'यु टयुब’देखि 'फर्मुला वान’सम्म
च्याड हर्ले
पूर्व सह-संस्थापक यु ट्युब
'यु टयुब' हाल विश्वमा सबैभन्दा धेरै प्रयोग गरिने भिडियो शेयरिङ वेबसाइट हो । विश्वभर करोडौं प्रयोगकर्ताले यसमा अर्बौं भिडियो 'अपलोड' र 'डाउनलोड' गर्ने गर्दछन् । सन् २०१० मेमा गरिएको एक अध्ययनले 'यु टयुब'बाट दैनिक २ अर्ब भिडियो 'अपलोड' र 'डाउनलोड' गरिएको देखाएको थियो । सन् २०११ को दोस्रो त्रैमासिक अवधिमा यसको आम्दानी २ अर्ब अमेरिकी डलर भएको बताइएको थियो । विश्वको सर्वाधिक लोकप्रिय यो भिडियो शेयरिङ नेटवर्कका सह-संस्थापक हुन् ३४ वर्षीय अमेरिकी युवा, च्याड मेरिडिथ हर्ले ।
हर्लेको जन्म अमेरिकाको पेन्सिलभेनिया राज्यको बर्डस्बोरो शहरमा सन् १९७७, जनवरी १ तारीखमा भएको थियो । सानैदेखि तीक्ष्ण बुद्धिका उनी विद्यालयमा कला, कम्प्युटर र इलेक्ट्रोनिक्स मिडियाप्रति लगाव राख्ने गर्दथे । प्राविधिक विद्यार्थीहरूको सङ्गठन टेक्नोलाजी स्टुडेण्ट एशोसिएशनमा च्याड सदस्य पनि रहेका थिए । माध्यमिक विद्यालयमा पढ्दा च्याड निकै राम्रा खेलाडी पनि थिए । उनी विद्यालयका उत्कृष्ट धावक मानिन्थे । च्याडले सन् १९९५ मा उक्त विद्यालयबाट आफ्नो विद्यालयीय शिक्षा पूरा गरे । विद्यालयको पढाइ पूरा गरेपछि उनी इण्डियाना युनिभसिटी अफ पेन्सिलभेनियामा कला र डिजाइनिङमा स्नातक अध्ययन गर्न थाले । अध्ययनताका उनले आफूले बनाएका कला बेचेर पैसा जम्मा गर्ने गर्दथे । त्यसैगरी उनी पिरामिड मार्केटिङमा पनि कार्यरत रहे । उनले सन् १९९९ मा स्नातकको पढाइ पूरा गरे । त्यसपछि उनले क्यालिफोर्नियामा भर्खरै खुलेको अनलाइन मनी ट्रान्सफर र ई-कमर्श कम्पनी 'पेपाल'मा जागीरका लागि आवेदन गरे । आफ्नो व्यक्तिगत विवरण पठाइसकेपछि उनलाई अन्तरवार्ताका लागि बोलाइयो । क्यालिफोर्नियाको सान होसेस्थित 'पेपाल' कार्यालयमा भएको अन्तरवार्ताको क्रममा च्याडलाई एक लोगो बनाउन भनियो । ललितकलामा पोख्त उनले 'पेपाल'को लोगो बनाएर कम्पनीका अधिकारीहरूलाई प्रभावित तुल्याए । 'पेपाल'का अधिकारीहरूले उनको कामको व्यापक प्रशंसा गर्दै तत्काल कम्पनीमा नियुक्त गरे । उनले बनाएको कम्पनीको लोगो नै हालसम्म कायम रहेको छ । 'पेपाल'मा कार्यरत रहँदा उनको परिचय कम्प्युटर इञ्जिनीयरहरू स्टीभ चेन र जावेद करिमसँग भयो । उनीहरूसँगको गहिरो सम्बन्धले उनलाई इण्टरनेट कारोबारबारे राम्रो जानकारी प्राप्त भयो । सन् २००२ मा ई-कमर्श कम्पनी 'ई-बे'ले १ दशमलव ५४ अर्ब डलरमा 'पेपाल' खरीद गर्यो । 'इ-बे'ले खरीद गरेपछि च्याड र उनका साथीलाई प्राप्त बोनसले उनीहरूलाई आफ्नै 'ई' व्यवसाय शुरू गर्ने योजनालाई अघि बढाउन ढोका खोलिदियो । च्याडको योजनालाई मूर्तरूप दिन 'पेपाल'का भूतपूर्व 'चिफ फाइनान्सियल अफिसर' रोएलोफ बोथाले पनि सहयोग गरे ।
सन् २००५ को शुरुआततिर स्टीभ चेनको निवासमा भएको एक पार्टीका क्रममा भिडियो शेयरिङका बारेमा कुरा उठयो । त्यस समयमा इण्टरनेटबाट भिडियो शेयरिङ अत्यन्त कठिन थियो । च्याड र स्टीभ यो अप्ठयारोलाई सजिलो बनाउने योजना बनाउन थाले । केही अध्ययन र खोजबिनपछि उनीहरू एक वेबसाइट निर्माण गरेर भिडियो शेयरिङको काम सहजतापूर्वक गर्न सकिने निष्कर्षमा पुगे । यसै क्रममा नोभेम्बरमा 'यु-टयुब'को स्थापना गरियो र च्याड कार्यकारी प्रमुख नियुक्त भए । यसको कार्यालय भने क्यालिफोर्नियाको सान मेइटोस्थित एक जापानी रेष्टुराँ रहेको भवनको माथिल्लो तल्लामा स्थापना भयो । 'यु-टयुब'को डोमेन रजिष्ट्रेशन भने सन् २००५ को फ्रेब्रुअरीमै च्याड हार्लेले गरिसकेका थिए । वेबसाइट आरम्भ भएपछि यसका प्रयोगकर्ताको सङ्ख्यामा व्यापक वृद्धि भयो । सन् २००६ जुलाईमा यो साइटमा दैनिक ६५ हजार भिडियो 'अपलोड' र 'डाउनलोड' भइरहेको जानकारी दिएको थियो । सन् २००६ अक्टोबरमा गूगल इन्कले 'यु(टयुब' १ दशमलव ६५ अर्ब डलरमा खरीद गर्यो । उक्त विक्रीबाट आएको रकममध्ये च्याडले ३४ करोड ५६ लाख डलर हात पारे । साथै, गूगलले उनलाई कम्पनीको ४१ हजारओटा शेयर पनि छुट्टै दिएको थियो । गूगलले 'यु-टयुब' खरीद गरिसकेपछि पनि च्याड कार्यकारी प्रमुखका रूपमा सन् २०१० सम्म रहेका थिए । सन् २०१० अक्टोबरमामा भने उनले उक्त पदबाट राजीनामा दिँदै सल्लाहकारका रूपमा मात्र रहने बताए ।'यु-टयुब' छाडेपछि उनी कार रेसिङ खेल 'फर्मुला वान'मा प्रविष्ट भए । च्याड अमेरिकाको प्रमुख टीम 'टीम यूएस एफवान' का प्रमुख लगानीकर्ताका रूपमा देखिए । तर, सन् २०१० मार्चमा उक्त टीम आर्थिक कारणले विघटन गरियो । उक्त टीमको विघटनपछि च्याड हार्ले अर्को रेसिङ टीम बनाउन अग्रसर भएका छन् । सन् २००७ मा सिलिकन भ्यालीका उद्यमी जेम्स क्लार्ककी छोरी क्याथी क्लार्कसँग बिहे गरेका च्याडका एक छोरा र एक छोरी छन् ।
Admin 2011-08-13