शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''मार्गचित्र भविष्यको'' - शिवान्तबहादुर पाँडे
प्रमुख, आर्थिक अनुसन्धान तथा व्यापार विकास
नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेड

बैङ्क तथा वित्तीय बजारमा चाहेजस्तो जागीरमा लाग्न सक्थे उनी । आफ्नै जनकले नेतृत्व गरेको बैङ्कको उपल्लो तहमा बसेर निर्देशन जारी गरिरहेका हुन्थे । स्कटल्याण्डस्थित सेण्ट एण्ड्रयुज विश्वविद्यालयबाट वित्तीय अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनलाई विदेशीले पनि जागीरको 'अफर' नगरेका होइनन् ।  माटोको मायाले उनलाई नजानिँदो पाराले आकर्षित गर्‍यो । नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडका आर्थिक अनुसन्धान तथा व्यापार विकास प्रमुख शिवान्तबहादुर पाँडेलाई किताबी ज्ञानभन्दा व्यावहारिक अभ्यास अपरिहार्य लाग्छ । मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे टीकाटिप्पणी वा गुनासो गर्नु अर्थहीन ठान्छन् उनी । हरेक व्यवसायीले आशावादी हुनुपर्छ भन्ने उनी राजनीतिक कारणले आर्थिक गतिविधि प्रभावित हुन नहुने विचार व्यक्त गर्छन् । सधैं सकारात्मक सोचका साथ काम गर्ने उनी देशको आर्थिक अवस्था चाँडै सुध्रिनेमा आशावादी छन् । खस्किँदो अर्थतन्त्र उकास्न राजनीतिक नेतृत्व संवेदनशील हुनेमा पूर्ण विश्वस्त छन् उनी । कुनै पनि पक्ष झीनामसिना कुरामा अल्झेर आर्थिक विकासको बाधक बन्न नहुने उनको बुझाइ छ ।

एकबीस ९ वयमा हिँडिरहेका शिवान्त २ महीनापछि प्रणयसूत्रमा बाँधिँदै छन्, आफैले रोजेकी सुकन्यासँग । जलस्रोतको उचित उपयोग, पर्यटन प्रवर्द्धन र कृषिक्षेत्रको विकासबाट नै आर्थिक समृद्धि हासिल हुने उनको बुझाइ छ । आर्थिक उन्नयन नभएसम्म मुलुक वैभवशाली हुन नसक्ने मत व्यक्त गर्ने उनी उपलब्ध प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोगमा जोड दिन्छन् । जडीबुटी, फलफूल र पुष्प व्यवसायका साथै सुर्ती, चियालगायत नगदेबालीलाई अधिक प्राथमिकता दिनुपर्ने उनलाई लाग्छ । परम्परागत कृषि व्यवसायलाई आधुनिकीकरण नगरेसम्म लक्षित उपलब्धि हासिल नहुने उनको ठम्याइ छ । ७० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषिमा आश्रति भएकाले उनीहरूको उत्थान तथा उत्पादकत्व वृद्धिका निम्ति सङ्गठित प्रयास हुनुपर्ने उनको विचार छ । कृषिमा आत्मनिर्भर बन्न त्यसमा आधारित उद्योगलाई टेवा दिनु पनि उत्तिकै अपरिहार्य लाग्छ उनलाई । सबैखाले विकासको पूर्वाधार शिक्षालाई मान्छन् उनी । अशिक्षाको अन्धकारबाट बाहिर निस्केपछि विकासका बाटाहरू क्रमशः खुल्ने उनको अभिमत छ । व्यावसायिक शिक्षा तथा उद्यमशीलताको विकासलाई केन्द्रबिन्दुमा राखेर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा लगानीमैत्री वातावरण बनाउन सरकारले सक्दो सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडमा ९ सय कर्मचारी कार्यरत छन् भने देशभर ४१ शाखा छन् । बैङ्किङ पद्धतिलाई अझ सहज एवम् सरल बनाउन उनी लागिपरेका छन् । ग्रामीणक्षेत्रमा पनि बैङ्क तथा वित्तीय सेवा पुर्‍याउनुपर्ने उनलाई लाग्छ । एसएमएस बैङ्किङलगायत अत्याधुनिक र अन्य बैङ्कभन्दा पृथक् सेवा प्रदान गर्ने लक्ष्यका साथ काम गरिरहेका उनी त्यो अहिले नै सार्वजनिक गर्न अस्वीकार गर्छन् । सबै कुरा अनुभवबाट सिकिने शिवान्तको बुझाइ छ । परिणाममुखी कार्यपद्धतिमा विश्वास गर्ने उनको गुणस्तर कायम राख्ने विषयलाई कुनै पनि हालतमा सम्झौता नगर्ने बानी छ । मातहतका कर्मचारीको आत्मबल बढाउने र उनीहरूलाई हरेक काममा सक्षम बनाएर उत्प्रेरित गर्नुपर्ने उनलाई लाग्छ । कार्ययोजना बनाएर काम गर्छन् उनी । भविष्यको पनि खाका पहिले नै तयार पारेर काम गर्दा सफलता प्राप्त हुने सम्भावना अधिक हुने उनलाई लाग्छ । आफू सफल/असफल भएको अरूले मूल्याङ्कन गर्ने विषय भएकाले टिप्पणी गर्न चाहँदैनन् उनी । तर, आफूलाई सन्तुष्ट उद्यमीका रूपमा प्रस्तुत गर्छन् ।

हजुरबुबा सरदार भीमबहादुर पाँडे र हिमालयशमशेर राणा, पिता तथा नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक पृथ्वीबहादुर पाँडे, माता प्रतिमालाई 'रोलमोडल' मान्छन् शिवान्त । शिक्षकद्वय रामबाबु सुवेदी र रवि पराशरबाट पनि अति प्रभावित भएका छन् उनी- शिक्षा, कर्म, जीवन र जगत्का बारेमा दीक्षित भएर । उदार अर्थव्यवस्था अँगालेको मुलुकको केन्द्रीय बैङ्कले सीईओको पारिश्रमिक निर्धारण गर्नुभन्दा बैङ्क सञ्चालक समितिलाई त्यो काम गर्न छाडिदिनु उपयुक्त हुने उनको तर्क छ । मर्जर पनि समयको माग भएको बताउने उनी बैङ्क तथा वित्तीय संस्था मात्र होइन, दूरसञ्चार सेवाप्रदायक कम्पनी पनि एकआपसमा गाभिनुपर्ने उनको बुझाइ छ । जलविद्युत् उत्पादनका क्षेत्रमा पनि मिलेर जानुपर्नेमा उनको जोड छ । आफू बसेको समाजबाट कमाएको केही रकम त्यही समाजको उत्थानका लागि खर्च गर्नुपर्छ भन्छन् शिवान्त । नेपाल इन्भेष्टमेण्ट बैङ्कले सम्पदा संरक्षणका क्षेत्रमा लगानी गरेर संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको छ ।

Admin 2011-03-11