शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''विश्वास विज्ञानमा मन देशभक्तिमा'' - प्रत्युश आचार्य
सञ्चालक, भूमि फुड प्रोडक्ट्स

विगतमा व्यापार-व्यवसाय नगरेको परिवारबाट कोही एक जना व्यवसाय गर्छु भनेर निस्कन्छ भने उसका शुरुआती दिन पक्कै पनि संघर्षपूर्ण हुन्छ । पुलचोक ललितपुरका रैथाने प्रत्युश आचार्यले यही यथार्थ भोगे । यसकारण पनि उनले आफ्नो व्यवसायलाई स्थापित बनाउन निकै उतारचढाव र कठिनाइ बेहोर्नुपर्‍यो । सरकारी जागिरे पिता र जागिरलाई नै महइभ्व दिने पारिवारिक वातावरणमा हुर्केका उनलाई परिवार तथा आफन्तले पनि अमेरिका जान कर गरेका थिए । तर, उनले मानेनन् । 'म आफ्नै देशमा व्यवसाय गरेर कमाएको पैसा खर्च गर्नमात्र अमेरिका जान्छु,' त्यसबेला उनले जवाफ दिएका थिए । थोरै लगानीमा सानातिना व्यवसाय गरेर उनले ठूलो अनुभव बटुलेका छन् । त्यही अनुभवलाई प्रयोग गरेर उनले १४ वर्षअघि 'भूमि फुड प्रोडक्ट्स' स्थापना गरे । हाल उनको उद्योगबाट एक दर्जन प्रकारका पासाः दालमोठको उत्पादन हुँदै आएको छ ।

'केही व्यक्ति धनी हुँदैमा देश समृद्ध बन्दैन, देश धनी हुन र्सवप्रथम आमजनताको जीवनस्तर उठ्नु जरुरी छ,' आचार्यको यो मान्यता हो । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका उनी सानैदेखि आफ्नै व्यवसाय गर्ने इच्छा राख्थे । व्यवस्थापन विषयमा स्नातकोत्तर गरे पनि व्यवसाय गर्न आवश्यक व्यावहारिक ज्ञान उनलाई थिएन । 'मैले अँध्यारोमा छामछुम गरेजसरी नै व्यवसायमा हामफालेको हुँ,' उनी भन्छन्, 'शुरूमा निकै समय अध्ययन-अनुसन्धान गरें कस्तोखालको काम गर्ने भनेर ।' व्यवसाय गर्दै जाँदा अनुभव पनि बढ्दै  गएको र त्यसबाट दृष्टिकोण पनि स्पष्ट फराकिलो बन्दै गएको उनी बताउँछन् ।

आफ्नो पुख्र्यौली जमिनमा उद्योग सञ्चालन गरिरहेका प्रत्युशले अहिले ४० जनालाई रोजगारी दिएका छन् । हाल भूमि फुड्सका दालमोठको बजार फैलिएर दोलखा, जिरी, त्रिशूली, धादिङ, चौतारा, ललितपुर र काठमाडौंमा निकै राम्रो व्यापार हुने गरेको उनी बताउँछन् । विगतको अप्ठेरो समयमा केही वर्ष उद्योगलाई नाफामा लान नसकेपछि उनले झण्डै तीन वर्ष उत्पादन बन्द गरे । त्यसपछि 'इण्टरेष्टेड ग्रुप'को अवधारणा विकास गरे र उपभोक्ताहरूको सल्लाह-सुझाव तथा रुचिको नमूना सङ्कलन गरे ।

त्यसकै आधारमा नयाँ तरीकाको विकास गर्दै फेरि उद्योगलाई सञ्चालनमा ल्याए । हल्दीरामलगायतका भारतीय उत्पादनहरूको  तुलनामा नेपाली उत्पादन निकै पछाडि रहेको उनी स्वीकार्छन् । 'भारतीय उत्पादनले प्रयोग गर्ने प्याकिङ प्रविधि स्तरीय हुने हुँदा लामो समय टिक्छ, हामीकहाँ त्यो प्रविधि छैन,' उनी भन्छन्, 'तर गुणस्तरमा भारतीयभन्दा नेपाली उत्पादन कमजोर छ भन्ने मलाई लाग्दैन ।' अब चाँडै नै आफ्नो उद्योगमा प्याकिङका लागि नयाँ प्रविधि भियभयाउने योजना रहेको उनले बताए ।

सरकारको अनुपयुक्त कर नीतिका कारण उद्योगको हुनुपर्ने जति विकास नभएको उनको गुनासो छ । 'भ्याट नलाग्ने कच्चा पदार्थ किनेर भ्याटसहितको उत्पादन गर्न सकिँदैन, यसले वस्तुको मूल्य बढाउँछ,' उनी भन्छन् । घरेलु उद्यमीहरूको हकमा १३ प्रतिशत भ्याटको नीतिलाई सच्याएर ४ प्रतिशतमा लगिदिने हो भने हालको तुलनामा धेरै गुणा बढी कर सङ्कलन हुने उनको धारणा छ । तर, सरकारले यसलाई बुझ्न नसकेको उनको आरोप छ । 'राज्य जबरजस्ती हामी व्यवसायीलाई गलत बाटो हिँड्न बाध्य बनाइरहेको छ,' उनी  भन्छन्, 'अवैधानिक बाटो हिँडेर कति नाफा कमाउन सकिन्छ र ?' राज्यले घरेलु होस् या औद्योगिक व्यवसाय सबैका लागि सही र समयानुकूल नीति ल्याइदिनुपर्ने उनको भनाइ छ । अधिकांश व्यापारी करका विषयमा अनभिज्ञ छन्, भ्याट तिरेर कारोबार गर्नुभन्दा  यापार नै छोड्न तयार हुनेहरूको सङ्ख्या धेरै रहेको उनको बुझाइ छ । यस्ता भ्रम हटाउन र राजस्व बढी उठाउन पनि राज्यले व्यवसायीहरूलाई करसम्बन्धी तालिम दिनु जरुरी रहेको उनको धारणा छ ।

व्यवसायीहरूलाई राज्यप्रति इमानदार र उत्तरदायी बनाउन राज्य स्वयम्ले प्रेरित गर्नु आवश्यक रहेको उनको ठहर छ । 'गुणस्तर तथा नापतौल विभागले छापा मार्ने, धम्की दिने मात्र नगरेर के गर्दा उत्पादन गुणस्तरीय बनाउन सकिन्छ, थप दक्षताको विकास कसरी गर्न सकिन्छ भन्नेतिर पनि ध्यान दिनु पर्छ,' उनी भन्छन् । अव्यावहारिक सरकारी नीतिका कारण चाहेर पनि आफ्नो व्यवसायलाई ठूलो आकार दिन नसकेको उनी बताउँछन् । समाज उद्यमीप्रति सकारात्मक र सहयोगी नहुनु र व्यापारी भनेका कालाबजारी मात्र हुन् भन्ने सोच फैलिएकोमा उनको चित्त दुखाइ छ । यसमा सबैलाई एउटै आँखाले नहेर्न उनी आग्रह गर्छन् ।
 
उद्योग सफल हुनुमा आफ्ना कर्मचारीहरूको मेहनतलाई बढी स्थान दिन्छन् उनी । उद्योगको दशौं वार्षिकोत्सवमा उनले 'भूमि अर्गनाइजेशन' को आवधारणा अगाडि ल्याएका छन् । साथै सन् २०५० सम्मको भिजन र १० वर्षो मिसनको घोषणा पनि गरेका छन् । जसमा 'संस्थालाई देशको उत्कृष्ट १० उद्योगमध्ये एक बनाउने उद्देश्य रहेको छ । यसका अतिरिक्त सामाजिक उत्तरदायित्वलाई पनि उनले उत्तिकै महइभ्व दिएका छन् । स्थानीयवासीको सुविधाका लागि एम्बुलेन्स सहयोग गर्ने, सूचनाप्रविधिको क्षेत्रमा लगानी विस्तार गर्ने उनको योजना छ । आफ्ना उत्पादनमध्ये रू. १० मूल्यको प्रत्येक प्याकेटबाट २५ पैसाका दरले जम्मा हुन आएको रकम मस्तिष्क पक्षघात भएका बालबालिकाको हितमा लगाउँदै आएका छन् । सो कोषमा गतवर्षजम्मा भएको ४२ हजार रुपैयाँ केही दिनमै प्रदान गर्ने उनी बताउँछन् ।

पैदल यात्रामा रुचि भएका आचार्य परिवारका साथ पौडी जान मन पराउँछन् । स्कूले जीवनमा भलिबल र फुटबल राम्रैसँग खेल्थे उनी । मोबाइल र कारखानाको साँचो साथमा राख्न कहिल्यै नभुल्ने उनी नेपाली हुनुमा गर्व गर्छन् । पहिरनमा शर्ट पाइण्ट मन पराउने आचार्य
विज्ञानमा विश्वास गर्छन् ।