण हुने यो बजारको संयोजक पनि उनै हुन् । प्रक्रियागत ढिलासुस्तीका कारण बजारको निर्माण द्रुत गतिमा गर्न नसकेकोमा उनी खिन्न छन् ।

आफूले गरेका कामको चर्चा गर्न चाहँदैनन् लाठ । अरूले आफ्नो मूल्याङ्कन गर्नुपर्छ भन्छन् उनी । धर्मकर्ममा अगाध आस्था छ उनको । आफ्नो बुबाले स्थापना गरेको राधादेवी वृजलाल लाठ ट्रष्टमा उनी प्रत्येक वर्षसंस्थागत पारिवारिक र व्यक्तिगत रूपमा सक्दो सहयोग गर्छन् । २ छोरी र १ छोराका पिता लाठ फुसदको समय परिवारसँग बिताउँछन् ।  पेशासँग सम्बन्धित पुस्तक पढिरहन्छन् उनी । विदेश जाँदा साथीभाइलाई किताब उपहार ल्याइदिने उनको अचम्मको बानी छ । गीतसङ्गीतमा पनि उनको उत्तिकै रुचि छ । कराँटेका खेलाडी पनि हुन् उनी । व्यवसायका कारण त्यसलाई निरन्तरता दिन सकेका छैनन् उनले ।