शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सूत्रबद्ध बैङ्क व्यवस्थापक
यमनाथ न्यौपाने
प्रमुख कार्यकारी अधिकृत
कन्काई विकास बैङ्क दमक, झापा


धेरै पैसा कमाउन विदेशिने लहर चलिरहेका बेला यमनाथ न्यौपाने भने विदेशमा बसेर बढी पैसा कमाउनुभन्दा स्वदेशमै केही गरेर देखाउनेमा पर्छन् । केही समयअघि कतारको एउटा कम्पनीमा पाएको वित्तीय सल्लाहकारको जिम्मेवारीभन्दा स्वदेशको सेवालाई महत्त्वपूर्ण ठाने उनले । केही समयअगाडि सेवामा रहँदा झापाको दमकस्थित आम्दा अस्पतालमा चिनेका केही अगुवाहरूले खोलेको बैङ्कमा व्यवस्थापनको नेतृत्व लिइदिन कतारमै प्रस्ताव आएपछि यमनाथ त्यसलाई स्वीकार गर्दै स्वदेश फर्किए । र, स्थापनाको दोस्रो वर्षदेखि कन्काई विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी उनले सम्हालेका हुन् । नेतृत्व गरेको २ वर्षै उनले बैङ्कलाई राम्रो प्रतिफल कमाउन सक्ने बनाएका छन् ।

यमनाथले एनसीसी बैङ्कमा सिनियर अफिसरको पदबाट बैङ्किङ करियर शुरू गरेका हुन् ।  तर, केही समयमै कतारको एक प्रसिद्ध कम्पनीमा वित्तीय सल्लाहकारका रूपमा काम गर्न प्रस्ताव आएपछि उनी त्यता हानिए ।  'कतारमा १ वर्षकाम गरेपछि कन्काईको प्रमुख कार्यकारीका लागि प्रस्ताव आयो र म नेपालमै फर्किएँ,' यमनाथ भन्छन् । बिहान ९ देखि साँझ ६ बजेसम्म अनवरत सेवामा क्रियाशील देखिन्छन् उनी । तीनओटा शाखा रहेको बैङ्कमा यमनाथले दुईओटा एक्सटेन्सन काउण्टर थप गरे । रू. २ करोड ८० लाख संस्थापक चुक्ता पूँजी भएको बैङ्कको रू. १ करोड २० लाखको शेयर सर्वसाधारण र कर्मचारीलाई वितरण गरेपछि हाल रू. ४ करोड चुक्ता पूँजी पुगेको उनी बताउँछन् । निकट भविष्यमै १ बराबर १ दशमलव ५ कित्ताका दरले हकप्रद शेयर वितरण गरी १० करोड चुक्ता पूँजी पुर्याउने तयारी उनको छ । त्यसका लागि धितोपत्र बोर्डमा प्रस्ताव पेश गरिसकेको यमनाथ बताउँछन् । बैङ्कले मोरङ, झापा र इलाम जिल्लालाई कार्यक्षेत्र बनाउँदै आएको छ । निकट भविष्यमै इलाम जिल्लामा शाखा विस्तार र एबीबीएससहित आधुनिक बैङ्किङ सुविधा दिने तयारी गरिरहेको बताउँछन् यमनाथ । बैङ्कले ८० प्रतिशतभन्दा बढी उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आएको उनी बताउँछन् । तरलता समस्या नभएको यमनाथको भनाइ छ ।

पाल्पा दर्लमडाँडा गाउँमा किसान परिवारमा ४६ वर्षअघि जन्मिएका उनले गाउँकै विद्यालयमा स्नातकसम्मको अध्ययन गरेका थिए । किसान परिवार भएकाले छोरालाई उच्चशिक्षा कुन विषयमा पढाउने भन्ने अभिभावकलाई थाहा थिएन । 'के विषय पढ्दा के होइन्छ भन्ने थाहा नै थिएन,' उनी विगतमा आफूलाई परेको समस्या खोतल्छन् ।  पाल्पाको त्रिभुवन क्याम्पसमा व्यवस्थापन विषय लिएर अध्ययन शुरू गरेका यमनाथले कक्षा छाडेनन् । एसएलसीमा दोस्रो श्रेणीमा उत्तीर्ण उनी कलेजमा भने उत्कृष्ट भएर निस्किएको बताउँछन् । २०४४ मा स्नातक उत्तीर्ण गरेर उनी काठमाडौँको शङ्करदेव क्याम्पसमा स्नात्तकोत्तरमा भर्ना भए । २०४५ देखि यमनाथले जल तथा मौसम विज्ञान विभागमा लेखापाल पदमा रहेर काम गरे । २०४७ सालमा एमबीए उत्तीर्ण गरेपछि दमकस्थित आम्दा अस्पतालमा सहायक कार्यालय प्रमुखका रूपमा काम गरेको बताउँछन् उनी । त्यहाँ कार्यरत रहँदा बेलायतको लेखासम्बन्धी बोर्ड एसीसीएमा चार्टर्ड एकाउण्टेन्सीको विद्यार्थीका रूपमा भर्ना भएका उनी आम्दाको जागीर छाडेर पढाइतिर लागे । चार्टर्ड एकाउण्टेन्सीको पढाइ पूरा गरेपछि उनी साना शहरी खानेपानी आयोजना कार्यालयमा पनि काम गरेको बताउँछन् ।

मेहनतमा विश्वास गर्ने यमनाथ बैङ्कलाई गति दिन पाँचओटा सूत्र प्रयोग गरिरहेको बताउँछन् । बोर्डदेखि तल्लो तहसम्मको उद्देश्य एउटै हो भन्ने भावनाको विकास गर्न सबैलाई तालमेल मिलाएर अघि बढ्नुपर्ने उनको पहिलो सूत्र हो । दक्ष जनशक्तिको उपयोग र सहभागिताको विकास, ग्राहक र कर्मचारीबीचको सुमधुर सम्बन्ध, सूचनाप्रविधि र ऊर्जाको उचित व्यवस्थापन तथा राष्ट्रिय अर्थनीति एवम् नियमनकारी निकायको नीतिअनुकूल चल्नुपर्ने उनका थप सूत्र हुन् । ऊर्जा अभाव र बैङ्कबाट दक्ष जनशक्ति पलायन प्रमुख समस्या भएको उनी बताउँछन् । बैङ्किङ क्षेत्रमा कडा प्रतिस्पर्धा भएको बताउने उनी नेपाल राष्ट्र बैङ्कले काठमाडौंबाहिरका वित्तीय संस्थाको नियमनमा कडाइ गर्नुपर्ने सुझाव दिन्छन् ।

मेहनत र अनुशासनलाई व्यवस्थापन मन्त्र ठान्छन् उनी । मेहनत नगरी भाग्य आफै बन्दैन भन्ने उनको विश्वास छ । र्'कर्म गरे भाग्यले पनि साथ दिन्छ,' उनी भन्छन् । अध्ययनशील उनी प्रेरणा दिने खालका पुस्तक अध्ययन गर्न रुचाउँछन् । राति १० बजे सुत्ने र बिहान ६ बजे उठ्ने बानी छ उनको । योग मानवजीवनमा अत्यावश्यक रहेको बताउने यमनाथ आफूले त्यसलाई लागू गर्न नसकेकोमा भने पश्चात्ताप गर्छन् ।

Admin 2011-07-11