शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''व्यापार गीतसङ्गीतको'' -  सन्तोष शर्मा
प्रबन्ध निर्देशक, म्युजिक नेपाल

साहित्यसङ्गीतकलाविहीन
साक्षात् पशु पुच्छविषाणहीन ।

अर्थात् साहित्य, सङ्गीत र कलाप्रति रुचि नहुने मानिस सिङ र पुच्छर नभएको पशुसमान हुन्छ भन्ने भतृहरि नीति उनले राम्ररी मनन गरेका छन् । आफू मात्र होइन, अरूलाई पनि गीतसङ्गीतका पारखी बनाउन र सङ्गीतका साधकलाई प्रस्फुटित हुन अवसर दिएर उनले मुलुकलाई ठूलो गुन लगाएका छन्- म्युजिक नेपाल सञ्चालन गरेर । सूचनाप्रविधिका साधन र उपकरणको अधिकतम उपयोग गर्दै अतिकम लागतमा धेरै स्रष्टाका कालजयी गीतसङ्गीत 'मेमोरी कार्ड'मा उपलब्ध गराउँदै छन् उनले केही दिनमा नै सङ्गीतका पारखीलाई । झण्डै २ सयओटा कम्पनीले उत्पादन गरेका कर्णप्रिय र सदावहार गीतलाई म्युजिक नेपालको 'मेमोरी कार्ड'मा सुन्न सकिनेछ । विगत २७ वर्षदेखि म्युजिक नेपाललाई प्रबन्ध निर्देशकका रूपमा नेतृत्व गरिरहेका सन्तोष शर्मालाई व्यावसायिक संस्कारको विकास नभएसम्म कुनै पनि व्यक्ति वा व्यवसायको प्रगति नहुने लाग्छ । व्यावसायिक संस्कारको विकास समाज र परिस्थितिमा निर्भर हुने विचार व्यक्त गर्छन् उनी । 'अरूलाई व्यावसायिक होऊ भन्नुभन्दा आफै दृष्टान्त बनेर देखाउनुपर्छ' अङ्ग्रेजी भाषाको भनाइ 'च्यारेटी विगिन्स एट होम'को सहारा लिँदै उनी भन्छन् । समयअनुसार नचल्नेलाई व्यावसायिक भन्न नरुचाउने शर्मा अनुत्पादक काममा समय बर्बाद गर्नेलाई  स्वाँठ ठान्छन् । 'अर्कालाई प्रतीक्षा गराइरहने वा नेपाली समय त हो भनेर जुनसुकै काममा एकाध घण्टा ढिलो गर्ने बानी नगएसम्म व्यावसायिक संस्कारको कुरा गर्नु निर्रथक हुन्छ उनका लागि ।

व्यावसायिक संस्कार र संस्कृतिका विषयमा बहस गर्दा एउटै व्यक्ति प्रबन्धक, महाप्रबन्धक, कार्यकारी अधिकृत, कम्पनीको मालिकलगायत विभिन्न पदमा आसीन हुने र परिणाम शून्य हुने अवस्था मुलुकमा अद्यापि विद्यमान रहेको शर्माको अनुभव छ । 'कार्यपद्धतिको विकास सबै कम्पनीले गर्नुपर्छ' भन्ने उनी सबै काम प्रक्रियागतरूपमा हुनुपर्नेमा जोड दिन्छन् । शाखाअधिकृतबाट नै सम्पन्न हुने काम सहसचिव वा सचिवसम्म पुर्‍याइरहनु हुँदैन भन्ने उनी कार्य संस्कार र संरचना स्थापित भएमा कुनै पनि कार्यालयको व्यवस्थापनमा कठिनाइ नहुने उल्लेख गर्छन् । आफै नियम बनाउने र आफै त्यसको उल्लङ्घन गर्ने कार्यकारी प्रमुखहरू 'रोल मोडेल' बन्न नसक्ने धारणा व्यक्त गर्दै उनी आफ्नो कम्पनीलाई पूर्णरूपमा व्यावसायिक बनाउन लागि परेका छन् ।

व्यापार-व्यवसायमा मात्र होइन, हरेक पेशाका व्यक्तिलाई आकर्ष पोशाक आवश्यक हुन्छ भन्ने उनी पोशाकले पनि  व्यवसाय प्रवर्द्धनमा सहयोग गर्ने  बताउँछन् । बजार व्यवस्थापन तथा आफ्ना उत्पादनलाई बेच्न चाहने हरेकले पोशाकमा सधैँ सचेत हुनु जरुरी भएको उनको सुझाव छ । शुट र टाइले हरेक मान्छेको व्यक्तित्वमा निखार ल्याउने उनलाई लाग्छ । कसैको विश्वास जित्न पनि पोशाकको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्छन् उनी । कूटनीतिक समुदायले आयोजना गरेका भोजमा भने उनी शुटमा सजिने गर्छन् । पार्टीको प्रकृति र निम्ता गर्नेले कार्डमा भनेअनुसारका कपडा लगाउने उनको बानी छ । 'सादा जीवन उच्च विचार'का अनुयायी उनी यो भनाइ व्यवहारमा अनुवाद गर्न प्रयासरत छन् । यद्यपि त्यो कार्यान्वयन गर्न धेरैलाई कठिन हुने उनको बुझाइ छ  । उनी भन्छन्- भन्न जति सहज छ गर्न अत्यन्त जटिल । खास अवसरमा पहिरन आवश्यक पर्छ भन्ने उनी विनम्रपूर्ण प्रस्तुतिले मानिसका आधा काम सहज रूपमा सम्पन्न हुनेमा विश्वस्त छन् । नम्र भएर प्रस्तुत हुँदा क्रोधित मानिस पनि मैनझैँ पग्लिने उनको बुझाइ छ । शिष्ट, सभ्य र सुसंस्कारयुक्त व्यक्ति जीवनमा कदापि असफल नहुने ठान्छन् उनी ।  

सामाजिक जमघट एवम् पार्टीमा विरलै जाने शर्माको मदिरामा मात्तिने बानी छैन । उनी त्यसबाट धेरै टाढा बस्छन् । 'भोजभतेर आयोजकको भावनाको कदर गर्नुपर्छ' भन्ने उनी कार्यक्रमको प्रकृति हेरेर १५ मिनेटदेखि पार्टीको पूरा समय पनि त्यहीँ व्यतीत गर्न पछि पर्दैनन् । भोजलाई बढी संवादमुखी बनाउनुपर्ने र अरूको रमाइलोलाई बिथोल्न नहुने उनको मत छ ।  उभिएर भोजन गर्नेभन्दा बस्ने व्यवस्था भएको पार्टी उनलाई उपयुक्त लाग्छ । बस्ने व्यवस्था नभएको पार्टी बढी इण्टर्‍याक्टिभ हुने उनी बताउँछन् । 'म कसैको जुठो खान्न' कुनै पार्टी अत्यन्त अन्तरङ्गात्मक हुने र एउटै प्लेटबाट खाना खानुपर्दाको असहज अवस्थाको अनुभव पनि सँगालेका छन् उनले । परिश्रम र इमानदारी व्यक्तिको गहना भएकाले त्यो व्यवसायमा पनि लागू गर्नुपर्नेमा शर्माको जोड छ । 'चरित्रहीन हुँदा व्यवसाय र समाजमा टिक्न सकिँदैन र कसैलाई झूटो आश्वासन दिनुहुँदैन' चरित्रवान् व्यक्ति सबैतिर पूजनीय हुने तर्क गर्दै उनी भन्छन् । आफ्नो कार आफै हाँक्ने शर्माले नचाहँदा नचाहँदै कैयौंपटक लेनक्रस गरेका छन् भने चाहेर पनि जेब्रा क्रसिङमा रोकिन पाएका छैनन् । 'हाम्रा सडकहरूमा लेन क्रस नगरी सुखै छैन' सडक तथा सवारी नियम पालना गर्न नसक्ने वास्तविकतातर्फ ध्यानाकर्षण गराउँदै उनी भन्छन् । पहिले परिवार अनि व्यवसाय भन्ने उनी ती दुइलाई पर्याप्त समय दिएपछि सामाजिक सेवामा लाग्नुपर्ने बताउँछन् । रोटरीको माध्यमबाट उनले समाजसेवा पनि मनग्गे गरेका छन् ।

Admin 2011-02-09