शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''आफै उदाहरण'' - जगदीशप्रसाद राठी
प्रबन्ध निर्देशक, बागमती समूह

'छिमेकी मुलुक भारतको विहार राज्यले हासिल गरेको आर्थिक विकासबाट हामीले पनि पाठ सिक्नुपर्छ,' चौतर्फी बेथितिले गाँजेको विहारले छोटो समयमा गरेको प्रगतिलाई दृष्टान्त मानेर सरकारी -निजी साझेदारीमा देशलाई आर्थिक रूपले सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै बागमती समूहका प्रबन्ध निर्देशक जगदीशप्रसाद राठी भन्छन् । १९वर्षमा महेन्द्र मोरङ कलेजबाट बीकम सकेपछि उनले बाबुबाजेले थालेको व्यापारको बिँडो सम्हालेका हुन् । परम्परागत गल्ला, किराना र कपडाको कारोबारलाई उनले नै विविधीकरण गरेका हुन्- जुट र जुटजन्य सामग्रीको निर्यात  व्यापार थालेर । वाणिज्य शास्त्रको अध्ययनले व्यापार बढाउन र त्यसलाई बहुरूप दिन सघाएको उनी बताउँछन् । झण्डै ६ वर्षसम्म सहज ढङ्गले सञ्चालन भएको उनको निर्यात व्यापार  २०३२ को महामन्दीबाट नराम्ररी प्रभावित भयो ।  त्यो बेला बेहोर्नुपरेको घाटा कहिल्यै बिसंदैनन् उनी । र, जस्तासुकै चुनौतीको सामान गर्ने प्रेरणा पनि त्यही घाटाले सिकाएको उनी उल्लेख गर्छन् ।  विसं २०३६ सम्म नेशनल ट्रेडिङ लिमिटेडले कायम गरेको आयातको एकाधिकारलाई पनि उनले नै तोडेका हुन्- चीनबाट दैनिक उपयोगका सामग्री खरीद गरेर ।

व्यापारबाट आर्जित ५ लाख रुपैयाँको लगानीमा जगदीशले पहिलो प्लाष्टिक उद्योग स्थापना गरे २०४० मा । परिश्रममा विश्वास गर्ने राठीले भाइहरू सत्यनारायण र नन्दकिशोरको सहयोगमा व्यापार  विस्तार गरे । सत्यनारायणको देहावसन भए पनि उनको योगदान बागमती समूहका सञ्चालक एवम् कर्मचारीले बिर्सेका छैनन् । श्रमिक विवाद र हडतालबाट सधैं टाढा छन्- यस समूहका औद्योगिक प्रतिष्ठान । संस्थागत संरचना र पद्धति विकास गरेका छन् उनले । बागमती पोलिटयाङ्क, बागमती प्लाष्टिक, बागमती मोल्डिङ, बागमती आयल इण्डष्ट्रिज र वर्ल्ड ट्रेड च्यानलमा ३ सय कर्मचारी कार्यरत छन् । कर्मचारीलाई कामप्रति समर्पित बनाउन हरेक वर्ष५ प्रतिशत तलबभत्ता वृद्धि गर्छन् उनी र प्राप्त लाभांशमा पनि उनीहरूलाई सरिक गराउँछन् । समूहका सबै कर्मचारीलाई आफ्नै परिवारका सदस्य मान्छन् र त्यस्तै व्यवहार गर्छन् उनी । परिश्रम नगरी उदर भर्ने र काम नगरी कमाउन चाहनेहरूसँग व्यवहार गर्न उनलाई पटक्कै मन लाग्दैन ।

बागमती समूहका उत्पादन स्वदेशमा मात्र होइन विदेशमा पनि विक्री हुने गरेका छन् । वार्षिक ५० करोड रुपैयाँभन्दा बढीका सामान उत्पादन गर्दै आएको समूहले झण्डै १० करोड मूल्यबराबरका सामग्री भारत निर्यात गर्छ । वर्षकोनि १५ करोडको हाराहारीमा राजस्व बुझाउँदै आएको समूहले अझ उचाइमा पुर्याउने र राज्यकोषमा बढाउने योजनामा छन् जगदीश । तर, राजनीतिक अस्थिरता, लगानी मैत्री वातावरणको अभाव र ऊर्जा सङ्कट उनको लक्ष्यमा तगारो बनेको छ ।

पर्यटन, जलस्रोत र कृषिक्षेत्रको विकासबाट नै देशको आर्थिक विकास हुने जगदीशलाई लाग्छ । सरकार परिवर्तनसँगै हुने नीतिनियमको फेरबदलले आर्थिक गतिविधिमा बाधा पुगेको उनको बुझाइ छ । 'आर्थिक एजेण्डाले स्थान पाएमा १०वर्षमा दुईअङ्कको आर्थिक वृद्धि हासिल गर्न कठिन हुँदैन,' पर्याप्त पूर्वाधारका साथै आर्थिक समृद्धिका मामिलामा राजनीति नगर्ने दलीय सहमति भए विहारको  विकास असम्भव नहुने उल्लेख गर्दै उनी भन्छन् । दृढ इच्छाशक्ति एवम् प्रतिबद्धताका साथ नेतृत्ववर्गले काम गरेमा देश बनाउन सकिनेमा उनी ढुक्क छन् ।

आफू बसेको समाजको उत्थानका लागि सकेको सहयोग गर्नुपर्ने जगदीशको मान्यता छ । ईश्वरमा आस्था छ उनको । आफ्नो आम्दानीको केही प्रतिशत समाजिक एवम् धार्मिक सेवाका निम्ति छुट्टयाएर काम गर्ने उनको बानी छ । उनले विभिन्न स्थानमा मन्दिर र धर्मशाला निर्माण मात्र गराएका छैनन् आँखा शिविर र कृत्रिम खुट्टादान शिविर सञ्चालन गरेर अन्धकारमा रहेकालाई ज्योति अनि '≈विलचेयर' मा बसेकालाई हिँड्ने आत्मबल दिएका छन् । देशमा शनैः शनैः संस्थागत संस्कारको सञ्चार भएको उनलाई लाग्छ । बैङ्क तथा वित्तीय संस्थाले त्यो संस्कृतिलाई सुदृढ बनाउँदै गएको उनी बताउँछन् ।

Admin 2011-04-10